खोप कूटनीतिमा राष्ट्रपतिको सक्रियता, सी जिन पिङसँग पौने घण्टा टेलिफोन संवाद – Nepal Press

खोप कूटनीतिमा राष्ट्रपतिको सक्रियता, सी जिन पिङसँग पौने घण्टा टेलिफोन संवाद

काठमाडौं । महामारीविरुद्ध सरकारले अन्तर्राष्ट्रिय साथ खोजिरहेको बेला राष्ट्रप्रमुखको समेत देखिने सक्रियता बढेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार एकै दिन दुई छिमेकी मुलुकका समकक्षीसँग खोप उपलब्ध गराउन लिखित र मौखिक आग्रह गरेकी छन् ।

अहिले केहीबेर अघि राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिङपिङबीच करीव पौने एक घण्टा टेलिफोन संवाद भएको छ । कोभिड महामारीको एक वर्षको बीचमा नेपाल र चीनका राष्ट्रपतिबीच यो दोस्रो टेलिफोन संवाद हो ।

दुई राष्ट्र प्रमुखबीच भएको उक्त संवादमा राष्ट्रपति भण्डारीले कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन चिनियाँ राष्ट्रपतिलाई विशेष आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले नेपाल प्रेसलाई जानकारी दिए ।

जवाफमा चिनियाँ राष्ट्रपतिले नेपाल चीनको अभिन्न मित्र रहेको भन्दै नेपाललाई आवश्यक सहयोग गर्न तत्पर रहेको बताएका छन् ।

दुई मुलुकबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै राष्ट्रपति भण्डारीले नेपाललाई खोप उपलब्ध गराउने चिनियाँ तदारुकताको अपेक्षा समेत व्यक्त गरेको बताइएको छ ।

नेपालले झन्डै २ करोड जनसंख्यालाई खोप लगाउनुपर्ने र यसका लागि आवश्यक पहल भैरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले आवश्यक मात्रामा खोप खरिद गरेर लगाउन पनि नेपाल तयार रहेको चिनियाँ राष्ट्रपतिसँगको टेलिफोन संवादमा बताएकी छन् ।

नेपाल भाइरस महामारीको कठिन अवस्थामा रहेको बताउँदै राष्ट्रपति भण्डारीले चीनले उपलब्ध गराउन सक्ने खोपको परिमाणबारे पनि चिनियाँ राष्ट्रपतिसँग जिज्ञासा राखेको बताइन्छ ।

नेपालले चीनले उत्पादन गरेको सिनोफार्म खोपलाई आपतकालिन प्रयोगका लागि मान्यता दिएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले यसअघि उपलब्ध गराएको ८ लाख डोजका लागि चीनलाई धन्यवाद समेत दिइन् ।

टेलिफोन संवादका क्रममा राष्ट्रपतिले चिनियाँ समकक्षी सीको अघिल्लोपटक भएको नेपाल भ्रमणको स्मरण गर्दै महामारी नियन्त्रणमा चीनले हासिल गरेको सफलता अनुकरणीय भएको उल्लेख गरिन् ।

राष्ट्रपति भण्डारीले बुधबारै भारतीय समकक्षी रामनाथ कोविन्दलाई पनि पत्राचार गर्दै खोप आपूर्तीका लागि विशेष पहल गर्न अनुरोध गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर