केउरिनीबाट त्रिशूली पुल हुँदै धादिङको फोस्रेटार जोडिने सडकले पूर्णता पाउने – Nepal Press

केउरिनीबाट त्रिशूली पुल हुँदै धादिङको फोस्रेटार जोडिने सडकले पूर्णता पाउने

धादिङ । जग्गाधनीले स्वीकृति दिएसँगै नुवाकोटको केउरिनीबाट त्रिशूली नदिमाथि बनेको पुल हुँदै धादिङको फोस्रेटार जोडिने सडकले पूर्णता पाउने भएको छ । यसअघि मुख्य अबरोधका रूपमा देखिएको धादिङतर्फको करिब १५ मिटर एप्रोच सडकको ट्रयाक खुल्ने निश्चित भएसँगै पक्कीपुलबाट सडक सञ्जालसँग फोस्रेटार जोडिने निश्चित भएको हो ।

पुलको मुखैमा रहेको घर जग्गाधनी बाशु खतिवडाले बुधवार हटाईदिएपछि सडक जोड्ने समस्याले निकास पाउने भएको हो । त्रिशूली नदीमा पक्कि पुल बने पनि पुलबाट सडक निस्कने एप्रोच सडकको ट्रयाक नहुँदा सडक सञ्जालसँग बस्ती र पुल जोडिन सकेको थिएन ।

पुलको सबैभन्दा अघिल्लो छेउमा रहेको टहरो जग्गाधनी खतिवडाले हटाएसँगै लामो समय देखिको विवाद समाधानतर्फ गएको हो । पसल निर्माणका क्रममा ठेकेदार कम्पनी र सडक विभाग भरतपुरले बाशु खतिवडाको घर जग्गामा हानी नोक्सानी नगर्ने बताएको भए पनि स्थानीयले खतिवडालाई घरखाली गर्न दबाब दिंदै आएका थिए ।

धादिङको गल्छी गाउँपालिका १ फोस्रेटार र नुवाकोटको बेलकोटगढी नगरपालिकाको केउरेनी जोड्ने त्रिशूली नदीमाथिको पुल निर्माण शुरु भएको सात वर्षपछि यसै वर्ष सम्पन्न भइसकको छ । २०७१ सालमा ठेक्का सम्झौता भएर २०७४ सालमा बन्नुपर्ने पुल २०७८ सालमा निर्माण सम्पन्न भए पनि पुलबाट गाउँसम्म मोटर गुड्न पाएको थिएन ।

त्रिशूली नदी माथि १९२ मिटर पुलको निर्माण भएपनि पुलबाट सडक सञ्जाल जोड्ने निकास नहुँदा पुल सञ्चालनमा आउन सकेको थिएन । कूल १५ करोड ११ लाख रुपैयाँमा सपना हिम्डुङ एण्ड थोकर र नागार्जुन कन्सट्रक्सन जेभी कम्पनीले यो पुल निर्माण सम्पन्न गरेका हुन् ।

पुल सञ्चालनमा आएपछि धादिङको गल्छी गाउँपालिकाको फोस्रेटारबाट धादिङबेसी सदरमुकाम आवत जावत गर्न सजिलो हुनेछ । अहिले यहाँका बासिन्दा गल्छी हुँदै फुर्केखोला भएर धादिङबेसी पुग्नु पर्ने बाध्यता रहेको छ ।

पुलको निर्माणले धादिङको सदरमुकाम धादिङबेसीबाट जिल्लाको पुरानो सदरमुकाम सुनौलाबजार हुँदै फोस्रेटार भएर पृथ्वीराजमार्ग गल्छी र नुवाकोटको सदरमुकाम विदुर निस्कन सहज हुनेछ ।

पुलको एक किलोमीटर बाटो ठेकेदार कम्पनीले नै पीच गर्नुपर्ने सम्झौता छ । पुल छेउकै टहरा भएको जग्गाका विषयमा लामो समयदेखि रहेको विवादलाई जग्गाधनी खतिवडाले ले कुनै शर्त नराखी खाली गरिदिएको गल्छी गाउँपालिकाका कानूनी सहजकर्ता एवम् फोस्रेटारका स्थानीयवासी श्रीराम खतिवडाले बताए ।

खतिवडाले आफ्नो टहरो भत्काएर निकास खोलिदिए पनि पुलबाट गाउँ जोड्ने सडक जोडिन भने अझै केही समय लाग्ने छ । धादिङबेसीबाट आएको सडक पुलमा जोडिन अर्को ठाउँमा पनि अवरोध रहेको एक स्थानीयले बताए ।

यो पुलले धादिङ जिल्लाको गल्छी गाउँपालिका र नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका जोडे पनि बढी सुविधा धादिङतर्फको नीलकण्ठ र नुवाकोटतर्फको तारकेश्वर गाउँपालिकाले पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर