कांग्रेसको आरोप- कोरोनाको नाममा सरकारले आतंक सिर्जना गर्दैछ – Nepal Press

कांग्रेसको आरोप- कोरोनाको नाममा सरकारले आतंक सिर्जना गर्दैछ

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले कोरोना संक्रमणका नाममा आतंक सिर्जना गरिरहेको अरोप लगाएको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले कोरोना नियन्त्रण गर्ने भन्दा पनि त्यसकै आडमा राजनीति गर्न खोजेको भन्दै सरकारको गतिविधिप्रति विरोध गरेको छ ।

‘सरकारले कोभिड संक्रमणलाई रोकथाम गर्ने भन्दा पनि त्यसको आडमा राजनीति गर्न खोज्दै छ,’ बैठकबारे सह-महामन्त्री डा. प्रकाशशरण महतले संवाददाताहरुसँग भने, ‘जनतामा एउटा आतंक फैलाउन खोज्दै छ। दुई दिन भित्र किनमेल गर भन्ने लगायत कुराहरु गर्दैछ ।’

आफूहरुले कोरोना नियन्त्रण सम्बन्धी प्रधानमन्त्रीलाई १५ बुँदे ज्ञापन पत्र बुझाएपनि त्यसतर्फ कुनै काम नगरेको अरोप कांग्रेसको छ। उनले भने, ‘सरकारको आशय अहिले पनि अक्सिजनको सुनिश्चितता गर्ने, अस्पताल बेडको सुनिश्चितता गर्ने, दुर्गम गाउँमा पीसीआर परीक्षण गरेर उपचार गर्ने भन्दा पनि संक्रमणको आडमा जनतालाई आतंक फैलाउने र राजनीतिक स्वार्थसिद्धि गर्ने कोसिस जुन सरकारले गरिरहेको छ । त्यसको हामीले भर्त्सना गरेका छौं ।’

कांग्रेसले गाउँ-गाउँमा पुगेर पीसीआर परीक्षण गर्न पनि सरकारसँग माग गरेको छ। ‘फेरि पनि हाम्रो गम्भीर माग सरकारसँग के छ भने जनताको आवश्यकता, जनताको पीरमर्का बुझोस्,’ महतले भने, ‘लकडाउनबाट सानोतिनो व्यवसाय गरेर जीवन चलाउनेहरुको जीवन संकट परेको छ। उनीहरूलाई राहत सुनिश्चितता गर्नुपर्ने ठाउँमा आतंक सिर्जना गरेर जन अधिकारलाई निषेध गर्ने काम गरिरहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर