कर्णाली सरकारकी प्रवक्ता सीता नेपालीले फिर्ता गरिनन् संसद सचिवालयको गाडी – Nepal Press

कर्णाली सरकारकी प्रवक्ता सीता नेपालीले फिर्ता गरिनन् संसद सचिवालयको गाडी

सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्री सीता नेपालीले मन्त्री नियुक्त भइसकेपछि पनि संसदबाट पाएको गाडी फिर्ता गरेकी छैनन् ।

नेकपा माओवादी केन्द्र संसदीय दल कर्णालीको सचेतकको रुपमा उनले प्रयोग गर्दै आइरहेको कर्णाली प्रदेश ०२ झ ००१–००४३ नम्बरको गाडी हालसम्म पनि फिर्ता नगर्दा प्रदेश सभा सचिवालयमा गाडीको अभाव भएको छ । गाडी नहुँदा विभिन्न समितिहरुले भाडामा लिएर गाडी चलाउनुपर्ने अवस्था सिर्जना भएको हो ।

‘उहाँ मन्त्री भइसकेपछि सचिवालयको गाडी फिर्ता गर्नुभएको छैन,’ सचिवालय स्रोत भन्छ, ‘यहाँ गाडी नहुँदा समितिको काममा ढिलाई भइरहेको जान्दा जान्दै उहाँले गाडी आफैंसँग राख्नुभएको छ ।’

मन्त्री भएको एक साता भन्दा बढि समय हुँदा पनि गाडी फिर्ता नगर्नु गलत भएको सचिवालयको भनाई छ ।

केन्द्रमा प्रतिनिधि सभा विघटन भएको केहि समयमा नै सचिवालयमा गाडी फिर्ता गर्ने चलन लागू भए पनि कर्णालीमा भने त्यो कार्यान्वयन भएको छैन । ‘उहाँले राज्यबाट दोहोरो सुविधा लिनु हुँदैन । मन्त्री भइसकेपछि त्यो गाडी फिर्ता गर्नुपर्छ,’ पूर्व सांसद धर्मराज रेग्मी भन्छन्, ‘नियम र कानूनको कार्यान्वयन गर्नैपर्छ । उहाँले मन्त्री भइसकेपछि गाडी सचिवालयलाई दिनुपर्थ्याे ।’

यता, प्रदेश सभा सचिवालय सचिव जीवराज बुढाथोकीले सचिवालयमा गाडी नआएको पुष्टि गरे । यसबारेमा प्रतिक्रिया लिन खोज्दा मन्त्री नेपालीसँग सम्पर्क स्थापित भएन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *