गण्डकीमा कोरोना ग्राफ- संक्रमण उकालो, मृत्युदर ओरालो – Nepal Press

गण्डकीमा कोरोना ग्राफ- संक्रमण उकालो, मृत्युदर ओरालो

पोखरा । गण्डकी प्रदेशभरि पछिल्लो २४ घन्टामा मंगलबार १ हजार ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ३ हजार जनामा गरिएको कोरोना परीक्षणमा आधामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कोरोना पुष्टि भएकामध्ये सबैभन्दा बढी कास्कीका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार मंगलबार मनाङमा भने संक्रमित भेटिएका छैनन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माका अनुसार गण्डकीमा हालसम्म संक्रमितको संख्या ३६ हजार नाघेको छ । जसमध्ये २५ हजारभन्दा बढीले कोरोना जितेर घर फर्किसकेका छन् ।

बढ्दै संक्रमित, घट्दै मृत्युदर

गण्डकी प्रदेशमा ठीक एक हप्ताअघि एकैदिन ६ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता .दैनिकमात्रामा कोरोना संक्रमितको संख्या उकालो लाग्दै गएको छ । निर्देशनालय प्रमुख डा शर्माका अनुसार जेठ ६ गते एकैदिन १३ सय जनामा संक्रमण पुष्टि भयो । उक्त संख्या त्यसअवधिकै सबैभन्दा बढी थियो ।

फेरि। जेठ ९ गतेबाट विस्तारै ओरालो लाग्दै गएको संक्रमणदर मंगलबार पुनः १५ सय नाघेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एकहप्तामा जेठ संक्रमतिको संख्या घटेर ८ गते सबैभन्दा कम ५ सय जना पुगेको थियो ।

संक्रमितको संख्या उकालो लाग्दै गर्दा मृत्युदरको ग्राफमा भने ओरालो लाग्न थालेको छ । एकहप्ता अघि जेठ ५ गते प्रदेशभर एकैदिन ३० जना संक्रमितको मृत्यु भएको थियो । यो संख्या हालसम्मकै उच्च हो । त्यसयता संक्रमितको मृत्यु संख्यामा विस्तारै ओरालो लाग्दै आएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँछ ।

निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माका अनुसार जेठ ६ गते एकैदिन २४ जना संक्रमितको मृत्यु भएको थियो । उक्त संख्या विस्तारै ओरालो लाग्दै मंगलबार १९ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी कास्की र सबैभन्दा कम मनाङमा छन् । मनाङमा एकजना संक्रमितले पनि अहिलेसम्म कोरोनाबाट ज्यान नगुमाएको तथ्यांक छ ।

निको हुने दर पनि उल्लेख्य !

कोरोना संक्रमितको संख्या उकालो लागेसँगै सोही अनुपातमै निको हुनेको संख्यामा पनि वृद्धि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार पछिल्लो एकहप्तामा मात्रै ५ हजार बढी संक्रमितले कोरोना जितिसकेका छन् ।

जेठ ५ गते गण्डकी प्रदेशमा ५ सय ६७ जनाले कोरोना जितेका थिए । जेठ ७ गते भने प्रदेशमा कोरोना संक्रमितको संख्यालाई उछिन्दै निको हुनेको संख्या बढी भएको थियो । उक्त दिन प्रदेशभर १ हजार जनामा कोरोना संक्रमण पुष्टि हुँदा १३ सय भन्दा बढीले कोरोना जितेका थिए ।

पश्चिमाञ्चल अस्पतालमा संक्रमितको मात्रै उपचार

प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोभिड बिरामीको मात्रै उपचार हुने भएको छ । कोभिड उपचार गर्न भन्दै सोमबारदेखि अनिश्चितकालका लागि ओपीडी सेवा बन्द गरिएको छ ।

अस्पतालमा अहिले ८० बेड कोरोना संक्रमितका लागि छुट्याइएको छ । प्रदेशमा संक्रमितको संख्या बढ्दै जान थालेपछि पूर्ण रुपमा अस्पताललाई संक्रमित उपचार केन्द्रित गराउन थालिएको सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिए । ‘सबै तयारी पुग्यो भने ३ सय ८० भन्दा बेडमै संक्रमितलाई उपचार गर्न सकिन्छ,’ उनले भने, ‘तर, त्यसका लागि तयारी गर्न अझै १०, १२ दिन लाग्ने देखिन्छ ।’

अस्पताललाई आधिकारिक रुपमै कोभिड अस्पताल बनाउन बैशाख ५ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले केन्द्र सरकारसँग अनुरोध गर्ने निर्णय गरेको थियो । अस्पताल केन्द्र सरकारको मातहतमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर