अक्सिजन प्लान्ट खरिदमा अनियमितताको आरोप लागेपछि समितिको अनुगमन, स्वास्थ्यकर्मी उत्साहित – Nepal Press

अक्सिजन प्लान्ट खरिदमा अनियमितताको आरोप लागेपछि समितिको अनुगमन, स्वास्थ्यकर्मी उत्साहित

सुर्खेत । कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले रुकुम पश्चिम र सल्यान जिल्ला अस्पतालमा खरिद गरेको भनिएको मिनी अक्सिजन प्लान्टको अनुमगन गरेको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास समितिले ती अस्पतालमा चालीस लाखको दरमा खरिद गरिएको भनिएका अक्सिजन प्लान्ट नभई अक्सिजन कन्सन्ट्रेटर रहेको जनगुनासो आएपछि अनुगमन गरिएको समितिका सदस्य पध्मा खड्काले बताइन् ।

‘सल्यान जिल्ला अस्पतालमा अक्सिजन प्लान्टको नाउँमा कन्सन्ट्रेटर खरिद गरिएको र सोही प्रकृतिका कन्सन्ट्रेटर अन्य जिल्लामा पनि आएको जनगुनासो आएको थियो,’ उनी भन्छिन्, ‘जनताको व्यापक गुनासो आएपछि समितिले कोरोनाको जोखिमको समयमा पनि अस्पतालहरुको अनुगमन गरेको हो ।’

समितिकी अध्यक्ष देवी वलीले अस्पतालमा कोभिड विरामीको संख्या उल्लेख्य भए पनि ती दुवै जिल्लामा आत्तिनुपर्ने अवस्था भने नदेखिएको बताइन् ।

‘अक्सिजन प्लान्टका बारेमा विवाद आएको छ । ती प्लान्टका बारेमा आवश्यक छानविन गर्दैछौं । त्यसको प्रतिवेदन हामी बनाइरहेका छौं । निकट भविष्यमा जाजरकोट र दैलेख जिल्ला अस्पतालमा जाने निर्णय भइसकेको छ,’ अध्यक्ष वली भन्छिन्, ‘त्यहाँ देखिएका कमी कमजोरीलाई गहन अध्ययन गरेर कर्णाली सरकारलाई निर्देशन दिन्छौं ।’

समितिको अनुगमन टोली गएपछि त्यहाँका स्वास्थ्यकर्मी उत्साहित भएका छन् । ‘तपाईंहरु यस्तो संकटको समयमा पनि यहाँको समस्या बारेमा जानकारी लिन आउनु भएको छ । यसले गर्दा हामीलाई काम गर्ने थप उत्साह र उर्जा प्राप्त भएको छ,’ चौरजहारी अस्पताल रुकुम पश्चिमका बालरोग विशेषज्ञ डा. कालेबकुमार बुढाले भने, ‘स्वास्थ्य क्षेत्रमा भेन्टिलेटर भन्दा पनि अक्सिजन प्लान्ट, राम्रो बेडहरु र स्वास्थ्यकर्मीको थप जनशक्तिका बारेमा सोच्नु होला ।’

उनले स्वास्थ्यकर्मीलाई अीक्सजन कसरी दिने भन्ने तालिम दिन आवश्यक रहेको बताउँदै स्वास्थ्यकर्मीलाई सो तालिमको व्यवस्था मिलाई दिन अनुरोधसमेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर