एनआरएनएको पहलमा सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गरिने – Nepal Press

एनआरएनएको पहलमा सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गरिने

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)ले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ । अध्यक्ष कुमार पन्तका अध्यक्षतामा आइतबार बसेको सङ्घका राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय पार्षद्को संयुक्त बैठकले सो निर्णय गरेको हो ।

यस्तै तीव्ररूपमा नेपालमा फैलिरहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि खोप नै अन्तिम विकल्प भएकाले तत्काल अन्तरर्राष्ट्रिय समुदायसँग खोप उपलब्ध गराइदिन अपिल गर्ने निर्णय गरिएको छ । त्यसका लागि सङ्घका राष्ट्रिय समितिमार्फत सम्बन्धित देशका सरकारसमक्ष नेपालका लागि खोप उपलब्ध गराउन पहल गरिनेछ ।

हवाई उडान सहजीकरण गर्न आग्रह

पछिल्लो समय नेपालबाट भारतीयलगायत अन्य देशका नागरिकले अन्तरर्राैष्ट्रिय यात्राका लागि सुविधा पाए पनि नेपाली भने समस्यामा परेको गुनासो सुनिएकाले यात्रामा नेपालीलाई पहिलो प्राथमिकतामा राख्न सङ्घले अनुरोध गरेको छ । विदेशबाट नेपाल फर्कदा नेपाली दूतावासबाट अनुमति लिनुपर्नेलगायतका विषयमा विद्यमान झन्झटिला प्रावधान हटाई यात्रा सहजीकरण गरिदिनसमेत सरकारसँग अनुरोध गरिएको छ ।

नागरिकतासम्बन्धी अध्यादेशप्रति ध्यानाकर्षण

लामो समयदेखि नै गैरआवासीय नेपाली सङ्घले माग गर्दै आएको गैरआवासीय नेपाली नागरिकताका विषयमा अध्यादेश मौन देखिएकाले गैरआवासीय नेपालीको माग सम्बोधनका लागि सङ्घले नेपाल सरकारलाई अनुरोध गरेको छ ।

४१ को निधन

विश्वव्यापीरुपमा फैलिएको कारोनाभाइरसका कारण गत दुई सातामा विदेशमा थप ४१ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अनुसार भारतमा २९, कतारमा ८, फ्रान्समा १, माल्दिम्समा १, बेल्जियममा १ र प्रोर्चुगलमा १ जना नेपालीको कोरोनाभाइरसका कारणले ज्यान गएको सङ्घअन्तर्गत कोभिड-१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

सङ्घले सङ्कलन गरेको तथ्याङ्कअनुसार भारतसहित विश्वभर २८ मुलुकमा रहेका ४२३ जना नेपालीको कोभिड-१९ का कारणले निधन भएको छ । सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म ५४ देशमा एक लाख सात हजार ८६ नेपालीमा कोरोना संक्रमण देखिएको छ भने तीमध्ये ९९ हजार २५७ जना कोरोनामुक्त भएका छन् ।

समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सोमबार साँझसम्म विदेशमा कोरोना संक्रमणबाट ९२ प्रतिशत नेपाली मुक्त भएका छन् । सङ्घले विगत कोरोनाभाइरसको महामारी शुरु भएदेखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, सङ्घसंस्था र सङ्घका शाखाद्वारा प्राप्त सूचनाका आधारमा तथ्याङ्क सङ्कलन गर्दै आएको छ । सङ्घले डा. सापकोटाको संयोजकत्वमा डा. सागर पौडेल (भारत), डा. नितेश शर्मा (मध्यपूर्व), डा. बोधराज सुवेदी (युरोप), डा. रुपक श्री (माल्दिभ्स)लगायत विश्वभर २०० चिकित्सक परिचालन गरेको छ ।

यसैबीच नेपालमा हालसम्म पाँच लाख २० हजार ४६१ जना संक्रमित पुगेकोमा ७६ दशमलव ६ प्रतिशत अर्थात् तीन लाख ९८ हजार ४८३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण सोमबार साँझसम्म ६ हजार ५३१ जनाको निधन भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर