तरुण दलले स्वास्थ्य मापदण्ड अपनाएरै आन्दोलन गर्ने – Nepal Press

तरुण दलले स्वास्थ्य मापदण्ड अपनाएरै आन्दोलन गर्ने

काठमाडौं । नेपाल तरुण दलले कोरोना महामारीकै बीचमा पनि सरकारविरोधी आन्दोलन जारी राख्ने भएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले प्रतिनिधिसभा विघटनलगायतका कदमको विरुद्धमा स्वास्थ्य मापदण्ड अपनाएर भएपनि विरोध प्रदर्शनलाई निरन्तरता दिन जिल्ला शाखाहरुलाई निर्देश गरेका छन् । विज्ञप्ति जारी गर्दै अध्यक्ष बस्नेतले सरकारको अलोकतान्त्रिक, संवैधानिक एवं स्वेच्छाचारी कदमविरुद्ध उभिनैपर्ने परिस्थिति बनेको बताएका छन् ।

‘जेठ ७ गते मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा षड्यन्त्रपूर्वक तरिकाले गरिएको जनताको सर्वोच्च निकाय प्रतिनिधिसभाको विघटन असंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश, स्वेच्छाचारी र प्रतिगामी भएको नेपाल तरुण दल केन्द्रिय समितिको ठहर छ । उक्त कदम इतिहासमै जनता र जनप्रतिनिधि जनप्रतिनिधिहरुको साझा थलो संसद माथि गरिएको सबैभन्दा ठूलो धोका र गद्दारीपुर्ण कार्य हो,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त कदमको नेपाल दल घोर निन्दा र भर्त्सना गर्दछ ।

कोरोना महामारीले देश र जनता आक्रान्त भएको संकटपुर्ण यस अवस्थामा जनतालाई सहज उपचारको व्यवस्था मिलाउने कार्यलाइ बेवास्ता गर्दै मध्यावधि निर्वाचनको घोषणा गर्नु देश र जनताप्रतिको गैरजिम्मेवारीको पराकाष्ठा हो भने जनताको स्वास्थ्य माथिको गम्भीर खेलवाड अक्षम्य अपराध हो ।’

तरुण दलले योङ कम्युनिष्ट नेपाल (वाईसीएल), समाजवादी युवा संघ-नेपाल, युवा संघ नेपाल, अखिल नेपाल युवक संघ, विवेकशील साझा युवा संगठनसँग समन्वय गरी संयुक्त संघर्षका कार्यक्रम गर्न निर्देशन दिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर