एन्टीजेन्ट किट नहुँदा भारतीय सीमामा कोरोना परिक्षण रोकियो – Nepal Press

एन्टीजेन्ट किट नहुँदा भारतीय सीमामा कोरोना परिक्षण रोकियो

विरगञ्ज । भारतबाट नेपाल प्रवेश गर्ने नेपालीको कोरोना परीक्षण रोकिएको छ । लामो समयदेखि एन्टिजेन किटको अभाव भएपछि वीरगञ्ज महानगरपालिकाले शङ्कराचार्य गेट नजिक स्थापना गरेको हेल्थ डेस्कमा हुँदै आएको परीक्षण प्रभावित भएको छ ।

दैनिक भारतबाट सो नाका भएर २५ जनाभन्दा बढी नेपाली वीरगञ्ज प्रवेश गर्ने गरेको भए पनि किटको अभावमा कोरोना परीक्षण हुन नसकेको हेल्थ डेस्कका इन्चार्ज सैमुला अन्सारीले जानकारी दिए ।

उनले भने, ‘किटको अभावमा अहिले सामान्य ज्वरो मात्र नाप्ने गरिन्छ ।’ उनले यदि कोरोनाको लक्षण देखिएमा जुन जिल्लाको बासिन्दा हुन्छ त्यही जिल्लामा उपचारको लागि पठाउने गरेको बताए ।

महानगरपालिकाले भन्सार क्षेत्रमा स्थापना गरेको हेल्थ डेस्कमा एन्टिजेन किटको अभाव रहेको जनाएको छ । महानगरपालिकाका प्रमुख बिजय सरावगीले जिल्ला जनस्वास्थ्य कार्यालयले हालसम्म सो किट उपलब्ध नगराउँदा समस्या देखिएको बताए ।

पीसीआर परीक्षणसमेत हुन नसकेको बताइएको छ । सो हेल्थ डेस्कमा स्वाब सङ्कलनसमेत बन्द छ । त्यस्तै भारतबाट दैनिक १० देखि १५ वटा पिकअप गाडीमा तरकारी आए पनि परीक्षण हुनसकेको छैन ।

पर्सामा कोरोना संक्रमितको संख्या लगातार घट्ने क्रममा रहेको छ । वैशाखमा उत्कर्षमा पुगेको कोरोना संक्रमण दर जेठको पहिलो सातादेखि घट्दै गइरहेको छ । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरी कडाई गरेपछि कोरोना संक्रमितको संख्या घट्दै गएको हो ।

नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासअनुसार सोमबारसम्म पर्साका १९, बाराका १२, सर्लाहीमा नौ, रौतहटका दुई र धनुषाका एक गरी ४३ जना सङ्क्रमण पुष्टि भएको छ । नौ देखि ७४ वर्ष उमेरसम्मका संक्रमित रहेको उनीहरूको सिटी भ्यालु १५ देखि ३५.२ सम्म रहेको छ ।
–रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर