बेलकाको प्रस्तावित अक्सिजन प्लान्टलाई चौतर्फी सहयोग, सातामै करोडभन्दा बढी संकलन – Nepal Press

बेलकाको प्रस्तावित अक्सिजन प्लान्टलाई चौतर्फी सहयोग, सातामै करोडभन्दा बढी संकलन

इटहरी । स्थानीय तहको नेतृत्वमा प्रदेश-१ मा पहिलोपटक अक्सिजन प्लान्ट निर्माणमा तम्सिएको उदयपुरको बेलका नगरपालिकालाई चौतर्फी सहयोग जुटेको छ ।

अघिल्लो साता मेयर दुर्गाकुमार थापाले अक्सिजन प्लान्ट नगर अस्पतालमै बनाउने घोषणा गरेयता १ करोड रुपैयाँभन्दा बढी सहयोग जुटिसकेको छ ।

सय दिनमा एक करोड बढी रकम संकलन गरेर शिलान्यासको योजना बनाइएको थियो । तर, दाताहरुले सहयोग भटाभट दिन थालेपछि अबको दश दिन भित्रै आर्थिक लक्ष्य भेट हुने मेयर थापाले नेपाल प्रेसलाई बताए । उदयपुरका चार स्थानीय तहले २० लाख, सेवा फाउन्डेसनले २५ लाख र केयर नेपालले १० लाख रकम दिएको मेयर थापाले बताए ।

व्यक्तिगत तबरमा पनि नगरभित्र र बाहिर सबैक्षेत्रबाट सहयोग आउने क्रम जारी भएको मेयर थापाले बताए । उनले भने, ‘अबको दश दिनमै हामीले हाम्रो एक करोड ३४ लाखको लक्ष्य भेट्ने सम्भावना बढेको छ ।’

कुमारी बैंकको बेलका शाखाको ‘अक्सिजन प्लान्ट निर्माण समिति’ नामको खाता नम्बर ०७७०११३४३५२००००१ नगरले २० लाख जम्मा गरेर अक्सिजन प्लान्टको रकम संकलन सुरु भएको थियो ।

‘अनमोल प्राणवायुः अभावमा नजाओस आयु’ भन्ने नाराको साथ भएको सुरु भएको अभियानले सय दिनमा प्लान्ट उद्घाटन गर्न लिएको लक्ष्य पनि केहि अगाडि आउने मेयर थापाले बताए ।

प्राविधिक पक्ष राष्ट्रिय आविष्कार केन्द्रले हेर्ने

बेलकामा निर्माण गरिने अक्सिजन प्लान्टमा राष्ट्रिय आविष्कार केन्द्र पनि जोडिएको छ । महावीर पुन नेतृत्वको आविष्कार केन्द्रका तर्फबाट पुनले नै गाइड गरिरहेको मेयर थापाले बताए । ‘हाम्रो परियोजनाको प्राविधिक स्पेसिफिकेसनका सबै काम राष्ट्रिय आविष्कार केन्द्रबाट हुनेछ । त्यसको नेतृत्व महावीर पुनले गर्नुहुनेछ’, मेयर थापले थपे ।

अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले बिरामीलाइ मात्रै नभएर विभिन्न ग्यारेजजन्य गतिविधिदेखि कृषि तथा पशुपालनका क्षेत्रहरुमा समेत काम गर्ने भएकोले प्लान्ट बहुउपयोगी हुने मेयर थापाले बताए । उनले भने, ‘बहुउपयोगी र दीर्घकालीन परियोजना भएकैले हामी सबै यसमा अहिले लागिपरेका छौं ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *