राति याक एण्ड यतिमा भएको एमाले वार्ता बिहानै कसले भाँड्यो ? – Nepal Press

राति याक एण्ड यतिमा भएको एमाले वार्ता बिहानै कसले भाँड्यो ?

काठमाडौं। आइतबार राति अबेरसम्म एमालेका ६ जना नेता राजधानीको पाँचतारे होटल याक एण्ड यतिमा पार्टी फुट्न नदिन अन्तिम कसरतमा थिए । १० सदस्यीय वार्ता कार्यदलका ६ जना नेता एमालेलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने अनौपचारिक सहमति गरेर उठेका थिए ।

वार्तामा संस्थापन पक्षबाट वार्ता टोली संयोजक सुवास नेम्वाङ, बिष्णु पौडेल र प्रदिप ज्ञवाली थिए भने माधव नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई बसेका थिए ।

नेताहरुबीच माओवादीसँग एकीकरण गर्नुअघि थपिएका ४१ जना र पछिल्लो पटक माओवादीबाट प्रवेश गरेका २३ जनासहित २६५ सदस्यीय केन्द्रीय कमिटीलाई मान्यता दिएर पार्टीलाई जेठ २ मा फर्काउने कुरा भएको थियो ।

साँझ ८ बजेदेखि राति ११ बजेसम्मको छलफल पार्टीलाई मूल रुपमा जेठ २ को अवस्थामा लगेर मिलाउने अनौपचारिक सहमति भएको वार्तामा सहभागी एक नेताले नेपाल प्रेसलाई बताए । तर विहानै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने रिट निवेदनमा हस्ताक्षर गराउन वार्ताकार नेता नै सक्रिय भएको सूचना पाएपछि संस्थापन पक्ष झस्क्यिो ।

त्यसो त आइतबार वार्ता गर्ने प्रस्ताव बालुवाटारतिरबाटै गएको थियो । शुरुमा घनश्याम भुसालले नआउने बताएका थिए । तर पछि गोप्य रुपमा छलफल गर्ने हो भने आउछु भनेपछि वार्तालाई गोप्य राखिएको स्रोतले जनाएको छ ।

वार्तामा सहभागी एक नेताले भने- त्यहाँ लामो छलफल भयो । संसद विघटनप्रति उहाँहरुको असहमति छँदै थियो । तर पनि पार्टी एकता जोगाउन मुलतः जेठ २ मा जान सकिने भनेर उठेका हौं । सहमति भयो भन्ने हिसाबले उठियो तर घनश्यामजी त हस्ताक्षर गराउने क्याम्पेनर पो बन्नुभएछ । उहाँको भूमिका पछिल्लो समय भित्र एउटा र बाहिर अर्कै देखिदै थियो ।

घनश्याम र यागेशकै कारण एकताका लागि धेरै प्रयास भए पनि पछिल्लो समय योगेश अडानमा बस्ने तर घनश्याम दोहोरो भूमिकामा देखिने गरेकाले अब एकताको सम्भावना लगभग समाप्त भएको निष्कर्ष नेताहरुले निकालेका छन् ।

आइतबार रातिको वार्तामा बसेका भुसाल र पाण्डे नै रिट लिएर सर्वोच्च अदालत गएपछि उनीहरु यो निष्कर्षमा पुगेका हुन् । योगेश भट्टराई र गोकर्ण विष्ट भने एकताको पक्षमा अहिले पनि ठाउँ राख्नुपर्छ भन्नेमा देखिएका छन् । आइतबार गोकर्णलाई पनि बोलाइएकोमा उनी विरामी परेकाले आउन नसकेको निकट स्रोतले जनाएको छ ।


प्रतिक्रिया

One thought on “राति याक एण्ड यतिमा भएको एमाले वार्ता बिहानै कसले भाँड्यो ?

  1. छलफल होइन कार्वाही गरेर पहिल्यै पाँच छजनालई निकालिदिएको भए यो अवस्था आउने थिएन ।एमाले भित्र बाटनै निस्कासन गर्न नदिने तत्वले जिम्मेवारी र जवाफदेहीता लिनुपर्छ ।

Leave a Reply to नेत्रप्रसाद नेपाल Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर