काठमाडौं महानगरका ५० हजारजनाको एन्टिजेन परीक्षण गरिने – Nepal Press

काठमाडौं महानगरका ५० हजारजनाको एन्टिजेन परीक्षण गरिने

काठमाडौँ । काठमाडौँ महानगरले ५ दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा जेठ १४ देखि परीक्षण थालिने भएको हो ।

५ दिनभित्र सबै वडाका जोखिम ठाउँमा परीक्षण गर्ने गरी हरेक दिन १० केन्द्रबाट नमूना संकलन गर्ने महानगरको तयारी छ । जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले भने, ‘समुदायमा संक्रमण अनुसन्धान तथा शंकास्पद संक्रमणको अवस्था थाहा पाउन परीक्षण गर्ने योजना बनाएका हौं ।’

परीक्षणबाट पोजेटिभ देखिएका बिरामीलाई थप परीक्षण र आइसोलेसनमा राख्ने व्यवस्था मिलाइने उनले जानकारी दिए ।

संक्रमण न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि वैशाख १४ गतेको कार्यपालिकाको निर्णय र वैशाख २३ गते स्वास्थ्य विज्ञहरूसँगको बैठकले गरेका निर्णयका आधारमा वृहत एन्टिजेन परीक्षण गरिने भएको हो ।

परीक्षणका लागि वडामा भएका केस इन्भेष्टिगेसन एण्ड कन्ट्याक्ट ट्रसिङ (सीआईसीटी) समूहलाई सक्रिय बनाइनेछ । महानगरका कोविड १९ फोकल पर्सन ज्ञानबहादुर ओली भने, ‘आवश्यकताका आधारमा थप जनशक्ति परिचालन गरेर पनि कार्यक्रम गरिनेछ ।’

कोभिडका लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङमा परेका, अग्रपंक्तिमा रहेर काम गरिरहेका, निषेधाज्ञाको समयमा काम गरिरहेका र जोखिममा रहेका सवैलाई लक्षित वर्ग मानेर परीक्षण गर्न लागिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको समन्वयमा संकलित नमूना जाँच गर्ने काम गरिनछे । परीक्षणका लागि आवश्यक पर्ने एन्टिजेनका लागि जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य हुनेछ ।

यस अघि कालीमाटी तरकारी तथा फलफूल बजार र टुकुचा तरकारी बजारमा गरी २ ठाउँमा यस प्रकारको परीक्षण गरिसकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर