खोप आपूर्तिका लागि पाँच ठूला मुलुकलाई पत्राचार, एकमहिनापछि संक्रमण घट्ने अनुमान – Nepal Press
स्वास्थ्य मन्त्रीको पत्रकार सम्मेलन

खोप आपूर्तिका लागि पाँच ठूला मुलुकलाई पत्राचार, एकमहिनापछि संक्रमण घट्ने अनुमान

स्वास्थ्य संकटकालको सुझाव सकारात्मक

काठमाडौं । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ विरुद्धको खोप खरिदका लागि अमेरिका, बेलायत, रुस, भारत र चीनसँग उच्चस्तरिय पहल गरिएको बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले खोप आपूर्तिका लागि ती मुलुकलाई पत्राचार समेत गरिएको बताए ।

नर्वेमा स्टकमा रहेको खोप ल्याउनका लागि शुक्रबार आफूले नर्वेली राजदूतसँग कुरा गरेको र नर्वेले सकारात्मक जवाफ दिएको मन्त्री त्रिपाठीले जानकारी दिए ।

मित्रराष्ट्रबाट अहिलेसम्म २ अर्ब बराबरको स्वास्थ्य सामाग्री नेपालले प्राप्त गरेको जानकारी दिँदै मन्त्री त्रिपाठीले थप मुलुकहरुले स्वास्थ्य सहायता उपलब्ध गराउन चाहेको समेत बताए ।

नेपाल प्रवेश गर्ने १४ वटा मुख्य नाकामा एन्टीजेन परीक्षण र स्क्रिन टेस्ट गर्ने हेल्थ डेस्क स्थापना गरिएको जानकारी मन्त्री त्रिपाठीले दिए ।

स्वास्थ्य संकटकालको सुझाव सकारात्मक

मन्त्री त्रिपाठीले स्वास्थ्य संकटकाल लगाउन विज्ञहरुले दिएको सुझावलाई सकारात्मक रहेको बताएका छन् । यसैसाता राष्ट्रपति कार्यालयले कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश ल्याएको छ जसमा स्वास्थ्य संकटकाल लगाउन सकिने देखि युनिफाइड अस्पताल स्थापनासम्मका प्रावधान समेटिएका छन् ।

काठमाडौं जिल्ला प्रशासनले अध्यादेशमा उल्लेख भएका प्रावधानलाई कार्यान्वयन गर्दै निषेधाज्ञालाई कडाइ गर्ने थप आदेश सार्वजनिक गरिसकेको छ ।

४ सातापछि संक्रमण घट्न सक्छ

स्वास्थ्य त्रिपाठीले आगामी चारसातापछि संक्रमणको गति घट्न सक्ने बताए । अहिले फैलिएको नयाँ भेरिएन्ट संक्रामक र घातक भएको बताउँदै मन्त्री त्रिपाठीले मानवीय आवतजावत भैरहेको र केही कार्यालय खुलै भएकाले संक्रमण घट्न नसकेको बताए ।

सक्रिय संक्रमित संख्या १ लाख १५ हजार पुगेको जानकारी दिँदै मन्त्री त्रिपाठीले जनस्वास्थ्यका मापदण्डलाई कडाइ गर्नुपर्ने बताए ।

सरकारले कोभिड-१९ को उपचारका लागि १५७ वटा अस्पताल छुट्याएको र ४५ निजी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको मन्त्री त्रिपाठीले जनाए । बैशाख महिनामा मात्र उपचारका लागि ४५ करोडको शोधभर्ना गरिएको समेत उनले जनाए ।

स्वास्थ्य सचिव लक्ष्मण अर्यालले अपेक्षारुपमा संक्रमण दर घट्न नसकेको बताए । बिरामीको संख्या बढिरहेको जनाउँदै उनले काठमाडौंमा संक्रमण घटेपनि तुलनात्मकरुपमा घट्न नसकेको जनाए । ‘संक्रमण अझैपनि समुदायमै छ’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर