महामारीविरुद्ध ठमेल क्षेत्रलाई चिनियाँ सहयोग, गाउँ-गाउँमा अक्सिजन प्लान्ट स्थापना गर्ने – Nepal Press

महामारीविरुद्ध ठमेल क्षेत्रलाई चिनियाँ सहयोग, गाउँ-गाउँमा अक्सिजन प्लान्ट स्थापना गर्ने

काठमाडौं । नेपालमा कार्यरत एक चिनियाँ गैरसरकारी संस्थाले कोभिड-१९ महामारीविरुद्ध नेपाललाई सघाउन गाउँहरुमा अक्सिजन प्लान्ट स्थापना गर्ने अभियान सुरु गरेको छ ।

गरिबी निवारणका लागि चिनियाँ संस्था (सीएफपीए)ले काठमाडौं महानगरपालिका १७ र १९ बाट अभियान थालेको हो ।

काठमाडौं वडा-१९ स्थित क्षेत्रपाटीमा उक्त संस्थाले २० थान अक्सिजन सिलिन्डर, २०० पीपीई लगायतका स्वास्थ्य सामग्री प्रदान गरेको छ । वडाध्यक्ष नवीन मानन्धरले ती सामग्री ग्रहण गरे ।

वडा-१९ लाई ४० लिटरका ५ थान अक्सिजन सिलिन्डर प्रदान गरिएको छ । यी दुबै वडा पर्यटकीय क्षेत्र ठमेल अन्तर्गत पर्छन् र यस वरपर चिनियाँ व्यापारीहरु ठूलो संख्यामा बसोबास गर्छन् ।

आयोजित कार्यक्रममा संस्थाका नेपाल निर्देशक झिउ झिक्वीवाङले महामारीविरुद्ध नेपाललाई सघाउन आफूहरु सँधै तयार रहेको बताए ।

सीएफपीएले भाइरस संक्रमित काठमाडौंका १० विभिन्न समुदायलाई स्वास्थ्य उपकरण र सामग्री प्रदान गर्ने तयारी रहेको जनाएको छ । बागमती प्रदेशका ती क्षेत्रमा दक्षिणकाली र फर्पिङ नगरपालिकालाई पनि सहयोग गर्ने जनाइएको छ ।

साथै, प्रदेश २ का सर्लाही र धनुषामा समेत अक्सिजन प्लान्ट जडान गर्ने संस्थाको योजना छ । यो कार्यक्रमबाट न्यून आय भएका १ लाख जनसंख्या लाभान्वित हुने जनाइएको छ ।

अभियानको पहिलो चरणअन्तर्गत देशव्यापीरुपमा स्यानिटाइज, खानेकुरा प्याकिङ, स्कुल ब्याग वितरण गरिने भएको छ ।

सन् २०१५ देखि नेपालको सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको संस्थाले अहिलेसम्म ४ लाखभन्दा बढी जनसंख्यालाई सहायता दिएको जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर