अदालत जान कागजात तयार पार्दै विपक्षी सांसद – Nepal Press

अदालत जान कागजात तयार पार्दै विपक्षी सांसद

काठमाडौं । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नबनाइएको भन्दै कानूनी लडाइँका लागि विपक्षी दलहरू आज सर्वोच्च जाँदैछन् ।

त्यसका लागि शीर्ष नेतासहित सांसदहरू कानूनविद्को सहयोगमा सिंहदरबारमा कागजात, प्रमाण, वारेसनामा लगायतको तयारीमा लागेका छन् । संसदीय दलको कार्यालयमा भेला भएर सांसदहरू वारेसनामा भर्ने क्रम जारी छ ।

वारेसनामामा ल्याप्चे लगाउँदै कांग्रेस सभापति देउवा ।

आइतबार रिट निवेदन लेख्ने, सांसदहरूको नागरिकता, परिचयपत्र र हस्ताक्षर जुटाउने लगायतका कामले गर्दा नभ्याइएको रिट आज पेस गर्ने तयारी छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीलाई विपक्षी बनाएर रिट दायर गर्न लागेका हुन् ।

सो रीटमा संविधानको धारा ७६ को ५ अनुसार प्रतिनिधिसभाका बहुमत सदस्यहरू देउवालाई प्रधानमन्त्री बनाउन तयार रहेकोले वैकल्पिक सरकार गठनको सम्भावना जीवितै रहेको दावी गरिएको छ ।

रिट दर्ता गर्न जाने क्रममा सबै सांसदलाई भौतिकरूपमै उपस्थित हुन सर्कुलर गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर