खोप आपूर्तिबारे परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन संवाद, अमेरिकाले भन्यो : नेपाल हाम्रो प्राथमिकतामा – Nepal Press

खोप आपूर्तिबारे परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन संवाद, अमेरिकाले भन्यो : नेपाल हाम्रो प्राथमिकतामा

काठमाडौं । नेपालले कोभिड-१९ विरुद्धको खोप आपूर्तिमा आफूलाई प्राथमिकतामा राख्न अमेरिकालाई आग्रह गरेको छ ।

अमेरिकी उपविदेशमन्त्री वेन्डी सेर्मनसँग सोमबार बिहान भएको टेलिफोन वार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त आग्रह गरेका हुन् । अमेरिकाले विदेशी मुलुकहरुलाई ८० मिलियन खोप दिने भनेको छ ।

मन्त्री ज्ञवालीले पहिलो डोज लगाएर दोस्रो डोजको प्रतीक्षामा रहेका वर्गलाई लगाउन आवश्यक खोप उपलब्ध गराइदिन भनेका थिए ।

नेपालको आग्रहमा अमेरिका सकारात्मक रहेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । संवादका क्रममा सेर्मनले कोभिड महामारीविरुद्ध तथा अन्य सामाजिक-आर्थिक पक्षमा नेपाललाई बाइडेन प्रशासनले सघाउने बचन दिएकी थिइन् ।

महामारीविरुद्ध अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदान गरेकोमा मन्त्री ज्ञवालीले अमेरिकालाई धन्यवाद समेत दिएका थिए । उपविदेशमन्त्री सेर्मनले पाइपलाइनमा रहेका अमेरिकी परियोजनाको कार्यान्वयनले दुई मुलुकबीचको मित्रतापूर्ण सम्बन्ध अझ गाढा हुने समेत बताएकी थिइन् ।

आगामी अक्टोबरमा नेपालले होस्ट गर्ने सगरमाथा संवाद सम्मेलनको सन्दर्भमा दुबै मुलुकले जलवायु परिवर्तनबारे मिलेर काम गर्ने सहमति जनाएका छन् । कोभिड-१९ ले अर्थतन्त्रमा पुर्‍याएको क्षतिबाट अर्थतन्त्रलाई उकास्न दुबै मुलुकले आर्थिक साझेदारितालाई अघि बढाउने सहमति पनि गरेका छन् ।

आपसी चासोका विषयमा द्धिपक्षीय र बहुपक्षीय आयामलाई अघि बढाउने बारेमा पनि मन्त्री ज्ञवाली र उपविदेशमन्त्री सेर्मन सहमत भएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

अमेरिकाले यसैसाता अक्सिजन सिलिन्डर, भेन्टिलेटर, कन्सनट्रेटर लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री आपूर्ति गरेको छ ।


प्रतिक्रिया

2 thoughts on “खोप आपूर्तिबारे परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन संवाद, अमेरिकाले भन्यो : नेपाल हाम्रो प्राथमिकतामा

  1. कोभिशिलको पहिलो खोप लगाई दिश्रो खोपको लागि लागि अमेरिकाले दिने खोप उचित हुन सक्ला कि?

Leave a Reply to बेद प्रसाद ज्ञवाली Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर