नवराज हत्याकाण्डको एक वर्षः क्षतिपूर्ति मिल्यो, न्यायिक लडाइँ जारी – Nepal Press

नवराज हत्याकाण्डको एक वर्षः क्षतिपूर्ति मिल्यो, न्यायिक लडाइँ जारी

काठमाडौं । जाजरकोटका नवराज विश्वकर्मासहित ६ जना युवाको रुकुममा सामुहिक हत्या गरिएको आज एक वर्ष पूरा भएको छ । राष्ट्रिय स्तरमा चर्चा पाएको यो जघन्य अपराधमा अहिलेसम्म न पीडितले न्याय पाएका छन्, न पीडकले सजाय ।

गत वर्ष जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोती गाउँमा विभत्स हत्या भएको थियो । मल्ल थरकी ‘प्रेमिका’लाई भगाउन गएका दलित युवक नवराज विश्वकर्मासहित ६ जनाको स्थानीयले लखेटी-लखेटी हत्या गरेको आरोप लागेको छ । नवराजसहित लोकेन्द्र सुनार, सन्जु विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढामगर र गोविन्द शाहीको हत्या गरी भेरी नदीमा फालिएको थियो ।

हत्यामा सलंग्न चौरजहारी नगरपालिका ७ का वडाध्यक्ष डम्बर मल्ल, युवतीका बुवासहित २३ जना अहिले जेलमा छन् । तर मुद्दाको अन्तिम फैसला हुन सकेको छैन । गत वर्ष हत्या भएको केही दिनपछि नवराजका बुवासहित मृतक ६ जनाका परिवारले किटानी जाहेरी गरेपछि प्रहरीले सुरुमा २८ जना र पछि ६ जना गरेर २४ जनालाई पक्राउ गरेको थियो । उनिहरुविरुद्ध कर्तव्य ज्यान मुद्धा, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत विरुद्धको ३ वटा मुद्धा दर्ता गरिएका छन् ।

सर्वोच्च अदालतले नवराज हत्याकाण्डको मुद्धाको मिसिल जिल्ला अदालत रुकुमलाई पठाइसकेको छ । मिसिल जिल्ला अदालतमा पुगेपछि सुनुवाइको प्रक्रिया अघि बढ्नेछ । त्यसपछि जाहेरवाला, साक्षी, घाइते १२ जना र आवश्यकताअनुसार प्रहरी तथा विज्ञको वकपत्र पेश गरिनेछ । त्यसपछि अदालतले सुनुवाई तथा फैसला गर्नेछ । दोषि ठहर भएमा अभियुक्तहरुमाथि आजिवन कारावास हुन सक्छ ।

हत्या भएको १ वर्ष पूरा हुँदै गर्दा घटनाको सम्झनामा आज बृहत नागरिक आन्दोलनले ‘प्रेमविरोधी जात व्यवस्था’ को प्रतिरोध दिवस मनाउँदैछ । दलित युवाले गैरदलित युवतीसँग प्रेम विवाह गर्न खोज्दा वडाध्यक्षकै नेतृत्वमा हत्याकाण्ड गरिएको भन्दै बृहत नागरिक आन्दोलनले प्रतिरोध दिवस मनाउने निर्णय यसअघि गरेको थियो । बृहत नागरिक आन्दोलनले जातीय छुवाछुतमुक्त मूलुक घोषणा भए पनि व्यवहारमा दलित समूदायको हत्या भइरहेको बताएको छ ।

कहाँ पुग्यो न्यायको लडाईं ?

हत्यामा संलग्न भएको आरोपमा ३४ जना विरुद्ध मृतकका परिवारले किटानी जाहेरी हालेका थिए । उनीहरु पक्राउ परे पनि ४ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले छोड्न आदेश दियो । एक जनालाई १ लाख धरौटीमा छोड्न आदेश दिइएको थियो भने बाँकी ३ जनालाई साधारण तारेखमा ।

त्यसपछि हिरासतमा रहेका ३० जनाले उच्च अदालत सुर्खेतमा मुद्धा दायर गरे । उनीहरुमध्ये नवराजकी प्रेमिका भनिएकी किशोरी र उनका भाइलाई उच्च अदालतले नाबालक भनेर रिहा गर्‍याे । पछि पक्राउ गरेका ६ जनालाई छोड्ने कि नछोड्ने भन्नेमा जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीशबीच मत बाझियो । न्यायाधीशकै बीचमा मत बाझिएपछि उक्त मुद्धा सर्वोच्च अदालतमा पुग्यो ।

जिल्ला र उच्च अदालतबाट धमाधम आरोपीहरु छुटेपछि नवराजसहित ६ जना मृतकका परिवार छट्पटीमा परे । त्यसपछि उनीहरु न्यायको ढोका ढक्ढकाउन काठमाडौं आए । काठमाडौंकाे माइतीघर मण्डलादेखि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारसम्म धाए । सञ्चारमाध्यमार्फत वेदना पोखे ।

पीडित परिवारलाई सान्त्वना दिन सरकारले ६ जनाका परिवारलाई १०/१० लाख क्षतिपूर्ती दिने निर्णय गर्‍यो ।  सुरुमा क्षतिपूर्ति लिन नमाने पनि पछि बुझेका छन् । तर, त्यही क्षतिपूर्तीमै सीमित भएर न्याय नपाइने हो कि भन्ने चिन्ता उनीहरुमा छ ।

केही दिन काठमाडौंमा बिताएर पीडितहरु आफ्नै थातथलो जाजरकोट फर्किए । त्यसपछि सर्वोच्च अदालतमा पुगेको मुद्धाको फैसला हुने जानकारी पाएपछि २ महिनापछि फागुनमा फेरि काठमाडौं आए । त्यही मौकामा सर्वोच्च अदालत पुगेर आफ्ना पीडा र बिलौना पनि पोखे । त्यतिबेला सर्वोच्च अदालतले कुनै पनि फैसला गरेन ।

तर उनीहरु घर गइसकेपछि भने अर्कोपटक बहस गरेर सर्वोच्च अदालतले पछि पक्राउ परेका ६ जनामध्ये ५ जनालाई साधारण तारेखमा छोड्न आदेश दियो । जटिल विषय भएकाले न्याय निरुपणको काममा ढिलाइ हुँदै गइरहेको थियो । यसै बीचमा कोरोनाको महामारीले देशलाई गाँजिहाल्यो । त्यसपछि अदालतबाट हुने नियमित काम रोकिए । नवराज हत्याकाण्डको मुद्धा पनि हेर्दाहेर्दैमा रोकिएको छ ।

प्रतिवादीको पक्षबाट वकालत गर्दै आएका नेपाल बार एशाेसिएसन रुकुमका पूर्व अध्यक्ष समेत रहेका अधिवक्ता यक्कबहादुर पाण्डेका अनुसार सर्वोच्चबाट मिसिल आउन बाँकी छ । मिसिल आउने चरणमा रहेको अवस्थामा कोरोनाका कारण निषेधाज्ञा लागेपछि मिसिल जिल्ला अदालत रुकुममा पुग्न ढिलाई भएको उनले बताए ।

उनल भने, ‘यो राष्ट्रिय स्तरको मुद्धा भइसकेकाले तत्काल छिनोफानो गर्न न्यायाधीशलाई पनि त्यति सजिलो छैन । द्रूत गतिमा अघि बढ्यो भने पनि कम्तिमा असोज-कात्तिकसम्म समय लागिहाल्छ ।’

पाण्डेका अनुसार जिल्ला न्यायाधीश सरुवा भइसकेका र अहिले काजमा रहेकाले पनि थप ढिलाई हुने सम्भावना बढी छ ।

पीडित पक्षको तर्फबाट ४ जना सरकारी र २० जना निजी गरेर २४ कानून व्यवसायीले जिल्ला अदालत हुँदै उच्च अदालतसम्म वकालत गरिसकेका छन् । दिनेश त्रिपाठीसहित २ जना बरिष्ठ अधिवक्ता र मोहन साशंकर, श्याम विश्वकर्मा, त्रिलोचन्द्र विस्वास लगायतले पीडितको पक्षबाट वकालत गरेका हुन् ।

सर्वोच्चको धुनछेकको आदेश सकिएको पीडित पक्षको तर्फबाट वकालत गर्दै आएका अधिवक्ता त्रिलोकचन्द्र विश्वासले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार अहिलेसम्म २३ जना पुर्पक्षमा जेल चलान भएका छन् भने ११ जना धरौटी र साधारण तारेखमा छुटेका छन् ।

नवराजसँग प्रेममा रहेको भनिएकी किशोरी र उनका भाइ नाबालक भएकाले छुटेका छन् । यस्तै, जिल्ला अदालत रुकुम पश्चिमबाट किशोरीको आमा प्रकाशी मल्ल १ लाख धरौटी र इन्दबहादुर मल्लसहित बाँकी ३ जना साधारण तारेखमा छुटेका थिए । पछि सर्वोच्च अदालतले बाँकी ५ जनालाई तारेखमा छोड्न आदेश दियो ।

नवराजका बाबु भन्छन्ः आशा मरेको छैन

मृतक नवराज विकका बुवा पुनलाल नेपाली आफु अझै न्यायको पर्खामा रहेको बताउँछन् ।

नेपाल प्रेससँग उनले भने, ‘सबैले न्याय पाउछस्, चिन्ता नगर भनिरहेकाले मनमा आशा त बोकेको छु । तर ११ जनालाई अदालतले छुटाइसक्यो । त्यसैले कहिलेकाही डर पनि लाग्छ कतै न्याय नपाइएला कि भनेर ।’

याे पनि

न्यायको खोजीमा कहिले बालुवाटार, कहिले माइतीघर

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर