खराव मौसमका कारण चीनमा २१ अल्ट्रा धावकको मृत्यु, डेढ सयको उद्धार – Nepal Press

खराव मौसमका कारण चीनमा २१ अल्ट्रा धावकको मृत्यु, डेढ सयको उद्धार

एजेन्सी । उत्तर-पश्चिम चीनमा एक लामो दूरीको दौड प्रतियोगितामा सहभागी घावकहरु खराव मौसमको चपेटामा पर्दा कम्तिमा २१ जनाको मृत्यु भएको छ ।

गान्सु राज्यको पर्यटकीय स्थल एल्लो रिभर स्टोन फरेस्टमा शनिबार भएको प्रतियोगिताका सहभागीहरु तीव्र गतिको हावासँगै अत्याधिक चिसो पानीबाट प्रताडित भएका थिए । त्यहाँ १ सय किलोमिटर प्रतिघण्टाको बेगमा हावा चलेको थियो ।

अल्ट्रा दौडमा सहभागी १ सय ७२ धावकहरु हराएपछि प्रतियोगिता रद्ध गरी उद्धार अभियान सुरु गरिएको थियो । उद्धार गरिएका अधिकांश धावकहरु हाइपोथर्मियाबाट ग्रसित बनेका थिए ।

गान्सुको राज्य सन्चालित सन्चारमाध्यमका अनुसार खराव मौसमको चपेटामा परी मृत्यु हुनेहरुमा अल्ट्रा म्याराथनका चिनियाँ च्याम्पियन लियाङ जिङ, सन् २०१९ को राष्ट्रिय पाराओलम्पिक खेलका विजेता हुआङ गुन्जुनलगायत छन् ।

दाैड शुरु हुँदाकाे तस्बिर ।

अधिकारीहरुका अनुसार १ सय ५१ जना धावकहरु सुरक्षित छन् । तीमध्ये आठजना घाइतेको उपचार भइरहेको छ ।

स्थानीय समयअनुसार विहान ९ बजेदेखि दौड सुरु भएको थियो । जहाँ केहि प्रतिस्पर्धीहरुले जर्सीमात्र लगाएका थिए । जीवित रहेका सहभागीका अनुसार हल्का हावा र पानीको पूर्वानुमान थियो । तर उनीहरुले जे भोगे त्यसको पूर्व जानकारी नै थिएन ।

नजिकै रहेको बाइयीन शहरका अधिकारीहरुका अनुसार दौड सुरु भएको तीन घण्टापछि पहाडी क्षेत्रमा तीव्र हावा र पानीका कारण तापक्रम एक्कासी घट्न पुग्यो ।

‘ठूलो वर्षा भइरहेको थियो र अझै बढ्ने क्रममा थियो । त्यतिबेला म २४ किलोमिटर दौडिसकेको थिएँ तर पहाडसम्म पुगेको थिइनँ,’ मौसम परिवर्तन भएपछि बीचैबाट फर्केकी एक धावक माओ सूझीले समाचार संस्था रोयटर्ससँग भनिन् ।

यसअघि पनि हाइपोथर्मियाको अनुभव पाइसकेकाले उनले होटल फर्कने निर्णय गरेकी थिइन् । तर अधिकांश धावकहरु भने मौसम सबैभन्दा बिग्रिएकोख क्षेत्रमा पुगिसकेका थिए ।

मौसमका कारण भिजिवलिटी कम हुँदा कतिपय धावकले आफ्नो बाटो भुलेका थिए । चिनियाँ सन्चारमाध्यमका अनुसार थर्मल इमेजिङ गन र राडार डिटेक्टरको सहायताबाट १२ सय भन्दा बढी उद्धारकर्ता परिचालन गरिएको थियो ।

चिनियाँ सन्चार संस्था सिन्ह्वाका अनुसार उद्धार अभियान आइतबार विहानसम्म पनि जारी थियो । यसक्रममा तापक्रम अझै घटेपछि उद्धारमा कठिनाइ भएको थियो ।

यो घटनाले चिनियाँ नागरिकहरुले सामाजिक सन्जालमा आक्रोश व्यक्त गरेका छन् । उनीहरुले बौयीन सरकार र उसको आकस्मिक उद्धारको योजनाको आलोचना गरिरहेका छन् । आइतबार एक पत्रकार सम्मेलनमा बैयीनका मेयर झाङ छुचेनले भने, ‘प्रतियोगिताको आयोजकका रुपमा हामीलाई अपराधबोध र पश्चाताप भएको छ । हामी मृतक र घाइतेका परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *