राप्ती नदीमा अवैध उत्खनन् : सीडीओ, एसपी र जनप्रतिनिधिकै मिलेमतो ! – Nepal Press

राप्ती नदीमा अवैध उत्खनन् : सीडीओ, एसपी र जनप्रतिनिधिकै मिलेमतो !

दाङ । लमही गढवा सडक खण्ड अन्तरर्गत पर्ने राप्ती नदीको पुलदेखी पूर्वतर्फ, नदीमा जेसीबी र टिपर प्रयोगगरी ठेकेदारले मापदण्डविपरीत  उत्खनन् गरिरहेका छन् ।

नियम अनुसार नदीजन्य पदार्थको उत्खनन् गर्दा ८० सेन्टिमिटर भन्दा बढी गहिरो खन्न पाइँदैन् । गढवा गाउँपालिकाले ठेकेदारलाई नदी उत्खनन्को अनुमति दिएको हो । तर, राप्ती नदीमा टिपर नै नदेखिने खाडल बनाइएको छ । यसरी अवैध उत्खनन् हुँदा समेत नियमन निकाय भने मौन छन् ।

उत्खनन्को अनुमति दिएपछि नियम अनुसार उत्खनन् भएको छ कि छैन ? भनेर बेलाबेलामा स्थानीय तह, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्नुपर्छ ।

अनुगमन गरे अवैध ठहर्ने र उत्खनन् नै बन्द गरी ठेकेदारलाई कारवाही गर्नुपर्ने भएकाले नियमक निकायले अनुगमन नै नगरेको स्थानीयको भनाइ छ । यसमा आर्थिक चलखेल समेत हुने गरेको उनीहरूको दावी छ । सीडीओ ,एसपी, जिल्ला समन्वय समिति र गाउँपालिका अध्यक्ष ठेकेदारसँग मिलेकाले अनुगमन नै नगरेको स्थानीय महेश यादवको आरोप छ ।

वातावरणीय प्रभाव मूल्यांकन गरी उपयुक्त ठहरेको स्थानबाट मात्रै नदिजन्य पदार्थको उत्खनन् गर्न पाइन्छ । तर, राप्ती नदीमा ठेकेदारले जथाभावी उत्खनन् गरिरहेका छन् । स्थानीय अगुवा पर्शु चौधरीले भने, ‘अहिले उत्खनन् भइरहेको ठाउँ धर्मपुरका गाउँलेले खेतीपाती गर्ने ठाउँ हो ।’ बगर खेती गरिदै आएको ठाउँबाट उत्खनन गरिएको स्थानीयले बताएका छन् ।

जथाभावी उत्खनन गर्दा नदी किनारमा ठूला खाडल परेका छन् । ती खाडलमा चौपायामा बर्खामा डुब्ने गरेका छन । ‘अहिले उत्खनन् गरेर खाडल पारिन्छ । वर्षामा पांगो माटो जम्मा हुन्छ र दलदल बन्छ ’, चम्पा चौधरीले भने,‘अब यी खाल्डामा बर्खामा मान्छे डुब्ने खतरा छ ।’ गढवा गाउँपालिका-७ झारबैराको सीमानामा समेत जेसीविले उत्खनन् गरिरहेको स्थानीय हरी डाँगीले जानकारी दिएका छन् ।

‘हामीले अवैध उत्खनन् गर्नेलाई कारवाही गर्नुपर्‍यो भनेर सीडीओ, एसपी र गाउँपालिका अध्यक्षलाई धेरैपटक फोन गर्‍यौँ । तर, सबैबाट हुन्छ भन्ने मात्रै भयो । कुनै कारवाही भएन’, स्थानीय गोवर्द्धन खड्काले भने ।

अवैध उत्खनन्‌को विरोध गर्दा आफूहरू असुरक्षित भएको उनले बताए । विरोध गरेका जेपनि हुन सक्ने भन्दै ठेकेदारहरुले धम्की दिने गरेको खड्काको गुनासो छ ।

कुनै राष्ट्रिय गौरवका आयोजना भए त्यहाँ काम गर्दा समेत स्थानीय प्रशासको अनुमति लिनुपर्छ । ठेकेदारले क्रसरमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेका छन् । तर,पनि प्रहरी मौन छ ।

दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले लकडाउन अवधिभर कसैले पनि उत्खनन् गर्न नपाउने बताउँछन् । ‘लकडाउनमा उत्खनन् गरे कारवाही हुन्छ ’, उनले भने,‘नियम मिच्ने अधिकार कसैलाई छैन ।’

तर,राप्ती नदीमा उत्खनन् भइरहेकोप्रति उनले भने, ‘गाउँपालिकाले अनुमति दिएको छ भन्ने सुनेको छु । त्यो काम गलत हो ।’

उत्खनन् रोक्न स्थानीयले जानकारी गराउँदा सुनुवाइ नभएकोप्रति सीडीओ पौडेलले त्यो अवैध नै भएकोले अब अनुगमन गर्ने जानकारी दिए । दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दसँग भने सम्पर्क हुन सकेन । गाउँपालिका अध्यक्ष सहजराम यादवले भने अवैध उत्खनन् गर्ने ठेकेदारको बचाउ गरे ।

‘ठेकेदारले राजश्व तिरेका छन् त्यसैले मेसिन लगाएर उत्खनन् गर्न दिएका हौँ ’, उनले भने, ‘कि ठेकेदारको पैसा फिर्ता गर्नुपर्‍यो कि उत्खनन् गर्न दिनुपर्‍यो । ठेकेदारले अनुमति अनुसार काम गरेका छन् ।’ अध्यक्ष यादवले भने,‘गल्ती गरेको भए हामी ठेकेदारलाई गाली गर्छौ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर