निरा जैरु भन्छिन्- आत्मालोचनासहित स्पष्टीकरण दिन्छु, तर ओलीलाई कसले सोध्ने ? – Nepal Press

निरा जैरु भन्छिन्- आत्मालोचनासहित स्पष्टीकरण दिन्छु, तर ओलीलाई कसले सोध्ने ?

कैलाली । नेपाल कम्युनिस्ट पार्टी एमालेले ११ नेतासँग स्पष्टीकरण सोधेको छ । विघटित प्रतिनिधिसभाका ११ सांसदसँग स्पष्टीकरण सोध्दै एमालेले १० जेठभित्र जवाफ पेस गर्न भनेको छ ।

स्पष्टीकरण दिनेमा सुदूरपश्चिमका ३ जना नेता परेका छन् । अछामबाट विघटित प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद भीमबहादुर रावल, डडेल्धुराबाट समानुपातिक निर्वाचित नीरादेवी जैरु र कैलालीबाट समानुपातिक निर्वाचित सांसद लक्ष्मीकुमारी चौधरीसँग स्पष्टीकरण सोधिएको हो ।

जैरुले अहिलेसम्म आफूसँग स्पष्टीकरण पत्र नपुगेको बताइन् । उनले स्पष्टीकरण पत्र पुगे लगत्तै स्पष्टीकरण बुझाउने जानकारी दिइन् ।

‘मलाई स्पष्टीकरण सोधिएको कुरा पनि मिडियामार्फत् नै मैले जानकारी पाएकी छु’ उनले नेपाल प्रेसलाई भनिन्, ‘अहिलेसम्म आधिकारिक पत्र भने आएको छैन ।’

उनले पत्र आए लगत्तै पार्टी एकता बचाउन आत्मालोचनासहित स्पष्टीकरण बुझाउने बताइन् ।

‘पार्टीको स्पष्टीकरण मेरो हातमा आउनु पर्छ’ उनले भनिन्, ‘पाटी एकतालाई बचाउन हामीले आत्मालोचना गर्नुपर्छ भने गर्छौ ।’

उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीबाट अहिलेसम्म विभेदपूर्ण काम भइरहेको आरोप लगाइन् ।

‘दल दर्ता सम्बन्धी अध्यादेश ल्याउँदा महेश बस्नेतले जसपाको सांसदलाई ल्याएर सुन्धारामा राख्दा उहाँले स्पष्टीकरण दिनुपर्दैन भने हामीले पनि दिनुपर्दैन होला ’ उनी भन्छिन्, ‘एमालेको विधानले महेश बस्नेतलाई र निरा जैरुलाई फरक नगरोस् । ’

जैरुले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्रीलाई पनि स्पष्टीकरण सोध्न आवश्यक रहेको बताइन् ।

‘फागुनको २८ गते एमालेको विधानले नचिनेका २३ जनालाई राखेर कमिटी बिस्तार गर्ने अध्यक्षलाई कसले माग्ने स्पष्टीकरण’ उनले भनिन् ।

उनले रामबहादुर थापा बादललाई सूर्य चिन्ह्रबाट राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बनाएकोप्रति पनि अध्यक्ष ओलीसँग स्पष्टीकरण सोध्न आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘एमालेको सदस्य नै नभएको माओवादी केन्द्रले कारबाही गरिसकेको बादल कमरेडलाई सूर्य चिन्ह्रको उम्मेदवार बनाउनेलाई कसले कसले माग्ने स्पष्टीकरण ?’

उनले माधव समूहले गर्ने निर्णयमा आफू पनि सहमत हुने बताइन् ।

‘एमालेभित्र हामीसँग टिम छ , हामीले वरिष्ठ नेतामा विश्वास राखेका छौँ ’उनले भनिन् ‘उहाँले गरेको निर्णयमा हामी अडिग छौँ ।’

काँग्रेस सभापति शेरबहादुर देउवालाई शुक्रबार प्रधानमन्त्री बनाउने प्रस्ताव गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २६ सांसदले हस्ताक्षर गरेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेताद्वय नेपाल, झलनाथ खनालसहित भीमबहादुर रावल, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, मुकुन्द न्यौपाने, पुष्पाकुमारी कर्ण, कलिला खान, नीरादेवी जैरु र लक्ष्मीकुमारी चौधरीसँग स्पष्टीकरण सोध्ने निर्णय बैठकले गरेको हो ।

स्पष्टीकरण सोधिएका नेताले दिने जवाफका आधारमा पार्टीले थप निर्णय गर्ने पनि बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर