तालिम लिएपछि तरकारी उत्पादनमा जुटे किसान – Nepal Press

तालिम लिएपछि तरकारी उत्पादनमा जुटे किसान

रुपन्देही । रूपन्देहीको सैनामैना नगरपालिकाले सञ्चालन गरेको कृषक पाठशालाबाट तालिम लिएर कृषकले व्यवसायिक तरकारी उत्पादन गर्न शुरु गरेका छन् ।

यसले गर्दा नगरमा करिब ५ प्रतिशत तरकारी उत्पादनमा वृद्धि भएको नगरपालिकाको दाबी छ । गत आर्थिक वर्षबाट २ वटा वडाबाट नगरपालिकाले कृषक पाठशाला सञ्चालन गरेको थियो । पाठशालबाट कृषक लाभान्वित भएपछि नगरपालिकाले यसै आर्थिक वर्षमा ११ वटै वडामा पाठशाला सञ्चालन गरेको थियो ।

जसबाट २ सय ७५ कृषक प्रत्यक्ष तरकारी उत्पादनमा लागेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले ४ महिना सञ्चालन गरेको गुणरस्तरिय बाली उत्पादन आईपिएम प्रविधिको तालिममा सहभागिता जनाएपछि कृषकले व्यवसायिक तरकारी उत्पादनमा लागेका हुन् ।

कृषकले आलु, बन्दा गोपि , फुल गोपी , टमाटर खेतीतर्फ आकृषित भएका हुन । कृषकहरूलाई कृषि क्षेत्रका ज्ञान र सीप प्रदान गरी गुणस्तरीय बाली उत्पादन गर्न सिकाउने उद्देश्यले कृषि पाठशाला सञ्चालन गरिएकोे सैनामैना नगर प्रमुख चित्रबहादुर कार्कीले बताए । किसानलाई परम्परागत र आईपिएम प्रविधिबाट खेती गर्न पाठशालामा सिकाउने गरेको उनले बताए ।

यसले गर्दा नगर भित्र आर्गनिक तरकारी उत्पादन हुँदै आएको र नगरपालिकालाई तरकारीमा आत्मनिर्भर गराउँदै लैजाने कार्कीले बताए । सैनामैनालाई कृषि र पशुपालन हबका रुपमा विकास गर्ने लक्ष्य अनुसार कृषकहरुलाई प्राविधिक तालिम, बिउ, मल र मेसिनरी यन्त्रमा अनुदान दिँदै आएको कार्कीले बताए ।

सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले कृषक पाठशालाले कृषकलाई आधुनिक तरिकारले तरकारी उत्पादन गर्न सिकाउँदै नगरको तरकारी उत्पादनमा ५ प्रतिशतले बृद्धि भएको बताए । अर्गानिक तरकारी उत्पादनमा नगरमा करिब २५ प्रतिशत जनचेता बृद्धि भएको उनको भनाई छ ।

यो आर्थिक वर्षमा ११ लाख बजेट छुट्टाएर ११ वटै वडामा पाठशाला सञ्चालन गरिएको पन्थीले बताए। कृषक पाठशलालाई नगरपालिकाले निरन्तरता दिदै तरकारी उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्य रहेको उनले बताए । कृषकहरुलाई कृषि उत्पादनका विषयमा व्यवहारिक र प्राविधिक ज्ञान–सिप प्रदान गरिएको सैनामैना नगरपालिका कृषि शाखा प्रमुख सृजना सुवेदीले जानकारी दिइन् ।

कृषि पाठशाला कक्षामा खेतीयोग्य जमिनमा शत्रु जीव र मित्र जीव अर्थात बालीलाई फाइदा पुर्याउने र बेफाइदा पुर्याउने जिव कसरी पहिचान गर्ने, जमिनलाई माटोको सुरक्षा गर्दै उत्पादनमूलक कसरी बढाउने, खाद्यान्न र तरकारी उत्पादन गर्ने तरिका, उन्नत बिउबिजन, मलजल प्रयोग, प्राविधिक ज्ञान लगायतका विषय सिकाइएको सुवेदीले बताइन् ।

पाठशालामा परम्परागत तरिकारले गरिने खेती प्रणाली र आईपिएम प्रविधिबाट गरिने खेतीको फरक किसानलाई थाहा हुने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर