मेरो स्मृतिमा पशुपति दाइ !

भनिन्छ- मुत्यु दुई प्रकारका हुन्छन् । पहाड भन्दा गह्रुंगो र प्वाँख भन्दा हलुङ्गो । सिंगो जीवन नेपाली वाम आन्दोलनप्रति समर्पित गर्नुभएका पशुपति चौलागाईं दाइको महाप्रस्थान साँच्चिकै पहाड भन्दा गह्रुंगो सावित भयो । उहाँको अवसानबाट हजारौं हजार मनहरु शोकाकुल बने । फेसबुक, ट्वीटर लगायतका सामाजिक सन्जालहरु सम्मान र श्रद्धाका शब्दहरुले रंगिए । मिडियामा शोक सन्तप्त समाचारहरु छाए ।

दोलखाली मात्रै हैन, उहाँ नेपाली राजनीतिको पछिल्लो छिमलमा समेत लोकप्रिय हुनुहुन्थ्यो । त्यही भएर उहाँको दुखद अवसानमा अनगिन्ती मनहरु पहाडजत्तिकै गह्रुंगो बने ।

नेपाली बाम आन्दोलनका एक अथक नायक पशुपति दाइ हामीबीचबाट सदाका लागि विदा हुनु भएको १३ दिन बितिसकेको छ । संस्कार अनुसार १३ औं पूण्यतिथिका कार्य भने हिजो नै सम्पन्न भएको छ । अत्यन्तै दुखित वनाइरहेको यो क्षणमा उहाँप्रति गहिरो श्रद्धान्जलीका शब्दहरु अर्पण गर्दछु ।

उहाँको निधनबाट म साँच्चिकै निःसब्द छु, भावविह्रवल छु । मनले पत्याउनै मानिरहेको छैन कि, पशुपति दाइ हामीमाझ हुनुहुन्न, उहाँ नफिर्ने अनन्त यात्रामा गइसक्नु भएको छ । अस्पतालका शय्यामा कोरोना जिवाणुसँग लडिरहँदाका अन्तिम क्षणहरुमा उहाँले फेर्नुभएका सकसका श्वास मैले फोनवार्ताबाट अनूभुत गरेको थिएँ । सकसपूर्ण त्यो अवस्थाबाट पशुपति दाइलाई सहज बनाउन सकिन्छ भन्ने लागेर मैले अर्को राम्रो कोरोना केयर अस्पतालमा सर्न आग्रह गर्दा उहाँले भन्नुभएको थियो– ‘यहाँ नै ठीक हुँदै गएको छ । छिट्टै हाम्रो भेट हुनेछ ।’ ती आशा जगाउने उहाँका अन्तिम शब्दहरु फोन सम्पर्कबाट सुन्दासुन्दै अन्ततः उहाँको पार्थिव शरीरमा राष्ट्रिय झण्डा चढाएर अन्तिम सलाम अर्पण गर्ने दुःखद क्षण आइलाग्यो । पशुपति आर्यघाटमा उहाँको अन्तिम दाहसंस्कार भइरहँदा सिंगो परिवेश रोइरहेको मलाई महशुस भयो ।

सलाम छ, पशुपति दाइ ! तपाईँले नेपाल र नेपालीका मुक्तीका हरेक आन्दोलनहरु जित्नुभयो । विद्यार्थी, युवा, मजदूर, किसानलगायत पार्टीका हर मोर्चाहरु इमानपूर्वक सम्हाल्नु भयो र जित्दै अगाडी वढ्दै जानुभयो । म र म जस्ता थुप्रै नेता कार्यकर्ताहरुलाई नेपाल कम्युनिष्ट आन्दोलनका झण्डामुनी गोलवन्द गर्नुभयो । नेतृत्व गर्नुभयो र नेतृत्व गर्ने सक्षम जनशक्ति निर्माण गर्दै परिवर्तनका हरेक लडाइँहरुमा विजय प्राप्त गर्दै जानुभयो । तर, निर्दयी कोरोना जिवाणुले भने तपाईलाई झुक्याएर हरायो । उहाँलाई बचाउन नसकिएकामा केहीदिन मेरो मथिङ्गलभित्र प्रश्नहरु घुमिरह्यो । सहज हुँदाहुँदै झुक्याएर मृत्युवरणको अवस्थामा पुग्नुभएको केहीदिनसम्म उहाँको नामको अगाडी स्वर्गीय भन्न र लेख्नै सकिनँ । अझै आँट आइरहेको छैन ।

उहाँले उपचार गराइरहेको मनमोहन अस्पतालबाट सैनिक अस्पतालमा सार्न सुस्वास्थ हस्पिटलका सुदर्शन वस्नेतजी लगायतको सल्लाह वमोजिम प्रधान सेनापतिलाई सम्पर्क गरेँ । उहाँले केही समयपछि सैनिक अस्पतालबाट वेड खाली भएको जानकारी आएपछि सुदर्शन र छोरा सुमनलाई बताएँ । तर, दाइले ठीकै उपचार भैरहेको र थप केही आवश्यकता परे छोरा सुमन र छोरीको नम्वर दिनुहुँदै सम्पर्कमा रहन वताउनुभयो ।

त्यसपछि मैले हरेकदिन विहान र वेलुकी सुमनसँग पशुपति दाइको स्वास्थ्य अवस्थाबारे अपडेट भैरहेँ । अस्पतालका डा. राजनसँग पनि नियमित सम्पर्क गरेर जानकारी लिइरहन्थे । अचानक, वैशाख २७ गते पशुपति दाइ आफैंले सम्पर्क गरेर ‘पार्वत मलाई अप्ठरो हुँदै गयो, मलाई हस्पिटल चेन्ज गरिदिनु’ भन्नु भयो । तत्काल पुनः प्रधानसेनापतिसँग आग्रह गरेँ । सैनिक अस्पतालबाट डा. भगवती प्रधानले फोन गरेर ‘माननीय पशुपति चौलागाईँलाई लिएर आउनु होला’ भन्नुभयो । तर दोस्रो पटक पनि मनमोहन अस्पतालबाट अर्को अस्पताल सर्ने कुरा हुन सकेन । मनमोहन अस्पतालले ‘कोरानाको औषधि उही हो, उपचार एउटै हो,’ भन्ने सल्लाह भएपछि हामी त्यही भरमा पर्‍यौं । अस्पतालको माग वमोजिम स्वास्थ्य मन्त्रीसँग आग्रह गरी कोरोनाको सिकिस्त विरामीलाई प्रयोग गरिँदै आएको रेम्डेसिविर पनि उपलब्ध गराएका थियौं । उक्त सन्दर्भमा उहाँको भाइ हेमन्तसँग पनि सम्पर्क भईरहेको थियो ।

वैशाख २७ गतेको दिन । म अत्यन्तै व्यस्त थिएँ । प्रतिनिधिसभामा सम्माननीय प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने दिन थियो । त्यो दिन पनि अर्को अस्पताल सर्ने नसर्ने निर्णय हुन नसकेपछि सुमनलाई डा. प्रधानसँग समन्वय गर्नका लागि नम्बर दिएँ । प्रतिनिधिसभामा मतदान सकेपछि दाइको स्वास्थ्यस्थितिबारे सुमनसँग जानकारी लिइरहेको थिए । वैशाख २८ गते विहानै सम्पर्क गर्दा पनि दाइको स्वास्थ्य राम्रो थियो । वेलुकी ५ बजेसम्म अवस्था ठीक रहेको जानकारी सुमनले गराउनुभयो ।

७ वजेसम्म ठीक भएको खवर आइरहेकै थियो । तर अचानक ८ वजेतिर सुमनले रुदै बुबाको अवस्था गम्भीर भएको भन्दै फोन गर्नुभयो ।

त्यसलगत्तै वागमती प्रदेशसभा सदस्य रचना खड्कालाई जानकारी गराउँदै म अस्पताल पुुगें । म पुगेको आधाघण्टापछि चिकित्सकले आफन्तको रोहवरमा मृत घोषणा गरे । त्यो दुखद क्षण मनभित्र भयानक ठूलो पहाडले थिचेजस्तै भयो, आँशु थाम्नै सकिएन । भयङ्कर शोकको अनुभूति भयो । त्यहाँ उपस्थिति सवै रुन कराउन थाले ।

दोलखाको माटोमा जीवनको पहिलो पाइला टेकेर, हुर्केर राजनीति चेत भरिनेवित्तिकै कम्युनिष्ट अन्दोलनमा समाहित भएर पशुपति दाइ त्यहीँ आन्दोलनको नेताकै हैसियतमा अस्ताउनु भयो । कोरोनाको निर्दयी जिवाणुले उहाँको प्राण हरण गरे पनि उहाँले दोलखा र सिंगो मुलुकप्रति गरेको योगदान सदा जीवित रहिरहने छ । उहाँले वनाउनु भएको आस्थाको धरोहर, निर्माण गर्नु भएको राजनीतिक छवि र देखाउनु भएको नैतिक चरित्रको असल राजनीतिक संस्कार भने कहिल्यै मर्ने छैन र एकजना उहाँको अनुयायीको नाताले मर्न दिइने पनि छैन । उहाँले देखाउनु भएको बाटो बिराउने पनि छैन ।

दोलखाको परिवेशमा वसेर नियाल्दा पशुपति दाइले धेरै जिम्मेवारी यो पुस्तालाई छाडेर जानु भएको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना पश्चात दोलखामा कम्युनिष्टको विऊ रोप्ने वेलादेखि नै उहाँको योगदान छ । २०३६/३७ सालमा उहाँ तत्कालीन पञ्चायविरुद्धको आन्दोलनमा समाहित हुनुहुन्थ्यो । तत्कालीन अवस्थामा वरपर पञ्चायतको समर्थकहरुले घेरेको दोलखाको नाम्दूस्थित स्कुलको सभापतिको जिम्मेवारीमा वसेर उहाँले निरङ्कुश पञ्चायती शासन पतन गराउन जेहाद छेड्ने हिम्मत देखाउनु भयो । सानैमा अनेरास्ववियु एकताको पाँचौको जिल्ला कमिटिमा रहेर नेतृत्व गर्दै २०३८ मंसिर ८ गते कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभयो ।

वाम आन्दोलनमा अविचलित योद्धा पशुपति दाइलाई राजनीतिमा एक इमानन्दार नेताको रुपमा दोलखाली जनताले चिन्दछन् । असल चरित्र उहाँको पहिचान हो । कसैप्रति इश्र्याभाव नराख्ने, सवैलाई समान ढंगले व्यवहार गर्ने उहाँको स्वभाव थियो । गुटगत स्वार्थभन्दा माथि उठेर सोच्ने उहाँकै संगतबाट मैले राजनीतिक इमान सिकेको छु । आफुले त्याग गरेर भए पनि कतिपय अवसरहरु क्षमता र सम्भावनाको अध्ययन गरी अरुलाई नेतृत्व हस्तान्तरण गर्ने आचरण नै उहाँको कुशल नेतृत्वको खास विशेषता हो भन्ने मेरो ठम्याइ छ ।

पशुपति दाइसँगको मेरो संगत पञ्चायत कालदेखि नै हो । २०३७ साल चैत १४ गते पञ्चायतविरोधी आन्दोलनको क्रममा उहाँसित भेट भएको थियो, त्यस दिनबाट संगत घनिष्ट हुँदै गयो । त्यो वेला म कक्षा ६ मा पढ्दै थिएँ । अनेरास्ववियुको जिल्ला कमिटि पहिलो अध्यक्ष भएको रोहितचन्द्र खत्रीको कमिटीमा म पनि सदस्य थिएँ । पशुपति दाइ उपाध्यक्ष हुनुहुन्थ्यो । त्यहीक्रममा उहाँ शिक्षक जागिरमा प्रवेश गर्नुभयो ।

संयोगवस मेरो जन्मथलो दोलखाको सुरीस्थिति मेरै घरमा वसेर शिक्षण कार्यमा संलग्न हुनुभयो । त्यो वेला एउटै घरमा साथसाथै बसेर धेरैकुरा सिक्ने मौका मिल्यो । त्यो वाल्यकाल सँधैका लागि सम्झिरहने घटना वन्यो । त्यही सेरोफेरो मेरो पनि सक्रिय राजनीतिको प्रवेशविन्दू थियो, उहाँसँग प्रभावित हुँदै गएँ । म उहाँका धेरै पक्षहरुसँग प्रभावित थिएँ, उहाँले पनि मेरा धेरै पक्षहरुको प्रसंशा गर्नुहुन्थ्यो, हमेशा मलाई उत्पेरित गरिरहनु हुन्थ्यो । मेरो राजनीतिक जीवनका घुम्तीहरुमा सही दिशा र सही गति दिन उहाँले मिलाइदिनुभएको सन्तुलन मैले भुलेको छैन । र, कहिल्यै भुल्ने छैन । राजनीतिक जीवनको यो मोडसम्मको हर सफलतामा उहाँको प्रत्यक्ष अप्रत्यक्ष हात छ ।

मैले पार्टीभित्रबाट प्राप्त गर्ने हर अवसरहरुमा उहाँको स्वीकृति र समर्थन हुन्थ्यो । एमाले दोलखाको पार्टी अध्यक्ष हुँदा होस या संविधान सभा सदस्य, प्रतिनिधि सभा सदस्यको टिकटको सन्दर्भमा मैले उहाँकै स्वीकृति र सहयोगमा प्राप्त गरेँ । कतिपय सवालमा उहाँले नै मलाई जिम्मेवारी लिन प्रस्ताव गर्नुहुन्थ्यो भने कतिपय छलफलबाट जिम्मेवारी पाउँथें । म मन्त्री हुँदा पनि उहाँ निकै खुसी हुनुभयो, मलाई उक्त जिम्मेवारीमा वहन गर्न निकै सुझावहरु दिनुभयो । उहाँले विभिन्न प्रसंगमा अरुसँग मेरो सन्दर्भको कुरा निकाल्दा प्रशंसा र हौसला वढाउने वर्णन गर्ने गर्नुभएको बारे मैले धेरैबाट सुनेको छुँ । उहाँको मप्रतिको हेर्ने दृष्टिकोणबाट मलाई धेरै प्रेरणा र खुसी मिलेको अनुभूति छ ।

दोलखाका पहिलो पुस्ताका वाम आन्दोलनका नायकहरुको सूचीमा पर्ने उहाँको जीवन कठीन, दुःखदायी र संर्घषका कथाहरुले भरिएका छन् ।

निम्न मध्यमवर्गीय परिवारमा जन्मिनु भएका उहाँले पार्टीको पूर्णकालीन सदस्य भै सक्रिय हुँदा आइपर्ने हरेक कठीन वाटोहरु सजिलैसँग पार गर्नुहुन्थ्यो । तत्कालीन पञ्चायती सिडिओको कुटाइको असरले उहाँलाई निकै समयसम्म विरामी पारेको कुरा उहाँले वताइरहनु हुन्थ्यो । पञ्चायती शासकले उहाँप्रति सधै निगरानी राख्थ्यो र पटकपटक गिरफ्तारी गथ्र्यो, यातना दिइरहन्थ्यो । जस्तोसुकै कठीन परिस्थितिमा इमान र आन्दोलनबाट उहाँ कहिल्यै बिचलित हुनुु भएन ।

२०४६ सालमा शिक्षकको जागिर छाडेर उहाँलाई पार्टीले पूर्णकालीन सदस्य बनायो । उहाँ नेकपा माले दोलखाको सचिव बन्नुभएपछि पार्टीले नयाँ गतिमा उचाई लिएको स्मरण ताजै छ । २०५४ साल युवा संघको केन्द्रीय अध्यक्षसमेतको जिम्मेवारी पाएपछि उहाँको राजनीतिक यात्राले केन्द्रीयस्तरमा प्रवेश ग¥यो । २०५६ सालमा दोलखा क्षेत्र नम्बर १ को सांसद र २०७० मा समानुपातिक सांसद बन्नुभयो । पार्टीको पोलिटव्युरो सदस्य वन्नुभयो । हाल बागमती प्रदेश सभा सदस्य भएकै वेला पार्टीभित्रको किचलोले उहाँ निकै चिन्तित हुनुहुन्थ्यो । नेकपाभित्र राजनीतिक गुटउपगुटको खेल हुन थालेपछि पनि उहाँ र म विविध कोणबाट छलफलमा सहभागी भयौ । निकै चिन्तन मनन गर्‍यौं– खासगरी दोलखा र समग्र देशको राजनीतिका बारेमा । एकदिन म, पशुपति दाइ र दोलखाका नेताहरुसँग सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कक्षमा बस्यौ । २०७७ पुस ५ गते संसद विगठनपछि विकसित पार्टीभित्रका खेमाका बारे छलफल गर्‍यौं । हामीले उहाँलाई दोलखाको राजनीतिक परिस्थिति हेरेर एकै ठाउँमा वस्न अनुनय गर्‍यौं ।

त्यसवेला उहाँले खासगरी मेरा सन्दर्भमा भन्नुभएको थियो, ‘करिब ४० बर्ष सक्रिय राजनीति जीवनमा पार्वतको राजनीतिक इमान्दारिता, आर्थिक इमान्दारिता र नैतिक चारित्रिक इमान्दारिताबाट म प्रभावित छु । वैचारिक सवालमा लामो यात्रा गरेका हामी अव एक ठाउँमा उभिन सकेनौ र फरक भएरै जानुपर्ने भयो ।’ उहाँले त्यसो भनिरहँदा हामी सबै भावुक थियौ । दुखित हुँदै राजनीतिमा फरक वाटाहरु पक्रन पर्ने अवस्थामा आइपुगेकाप्रति भावविह्ल भएको त्यो क्षण स्मरणमा सदा रहिरहने छ । त्यसपछिका दिनहरुमा पनि हामी वारम्बार अन्तरसम्वादमै हुन्थ्यौ । कोरोना महामारीका कारण भौतिक रुपमा भेट नहुँदा पनि फोनवार्ता चलिनै रहे । महामारीको चपेटामा विश्व नै आक्रान्त भएका वेला पशुपति दाइ पनि त्यसैको चपेटामा पर्नुभयो । एउटा जित्न सकिने कोरोनाविरुद्धको लडाइँमा उहाँ हार्नुभयो ।

भौतिक रुपमा उहाँको अवसान भए पनि नेपाली वाम आन्दोलनप्रतिको उहाँको योगदानको अवसान कहिल्यै हुनेछैन । एउटा इमान्दार राजनीतिकर्मीको रुपमा, समाजसेवीको रुपमा, अँध्यारोबाट उज्यालोतिरको परिवर्तनकारी यात्राको योद्धाको रुपमा, सामाज परिवर्तनको नेतृत्वकर्ताको रुपमा उहाँप्रतिको सच्चा श्रद्धा मनभित्र सदैव जीवित रहिरहने छ । हिँडदाहिँड्दैका उहाँका अधुरा पाइलाहरुलाई, देख्दादेख्दैका उहाँका अपुरा सपनाहरुलाई निरन्तर–निरन्तर पछ्याउँदै अघि बढ्नुपर्छ भन्ने मैले ठानेको छु । उहाँका योगदानहरुको सदा संरक्षण गर्नपर्नेु दायित्व पनि पार्टी र हाम्रो हो । र त्यसप्रति म सदैव समर्पित रहनेछु । यसका लागि उहाँका नाममा परिवारका साथ–सहयोगबाट प्रतिष्ठान स्थापना गर्नुपर्छ भन्ने मेरो सोच रहेको छ । त्यो प्रतिष्ठान परोपकारी संस्थाको रुपमा सञ्चालित हुने छ र त्यसमा पार्टी र मेरो हरसंभव सहयोग रहनेछ ।

प्रिय पशुपति दाइ, माफ गर्नुहोला– तपाईँलाई बचाउन त सकेनाैं । तर, तपाईले निर्माण गर्नुभएको बाटोलाई गन्तव्यसम्म पुर्याउन अहोरात्र हिँडिरहनेछु । तपाईले रोप्नु भएको राजनीति र समाज परिर्वतनको विरुवालाई मलजल गर्दै फक्राउन, फुलाउन निरन्तर लागिरहनेछु । तपाईप्रति भावपूर्ण श्रद्धासुमन !

(गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्री हुन् ।)

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *