कोरोनाको ‘हटस्पट’ जनकपुरधाममा भीडभाड रोक्न प्रशासन असफल (तस्बिरहरु) – Nepal Press

कोरोनाको ‘हटस्पट’ जनकपुरधाममा भीडभाड रोक्न प्रशासन असफल (तस्बिरहरु)

जनकपुरधाम । कोरोना महामारी फैलन नदिन सरकारी नीतिअनुसार स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेका छन् । निषेधाज्ञाको उद्देश्य संक्रमण दरको नियन्त्रण गर्नु नै हो ।

तर, प्रदेश २ को अस्थायी राजधानी रहेको जनकपुरधाममा निषेधाज्ञाको पालना गराउन धनुषा प्रशासन असफल भएको छ । कोरोना संक्रमण तीब्र गतिमा बढ्न थालेपछि वैशाख २२ गते जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञा लगाए । तर बजारमा देखिएको चहल–पहलले निषेधाज्ञा अन्त्य भएको जस्तो लाग्छ ।

बजार क्षेत्रका अधिकांश पसल खुल्न थालेका छन् । सडकमा सिटी रिक्सा यात्रु ओसार्न सुरु गरिसके । ठेला फलफूल र पसलहरुमा विभिन्न समान बेच्दा न व्यवसायीले स्वास्थ्य मापदण्ड अपनाएको देखिन्छ, न सेवाग्राही अर्थात् सर्वसधारण जनता सचेत देखिन्छन् । प्रहरीले पक्रिन छाडेपछि त मास्क प्रयोग नगर्नेको संख्या बढ्न थालेको छ ।

गृह मन्त्रालयले शनिवार मात्र ७७ वटै जिल्ला प्रशासन र सुरक्षा निकायलाई पत्राचार गर्दै ‘जनतालाई घरबाट निस्किनै नदिनू’ भनेर निर्देशन दिएको थियो । तर, धनुषामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न स्थानीय प्रशासनले कुनै चासो देखाएका छैन । यस विषयमा बुझ्न प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासँग सम्पर्क स्थापित हुन सकेन ।

जनकपुधाम उपमहानगरपालिका कोरोनाको हटस्पट बनेको छ । अहिले उपमहानगरमै करिब १२ सय कोरोनाका सक्रिय संक्रमित छन् । र उनीहरु घरमै छन् । स्वास्थयकर्मीले निगरानी नगर्दा कतिपयले त घुमफिर पनि गर्छन् । यस्तो बेला बजारमा देखिन थालेको भीडभाडले जनकपुरमा कोरोनाले भयावह रुप लिने देखिन्छ ।

हेर्नुस् तस्बिरहरु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर