संक्रमितको विश्वास जित्दै बुटवल उपमहानगर, नगरप्रमुखको प्रभावकारी सक्रियता – Nepal Press

संक्रमितको विश्वास जित्दै बुटवल उपमहानगर, नगरप्रमुखको प्रभावकारी सक्रियता

रुपन्देही । कोरोना संक्रमणको हटस्पट बनेको रुपन्देहीमा सबैभन्दा बढी प्रभावित बुटवल उपमहानगर नै हो । महामारीले आक्रान्त नगरवासीलाई महामारीविरुद्ध अभिभावकत्व लिनु चुनौती नै थियो । बुटवलका मेयर शिवराज सुवेदीको भूमिकाले कोरोना महामारीको यो लहरमा पनि उत्तिकै प्रभावकारी देखियो ।

उपमहानगरको नियमित काम मात्रै हैन र कोरोना संक्रमणमा बिरामी परेका परिवारका सदस्यको हेरचाह दैनिकीजस्तै बनेको छ, उनको टिमको । अहिले जिल्लामा सबैभन्दा धेरै सकृय संक्रमित रहेको पालिका र सबैभन्दा धेरै संक्रमितको उपचार गर्ने कोरोना विशेष अस्पताल उपमहानगरकै समन्वयमा अगाडि बढेको छ । यसका साथै एन्फा टेक्निकल सेन्टरमा बनाइएको आइसोलेसन सेन्टरको व्यवस्थापन पनि उपमहानगरले गरिरहेको छ ।

मुलुककै प्रमुख आर्थिक, व्यापारिक, पर्यटकीय केन्द्रका रुपमा र लुम्बिनी प्रदेशको आर्थिक केन्द्रका रुपमा रहेको, मुलुकका दुई प्रमुख राजमार्गले जोडिएको, अन्तर्राष्ट्रिय सीमा नाका नजिकै रहेको बुटवलमा महामारीसँगै अरु धेरै जिम्मेवारी आइपरेका छन् । मेयर सुवेदीले त्यस्ता धेरै जिम्मेवारीको कुशलतापूर्वक निर्वाह गर्दै प्रदेश स्तरको अभिभावकीय भूमिका निर्वाह गरेका छन् ।

महामारीका दुवै लहरमा बुटवलले नमूना काम गरेको छ र त्यसको समग्र नेतृत्व मेयर सुवेदीले गरेका छन् । नगरपालिका संघ लुम्बिनी प्रदेशका संयोजक, नेकपा एमाले रुपन्देहीका अध्यक्षसमेत रहेका मेयर सुवेदीलाई स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी तथा बुटवलका सामाजिक संघसंस्था र निजी क्षेत्रले पनि उत्तिकै समन्वय गरेका छन् ।

महामारीविरुद्ध जनेचतनामूलक कामका साथै जोखिम न्युनीकरणमा सहकार्यका साथ अभियान सञ्चालन भएका छन् । संक्रमितको घरदैलोमै पुगेर आयुर्वेद औषधि वितरण गर्ने, मनोबल बढाउन स्वास्थ्यलाभको कामना गर्ने काम मुलुकमै नमूना काम हो ।

यसका साथै समुदायमा स्वास्थ्य समस्याको पहिचान र तिनको समाधानका उपायको खोजी, बुटवल र आसपासमा काम गर्न आएका विभिन्न जिल्लाका मजदुरको अवस्थाको सोधीखोजी र उद्दारदेखि राहत वितरणलाई निरन्तरता राखेका छन् ।

विपन्न परिवारलाई राहत वितरण, पठनपाठन प्रभावित भएका बालबालिकालाई टेलिभिजन र अनलाइनमार्फत शिक्षण सिकाई कार्यक्रम पहिलो लहरका केही उदाहरण हुन् ।

पछिल्लो समय अक्सिजन बैंक स्थापना गरेर स्वास्थ्यकर्मीको सिफारिसका आधारमा घरघरमा सिलिण्डर पुर्‍याउनेदेखि लक्षित समूहलाई निःशुल्क पीसीआर परीक्षण गर्ने कामलाई निरन्तरता दिएको नगर योजना आयोगका सदस्य सचिव मेघराज भट्टराई बताउँछन् ।

कठिन र संकटग्रस्त समयमा नेतृत्वदायी भूमिका

महामारी यसै पनि कठिनपूर्ण र संकटग्रस्तको समय हो । त्यसमा पनि महामारीको दोहोरो लहर झनै अत्यासलाग्दो छ । संकटकै बेलामा खास नेतृत्वको पहिचान हुने गर्दछ ।

पहिलो लहरमा बुटवलमा क्वारेन्टिन निर्माण गर्ने, विशेष आइसोलेशन केन्द्र निर्माण गर्ने, लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा कोरोना विशेष अस्पताल निर्माण र सञ्चालन गर्नेेदेखि संक्रमितका घरदैलोमा आयुर्वेद औषधि, योगा अभ्यास र सात्विक भोजनको व्यवस्था मिलाउँदै कठिनपूर्ण समयमा बुटवलले गरेको नमुना काम हो ।

अहिले दोस्रो लहरमा परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङ, आइसोलेशन निर्माण, घरघरमा आयुर्वेद र अक्सिजन सिलिण्डरसमेत निशुल्क पुराएर बुटवलले अर्को नमुना कामको दृष्टान्त पेश गरेको छ । आइसोलेशनमा बसेका बिरामीलाई लक्षित गरेर अक्सिजन बैंक सेवा सञ्चालन गर्ने पालिका बुटवल नै मुलुकमा पहिलो हो ।

विज्ञसँग परामर्श, सरोकारवालासँग सहकार्य र समूहमा विश्वास

विज्ञसँग परामर्श, सरोकारवालासँग सहकार्य र टिमवर्कमा विश्वास गर्दा नै उपलव्धि हासिल हुन्छ भन्ने कुरामा नगर प्रमुख सुवेदी दृढ छन् । लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई, मेसु डाक्टर राजेन्द्र खनाल, चिकित्सकहरु नन्दु पाठक, सुदर्शन थापालगायत, चिकित्सक, स्वास्थ्यकर्मी, प्राविधिकदेखि आयुर्वेद र योगाका विज्ञहरुसँग प्रमुखको नियमित परामर्श भएको छ । आवश्यकताका आधारमा विभिन्न विषयका विज्ञ र जानकारहरुसंग परामर्श गरेर नै योजना तय र नीति निर्माण गर्ने गरिएको छ । यस्तै प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, सामाजिक संघसंस्था, निजी क्षेत्र र अगुवाहरुसंग उहाँले समयसमयमा परामर्श गरिरहेको उनी बताउँछन् ।

महामारीको बेलामा मेयर सुवेदीको काम गराई र खटाईलाई नजिकबाट नियालेका र बुटवलमा आएर कोरोना जितेका कपिलवस्तुका पत्रकार जानु पाण्डेले बुटवलका मेयर सुवेदीको हँसमुख र हौसला बढाउने शैलीले आफूहरु प्रभावित भएको बताउँछन् ।

उनी गतवर्ष बुटवलको आइसोलेशनमा सेन्टरमा बसेर कोरोना जितेर हालै घर फर्किएका हुन् । उनीसँगै बुटवलकै आइसोलेशनमा बसेका कपिलवस्तुको बाणगंगा नगरपालिका–५, का वडाअध्यक्ष भिष्मराज भुसालले बुटवलका मेयरको भूमिका प्रदेशकै अभिभावकको रुपमा पाएको टिप्पणी गरेका थिए ।

आयुर्वेद चिकित्सा अवलम्बन, करिब ५ हजारलाई घरमै औषधि

आयुर्वेद चिकित्सा नेपालको पुरानो र प्रभावकारी उपचार विधि हो । यसलाई बुटवलले व्यवहारमै उतारेको छ । बुटवलमा संक्रमित भएका करिब पाँच हजार जनालाई आयुर्वेद ओखती वितरण गरिएको छ । बुटवलले सञ्चालन गरेका क्वारेन्टिन तथा आइसोलेशनलाई विश्व स्वास्थ्य संगठनले पूर्ण मापदण्डका रहेको बताएको छ ।

नेपाल सरकारले पनि उत्कृष्टको मान्यता दिएको थियो । आइसोलेशन र क्वारेन्टिन निर्माणकै बेलामा डब्लूएचओका प्रतिनिधिको समेत उपस्थिति थियो । तिनै क्वारेन्टिन र आइसोलेशनमा रहेकालाई योगागुरु, आयुर्वेद विज्ञ विष्णुहरि आचार्यमार्फत योगा सिकाइएको छ । आयुर्वेद औषधि वितरण गरिएको छ ।

सात्विक भोजन, योगाअभ्यास र सकारात्मक सोंच राख्न भन्दै प्रमुखको सन्देशसहित अपीललाई बुटवलका स्वास्थ्य शाखाका प्रमुख उमादेवी थापा, गीतादेवी पाण्डे, कल्पना भट्टराईसहितका जनस्वास्थ्य अधिकृत र वडा तथा टोलस्तरबाट पनि विभिन्न ठाउँमा सञ्चार गरिएको छ ।

विदेशबाट आउनेलाई नाकाबाटै उद्दार गर्न गाडी

कोरोना भाइरसको यो लहरमा पनि बुटवलले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ भने सीमा नाकाबाट आएका मानिसहरुलाई ओसारपसार गर्न छुट्टै सवारी साधनको पनि व्यवस्था गरी सञ्चालनमा ल्याएको छ । तेस्रो मुलुकबाट आउने बुटवलका मात्र नभई लुम्बिनी प्रदेशका अरु जिल्ला, कर्णाली प्रदेश र सुदूर पश्चिमका विभिन्न जिल्लाका नागरिकहरुलाई पनि बुटवलमा होल्डिङ गराएर पठाउने गरिएको छ ।

त्यस्ता नागरिकलाई विमानबाट आउनेलाई विमानस्थलसम्म र पैदलमार्गबाट आउनेलाई बेलहिया नाकाबाटै उद्दार गर्न सवारी साधनको व्यवस्था मिलाइएको छ । चालक सेराज अहमद खानलाई बेलहिया नाकामै खटाइएको छ ।

आश्रममा बसेकाको हेरचाहमा विशेष ध्यान

बुटवललाई बेसहारा, सहयोगापेक्षी सडक मानवमुक्त घोषणा भइसकेको छ । नगर प्रमुख सुवेदीकै विषेश पहलमा मावनताको सहर निर्माणको काम भइरहेको छ । सहयोगापेक्षी सडक मानव भेटिँदासाथ उद्दार गर्ने, आश्रममा राख्ने, खाद्यान्नदेखि औषधोमुलोको व्यवस्था मिलाउने, ज्येष्ठ नागरिकहरुले सञ्चालन गरेका मिलन केन्द्र र विभिन्न ठाउँका आश्रमहरुमा आवश्यक खाद्य सामग्री र औषधि उपलव्ध गराइएको छ । त्यस्ता क्षेत्रको नियमित हेरचाह र रेखदेखका लागि पालो बांढेर कर्मचारी तथा जनप्रतिनिधिलाई विशेष जिम्मेवारी दिइएको छ ।

बुटवलमा घरघरमा सेवा

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले कोरोना संक्रमण नियन्त्रण र उपचार प्रक्रियालाई प्रभावकारी बनाउ समुदायस्तरमा कोरोना परीक्षण गर्नका साथै अक्सिजन संकलन र उपचार सञ्चालन गरेको छ । नगरपालिकाले अहिलेसम्म अस्पतालमा शय्या नपाएका २ सय जनालाई अक्सिजन सिलिन्डरको व्यवस्था गरेको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । अस्पताल बिरामीले भरिएपछि नगरपालिकामा अक्सिजनको माग धेरै भएको उनको भनाइ छ ।

कावा नगरप्रमुखको जिम्मेवारीमा रहेका प्रवक्ता रेग्मीले उपनगरपालिकाले बुटवलको एन्फा एकेडेमीमा आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ भने वडा नं ११ र १३ को नवनिर्मित भवनमा थप आइसोलेशन सेन्टर बनाउने तयारी गरेको जनाए ।

बुटवल उपमहानगरपालिकाले अक्सिजन सेवा शुरु गरेको ५ दिन आइतवारसम्म रााति र दिउसो गरि दुइृ सिफ्टमा चौबिसै घण्टा स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरेर दिनको ५०–५५ जनाको दरले २७० भन्दा बढी कोरोना संक्रमितहरुको घरघरमा पुगेर तिनीहरुको स्वास्थ्य परिक्षण गरेको उपमहानगरपालिकाका योजना आयोगका उपाध्यक्ष मेघराज भट्टराईले जनाएका छन् । उनले तत्काल अक्सिजन आवश्यक परेका २१० जनालाई अक्सिजन सेवा दिएको बताए ।

अक्सिजन बैंक बुटवलका होम आइसोलेसन, सामुदायिक आइसोलेसन र होटल आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुमध्ये मापदण्डका आधारमा तत्काल अक्सिजन उपलब्ध गराउनपर्ने संक्रमितहरुको आपतकालिन सेवाका लागि प्रयोग गरिएको उनको भनाई छ । सञ्चालित बैंकबाट विभिन्न अस्पतालमा रहेका बिरामीहरु, एम्बुलेन्स सेवाहरु र बुटवल बाहेक अन्यत्र स्थानका संक्रमितहरुलाई पनि सेवा दिने इच्छा हुदाँहुदैं पनि नगरभित्रका नागरिकहरुलाई आवश्यकताका आधारमा सेवा दिने गरेको उनको भनाई थियो ।

सहरी कृषि प्रवर्धनमा लागेका किसानलाई प्रोत्साहन

बुटवलले सुरु गरेका फसल धितो राखेर किसानलाई अनुदान, विऊविजन, उपकरण प्रदान, हरितगृह निर्माणदेखि सहरी कृषि  प्रवर्धनका कार्यक्रमलाई मुलुककै नमुना मानिन्छ ।

अहिलेको यो महामारीका बेला बुटवलको सहरी कृषि कार्यक्रम उपयोगी सिद्द भएको छ । किसानलाई जथाभावी विषादी प्रयोग नगर्न आग्रह गर्दै जैविक विषादीमा अनुदान, औषधीय गुणका बालीको बीऊ प्रदान, काममा सघाउन उपकारण प्रदानका कार्यक्रम चलिरहेका छन् ।

भूमि बैंक, श्रम बैंकको स्थापना देखि कृषि उत्पादकत्व बृद्धि गर्न प्रवक्ता रामप्रसाद रेग्मीको संयोजकत्वमा गठन भएको विशेष कार्यदलले अहिले विभिन्न योजना तय गरिरहेको छ । छिमेकका पालिकाका किसान, किसानद्वारा सञ्चालित सहकारी संस्था र कृषि उपज संकलन केन्द्रहरुलाई संरक्षण र प्रवर्धन गरिएको छ । तरकारी उत्पादक किसानहरुको सहकारीमार्फत सहरका नागरिकको घरदैलोमा सुपथ मूल्यको तरकारी तथा दूग्धजन्य पदार्थहरु पुर्‍याइएको छ ।

मेयर युवा इलम कार्यक्रम विस्तार, विदेशबाट फर्किनेलाई रोजगार

बुटवललाई बेरोजगार शून्य घोषणाको तयारीका साथ मुलुकमै नमुना कार्यक्रमका रुपमा मेयर युवा इलम कार्यक्रम सञ्चालनमा छ । यो कार्यक्रम अन्तर्गत विभिन्न विषयमा सीप सिकेकाहरु स्वरोगार बनेका छन् भने कतिपयले सीप सिक्दा सिक्दै रोजगारी पाएका छन् ।

हेवी इक्वीपमेन्ट र हाइड्रोलिक मेसिन, सवारीको मर्मत र सञ्चालन सम्बन्धी तालिम लिएका विभिन्न ठाउँका २७ जनाले युवाले तालिम नसक्दै रोजगारी पाएको प्रशिक्षक राधाकृष्ण देउलाले बताउनुभयो । बुटवलले अहिले महामारीको बेलामा यहीँ कार्यक्रम र उपप्रमुख महिला उद्यमशिलता विकास कार्यक्रमलाई रोजगारी गुमाएर विदेशबाट आउने नागरिकलाई पनि जोड्ने भएको छ ।

श्रम बैंक र भूमि बैंकको अवधारणा ल्याउने काम पनि मुुलुकमै बुटवलमा पहिले भएको हो । बुटवलले यस्तो कार्यक्रम ल्याएको केही समयपछि संघीय सरकारले नीति तथा कार्यक्रममा समेत समावेश भएको थियो ।

उपप्रमुख महिला उद्यमशीलता कार्यक्रम

उपप्रमुखसँग सुत्केरी तथा गर्भवती भेटघाट कार्यक्रम अन्तगर्त महामारीको बेलामा गत वर्ष मात्रै बुटवलमा एक सय जनाभन्दा धेरै महिलाहरुलाई घरमै पुगेर पोषण प्रदान गरिएको छ ।

बुटवलमा सञ्चालनमा रहेको उपप्रमुख महिला उद्यमशीलता कार्यक्रम पनि मुलुकमा नमुना कार्यक्रम बनेको छ । महिलाहरुले विभिन्न विषयमा सीप सिक्ने र त्यसलाई व्यवहारिक बनाउने काम गरेका छन् । अहिले महामारीको बेलामा महिलालाई समूह मार्फत् सामुहिक खेतीमा प्रोत्साहित गर्ने, उद्यममा आकर्षित गर्ने, जडीबुटी खेती गर्ने र स्वरोजगार बनाउँदै उत्पादनका काममा केन्द्रित गराइको उपप्रमुख आचार्यले बताइन् ।

 


प्रतिक्रिया

One thought on “संक्रमितको विश्वास जित्दै बुटवल उपमहानगर, नगरप्रमुखको प्रभावकारी सक्रियता

  1. जुन नगरपालिकामा अक्सीजन नपाए्र विरामीले ज्यान गुमाए तिनैको गुनगान । देशमा शबैभन्दा असफल नगरपालिका हो कोरोना नियन्त्रणको सवालमा । कति जनाले अक्सीजन नपाएर बुटवलमा मृत्यु भयो त्यसको जवाफ छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर