रुपन्देहीमा ओरालो लाग्दै कोरोना ग्राफ – Nepal Press

रुपन्देहीमा ओरालो लाग्दै कोरोना ग्राफ

रुपन्देही । कोरोना संक्रमणको दोस्रो लहरमा केन्द्र बनेको रुपन्देहीमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या निरन्तर ओरालो लागेको छ भने निको हुनेको संख्यामा बढेको छ । पछिल्लोे २४ घण्टाको अवधिमा जिल्लामा १६७ जनामा संक्रमण पुष्टि भएको छ । यो परीक्षणको करिब २६ प्रतिशत हो ।

यो अवधिमा ५३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा केही समय अघि परीक्षणको ५० प्रतिशत भन्दा धेरैमा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा शनिबार बुटवल उपमहानगरमा सबैभन्दा धेरै ४९ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी तिलोत्तमामा २९ जना, सिद्धार्थनगर नगरपालिकामा२४ जना, सैनामैना नगरपालिकामा ३१ जना, देवदह नगरपालिकामा १० जना, ओमसतिया गाउँपालिकामा ६ जना र अन्य पालिकामा ५ जना भन्दा कम संक्रमित थपिएका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ८४५ पुगेको छ । जसमध्ये १९ हजार २६६ जना निको भएका छन् ।

शनिबारसम्म जिल्लामा ५ हजार १९४ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा थप २ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३८८ पुगेको छ ।

संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएपछि र संक्रमितको संख्या पनि घट्दै गएपछि केही दिन अगाडिसम्म भरिएका अस्पतालहरुमा सहज ढंगले उपचार हुन थालेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।

उनले केही निजी अस्पतालमा पनि कोरोना उपचारको व्यवस्था थप गरिएकाले पनि केही दिनयता उपचारमा सहज भएपनि जोखिम कम नभएकाले सर्तकता अपनाउन सबैमा आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर