एट्लेटिको मड्रिड सात वर्षपछि ला लिगा च्याम्पियन – Nepal Press

एट्लेटिको मड्रिड सात वर्षपछि ला लिगा च्याम्पियन

एजेन्सी । लुइस स्वारेजले विजयी गोल गरेपछि शहरीय प्रतिद्वन्द्वी रियल मड्रिडलाई पछि पार्दै एट्लेटिको मड्रिडले यो सिजनको स्पेनिस ला लिगा उपाधि जितेको छ ।

डिएगो सिमोनी प्रशिक्षित एट्लेटिकोले भालाडोलिडसँग पहिलो हाफमा पछि परेको थियो । ओस्कार प्लानोले गोल गरेपछि एट्लेटिको सुरुमै दवावमा आयो । तर दोस्रो हाफमा एंगेल कोरिया र स्वारेजले १० मिनेटको अन्तरमा गोल गरेपछि खेल एट्लेटिकोको पक्षमा फर्कियो ।

रियल मड्रिडले पनि भिल्लारियलमाथि अन्तिम समयमा गरेको दुई गोलमार्फत २–१ को जित हासिल गरेको थियो । तर दोस्रो स्थानमै सीमित रहेर लिग टुंग्यायो ।

उरुग्वेका ३४ वर्षीय स्ट्राइकर स्वारेजले यस सिजन ला लिगामा २१ गोल गरे । सन् २०१४÷१५ मा स्पेन आएयता उनले पाँच सिजन बीसभन्दा बढी गोल गरेका छन् । उनी डेभिड भिया र आद्रा टुरानपछि बार्सिलोना र एट्लेटिको दुवैबाट ला लिगा जित्ने तेस्रो खेलाडी हुन् ।

उनको उमेरका कारण स्वारेजले बार्सिलोनामा पछिल्लो सिजन अपमानित हुँदै बाहिरिनुपरेको थियो । प्रशिक्षक रोनाल्ड कोम्यानले स्वारेजका लागि आफूले कुनै योजना नबनाएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । बार्सिलोना क्लब व्यवस्थापन र कप्तान लियोनल मेस्सीबीचको सबैभन्दा ठूलो दरारको मुख्य कारण यही पनि थियो । मेस्सीले पाका खेलाडीलाई हेप्ने गरिएकोमा असन्तुष्टि व्यक्त गरेका थिए ।

उपाधि जितेपछि निकै नै भावुक देखिएका स्वारेजले भने, ‘म एट्लेटिकोप्रति अनुग्रहित छु कि उनीहरुले मलाई अवसर दिए र यो स्थितिमा विश्वास गरे । मेरो अप्ठेरो स्थितिमा मसँगै रहेकी मेरी श्रीमती र बच्चाहरुले पनि धेरै सहयोग गरे ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *