यसै साता कर्णाली सरकारमा कांग्रेस सहभागी हुँदै, दुई महिनापछि छानिए दुई मन्त्री ! – Nepal Press

यसै साता कर्णाली सरकारमा कांग्रेस सहभागी हुँदै, दुई महिनापछि छानिए दुई मन्त्री !

सुर्खेत । महामारीको समयमा सरकारमा सहभागि नभएको र कोरोनाविरुद्ध लडने सामाजिक विकास मन्त्रालय खाली राखेको आरोप लागेको नेपाली काँग्रेस यहि साताभित्र सरकारमा सहभागि हुने भएको छ ।

प्रदेश सभाको हिउँदे अधिवेशन सुरु भएको पहिलो दिन माओवादी केन्द्र नेतृत्वको सरकारलाई विश्वासको मत दिएर सत्तापक्ष बनेको नेपाली काँग्रेस दुई महिनापछि सरकारमा सहभागि हुन लागेको हो ।

‘सबैतिरबाट काँग्रेस सरकारमा सहभागि हुनुपर्छ र जनताको समस्या समाधान गर्न, कोरोनाको महामारीबाट कर्णालीका नागरिकलाई जोगाउन तत्काल मन्त्री नियुक्त गर्न नागरिकस्तरबाट दबाब आइरहेको थियो’ काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निकट स्रोत नेपालप्रेसलाई भन्यो ।

‘काँग्रेस भित्रको आन्तरिक विवादले पनि केहि ढिलाई भएको थियो । मन्त्री पदमा दैलेखका हिमबहादुर शाहीले पनि कडा दाबी राखेका कारण मन्त्री पठाउन विलम्ब भएको हो । संसदीय दलका सचेतक समेत रहेका सांसद शाही व्याक भएका कारण दुइ जनालाई मन्त्री बनाउन आन्तरिक सहमति भएको हो’ स्रोतले जनायो ।

नेपाली काँग्रेसले माओवादी सरकारलाई जोगाउन वैशाख तीन गते विश्वासको मत दिएको थियो । त्यो समयमा माओवादीसँग सामाजिक विकास मन्त्रालय लिने र त्यसबाहेक ६ महिनापछि संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने सहमति मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका थिए । सोही सहमति अनुसार काँग्रेसले सुर्खेतका सांसद यज्ञबहादुर विसीलाई सामाजिक विकास मन्त्री बनाउने आन्तरिक तयारी गरिरहेको समयमा काँग्रेसकै जुम्लाका सांसद दीनबन्धु श्रेष्ठले पनि मन्त्री पदमा दाबी गरेपछि कांग्रेसभित्र कसलाई मन्त्री बनाउने भन्ने विवाद बढेको थियो ।

श्रेष्ठ पौडेल निकट भएका कारण पनि नेता शाहीलाई मन्त्री छान्न समस्या भएको थियो तर मुख्यमन्त्री शाहीले काँग्रेसको चाहना विपरित मन्त्रालयको संख्या आठ पु¥याएपछि आफूलाई दुइ मन्त्रालय दिनुपर्ने अडान काँग्रेसले राखेको थियो ।

काँग्रेसको सोही अडानका कारण माओवादी केन्द्रले मन्त्री नियुक्त भइसकेका तर सपथ खान बाँकी विन्दमान विष्टलाई रोकेको थियो । पछिल्लो समयमा काँग्रेसबाट सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर विसी र जलस्रोत तथा ऊर्जा मन्त्रीमा दीनबन्धु श्रेष्ठलाई पठाउने सहमति भइसकेको छ ।

६ सदस्यीय काँग्रेस संसदीय दलमा भएको यो सहमतिले अबको एक साता भित्रै ती दुवै मन्त्रीले सपथ लिने भएका छन् । तर काँग्रेसले मुख्यमन्त्री शाहीलाई मन्त्रीहरुको कार्यविभाजन चित्त बुझ्दो नभएको भन्दै हेरफेर गर्न सुझाव दिइसकेको स्रोतको दाबी छ ।

यता, संसदीय दलका नेता शाहीले मन्त्री को बन्ने बारेमा टुंगो लागिसकेको बताए । उनले जनताको चाहना, आवश्यकता बमोजिम आफूहरु सरकारमा सहभागि हुन लागेको बताएपनि कुन दिन जाने भन्ने टुंगो नलागेको बताए ।

‘मन्त्रालयको कार्य विभाजनमा थोरै समस्या देखिएको छ । त्यो समस्या समाधान हुने वित्तिकै आम जनताको माग बमोजिम काँग्रेस सरकारमा जान्छ’ उनी भन्छन्, ‘बाहिर आएजस्तो गुटको लडाईका कारण मन्त्री छान्न सकस भएको होइन ।’

उनले काँग्रेस संकटको बेलामा जनताको रक्षा गर्न जस्तोसुकै काम गर्न तयार रहेको बताउँदै कर्णालीका नागरिकलाई कोरोनबाट जोगाउन अहिले सरकारमा सहभागि नभएपनि सरकारलाई आवश्यक परामर्श दिइरहेको बताए ।


प्रतिक्रिया

One thought on “यसै साता कर्णाली सरकारमा कांग्रेस सहभागी हुँदै, दुई महिनापछि छानिए दुई मन्त्री !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर