संक्रामक रोग विज्ञ अनुप सुवेदीलाई प्रश्न : कोरोनाको तेस्रो लहरबाट बालबालिकालाई कसरी जोगाउने ? (भिडियो) – Nepal Press
नेपाल टक

संक्रामक रोग विज्ञ अनुप सुवेदीलाई प्रश्न : कोरोनाको तेस्रो लहरबाट बालबालिकालाई कसरी जोगाउने ? (भिडियो)

कोरोनाभाइरसको दोस्रो लहरले मुलुकको स्वास्थ्य प्रणालीमा गम्भिर चुनौति सिर्जना भएको छ । अहिलेसम्म ६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् भने दैनिक ८ हजारभन्दा बढी नागरिक संक्रमित भइरहेका छन् ।

अक्सिजन लगायतका स्वास्थ्य सामग्री अभावले संक्रमितको उपचारमा कठिनाइ भएको छ । दोस्रो लहरको मध्यमै संक्रमण दर अगाडि बढिरहँदा विज्ञहरुले तेस्रो लहर आउन सक्ने भन्दै सतर्कताका अपनाउन सुझाव दिएका छन् । भारतले सेप्टेम्बरदेखि तेस्रो लहर आउनसक्ने औपचारिक जानकारी बाहिर ल्याएको छ ।

नेपालले भाइरसको आउने लहरको चुनौतिसँग जुध्न आफूलाई कसरी तयार राख्नुपर्छ ? यसबारे संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीसँग नेपाल प्रेसले गरेको कुराकानी :

नेपालमा भेटिएका भारतीय भेरिएन्ट कति संक्रामक छन्, बताइदिनूस न ?

भेरिएन्ट कति संक्रामक र घातक छन् भन्ने कुरा विदेशमा फैलिएको आँकडाले स्पष्ट पार्छन् । यो भेरिएन्टको गति, विस्तार र भेरिएन्ट भएका मान्छेको मृत्युदर कति छ भन्ने ती देशले सबै आँकडा राखेका हुन्छन् । बेला-बेलामा त्यो प्रकाशित गर्छन् । तर भारतमा फैलिरहेको भेरिएन्ट जुन नेपालमा देखिएको छ, त्यो युरोप, अमेरिकातिर कमै मात्रामा फैलिएको छ ।

यो बढी संक्रामक र घातक छ कि छैन भनेर उनीहरूले आँकडा दिन सकिरहेको छैन । नेपाल र भारतमा जनस्वास्थ्य संयन्त्रलाई जुन किसिमको डेटा चाहिन्छ, त्यो स्पष्टसँग राखिएको छैन । हामीले व्यक्तिगत अनुमान गर्ने हो । जसअअनुसार यो भेरिएन्ट बढी संक्रमणशील छ ।

कति बढी प्राणघातक छ भन्नेको दुई वटा पाटो छन् । बढी संक्रमणशील हुने बित्तिकै धेरै जनाको मृत्यु देखिन्छ । बढी संक्रमणशील भएपछि धेरै जना संक्रमित हुन्छन् । धेरै जना संक्रमित भएपछि मृत्युदुर बढी देखिन्छ ।

कोरोनाको दोस्रो लहर ब्यापक हुनुमा ती भेरिएन्टलाई कत्तिको जिम्मेवार मान्नुहुन्छ ?

अहिले सबै नयाँ भेरिएन्ट जस्तो देखिन्छ । दुई-तीन महिनासम्म पनि पुरानो भेरिएन्ट फैलन त धेरै जनामा फैलियो । त्यो बीचमा बेलायती भेरियन्ट आयो । इण्डियामा पनि धेरै राज्यहरूमा बेलायती भेरिएन्ट नै धेरै देखिएको भन्ने कुरा आइरहेको थियो ।

त्यस हिसाबले बेलायती भेरिएन्ट भन्ने लागेको हो । हिजो आएको भेरिएन्टको नमुना देशभरिका विभिन्न भागबाट लिइएको हो । अहिले त यही नयाँ भेरियन्टले नै ड्राइभ गरिरहेको रहेछ भन्ने कुरा मान्नुपर्‍यो ।

के दोस्रो लहर ओरालो लाग्न सुरु भएको हो ?

संक्रमण दर ओरालो लागेको भन्ने अवस्था छैन । दैनिक पोजेटिभ हुने संख्या अहिलेसम्म १० हजार कटेको छ । ९ हजारकै हारहारीमा छ । हरेक दिन पोजेटिभ हुने दर ४५ प्रतिशत छ । त्यसको कारण चाहिँ संक्रमित हुनसक्ने जति संक्रमित भइसके । अबचाहिँ ओरालो लाग्ने बेला भएर त्यस्तो भएको हो कि वा हाम्रो टेस्टिङ क्षमता नै सीमित भएको भएर टेस्ट गर्न नसकेसँगै त्यस्तो देखिएको हो । यो भन्न एकदम गाह्रो छ । टेस्ट पोजेटिभिटी रेटचाहिँ अहिले बढेको छैन । तर काठमाडौं उपत्यकामै बढिरहेको छ ।

दैनिक समाचार पनि सीमा नाका वा गाउँहरूमा थुप्रै मान्छेलाई संक्रमण देखिएको, टेस्ट पनि गर्न नपाएको आइरहेका छन् । हाम्रो टेस्टिङ क्षमता जति छ त्यतिमात्रै भएको भएर संख्या नबढेको देखेको हो कि ।

संक्रमणदर न्यून हुने सम्भावना कतिको छ ?

पहिलो कुरा त हामीसँग आँकडा चुस्त हुनुपर्‍यो । काठमाडौंमा ७० प्रतिशत पोजेटिभ छ भने त हामीले एकदमै थोरै टेस्ट गरेका छौं । धेरै टेस्ट गरेर भरपर्दो हिसाबले विभिन्न क्षेत्रमा गर्नुपर्छ । अघिल्लो चरणमा वीरगञ्जतिर धेरै चाँडो फैलिएको थियो । ती ठाउँमा पिक भएको हुनसक्छ । अरु ठाउँमा अझै पनि फैलिएको हुनसक्छ । काठमाडौंमा ५० लाख जनसंख्या छ, यहाँ त फैलिँदै गइरहन सक्छ । फैलिन सक्ने मान्छेको संख्या अझै धेरै छ । यो कहिले पिक हुन्छ भन्ने कुरालाई हरेक क्षेत्रमा कति जना मान्छे संक्रमित भइसके भन्ने खालका आँकडा आए भने मात्र हामीले भन्न सक्छौं । त्यस्तो आँकडा आएन भने चाहिँ चिया पसलमा बसेर गरेको गफ जस्तो हुन्छ ।

भारतको स्वास्थ्य मन्त्रालयले तेस्रो लहर सेप्टेम्बरदेखि नै आउँछ भनेर भनिसकेको छ । नेपालमा कहिलेदेखि सुरु हुन सक्ला तेस्रो लहर ?

भारतले किन तेस्रो लहर भनेको नै मैले बुझेको छैन । अरु भेरिएन्ट आएर फैलन थालेर भनेको हो कि । मैले यसको अध्ययन गर्न पाएको छैन । तेस्रो लहरचाहिँ कुनबेला आउँछ भने अहिलेको वेभबाट जति मान्छे संक्रमित छन्, ती मान्छेमा कुनै न कुनै इम्युनिटी छ । केही मान्छेले खोप पनि पाउँछन् होला । ती मान्छेले जति इम्युनिटी पाएका छन्, त्यो इम्युनिटीले नथेग्ने खालको नयाँ भेरिएन्ट आएर मान्छेहरूलाई संक्रमण गर्न थाल्यो भने तेस्रो लहर आउँछ ।

तेस्रो वेभ आउँदा अहिलेभन्दा १५ प्रतिशत बढी संक्रामक हुने बताइएको छ । बालबालिकालाई बढी जोखिम हुन्छ भनिएको छ । यसबारे उल्लेख गर्दिनूस न ।

मैले पनि समाचारमा पढेको छु । विज्ञहरूले भनेका हुन् भने कुनै आधारले भनेका होलान् । तर, मैले त्यो आधार पढ्न पाएको छैन । बालबालिकालाई हुन सक्ने सम्भावना बढी त छ । अहिले पनि स्कुलहरू बन्द गरेर बालबालिकालाई जोगाउन खोजेका छौं । बालबालिकाहरू अलिअलि भए पनि बढी संक्रमित त हाम्रो उमेरको नै छन् । जुन समुदायमा बढी संक्रमण भएको छैन, ती चाहिँ बढी जोखिममा हुन्छन् । बालबालिकालाई त हामीले भ्याक्सिन पनि लगाएका छैनौं ।

कसरी जोगाउन सकिन्छ त बालबालिकालाई ?

तेस्रो लहरचाहिँ कसरी आउँछ भनेर तपाईं पहिला विज्ञहरूलाई र्‍याखर्‍याख्ती पार्नूस । उहाँले भनेजस्तो कसरी जोगाउने भन्ने प्रश्नमा समुदायमा कसरी फैलिरहेको छ त्यसलाई एक्टिभ सर्भिलेन्स गर्ने । संक्रमितहरूलाई सकेसम्म बढी टेस्ट गर्ने । त्यो भएपछि नै आइडिया भइरहन्छ । अहिलेसम्म सेरोफेरोको अध्ययन गर्ने । जुन एकपटक भएको छ । त्यस्तो डाटाको आधारमा संरक्षण अपनाउने । साँच्चै त्यस्तो भयो भने हाम्रो देशमा त पहिला आउँदैन । अरु देशमा आउला । अरु देशको हेर्दै जाने । त्यहाँ बालबालिका बढी संक्रमित हुँदा के-के गरेका छन् । कहाँ कस्तो किसिमको भ्याक्सिन प्रयोग भएको छ, त्यो कुरा पनि हेर्दै जानुपर्‍यो । त्यसअनुसार हामीले नीति बनाउनुपर्‍यो ।

अब आउने वेभमा सरकारले कस्तो खालको पूर्वतयारी अपनाउनुपर्छ ? कसरी जुध्न सरकार तयार हुनुपर्छ ?

दोस्रो वेभमा नै हामी यस्तो खाडलमा छौं कि यहाँबाट कसरी निस्किने हामीलाई थाहा छैन । जुनसुकै वेभको तयारीको लागि पनि जनस्वास्थ्य संयन्त्र बलियो बनाउनुपर्छ, जसले यस्ता संक्रमणको सुरुदेखि नै पूर्वानुमान गर्न सक्छ । आउनेबित्तिकै लक्षित समूहमा परीक्षण गर्नसक्छ । एक्टिभ सर्भिलेन्स गर्न सक्छ ।

नयाँ भेरियन्ट चीन वा भारतमा देखियो भने त्यताबाट आउने मान्छेहरूमा कडाइ गर्नुपर्‍यो । क्वारेन्टिन गर्नुपर्‍यो । त्यस्तो टेस्ट देखियो भने अगाडि अध्ययन गर्नुपर्‍यो । कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्‍यो । त्यो गर्ने खालको जनस्वास्थ्य संयन्त्र चाहियो । विज्ञहरूले बनाएको नीतिको आधारमा संयन्त्र चल्नुपर्‍यो । राजनीतिक हस्तक्षेप हुनुभएन । अर्कोचाहिँ यो बीचमा भ्याक्सिनहरू परिचालन गर्नुपर्‍यो । सकेसम्म धेरै भ्याक्सिन ल्याएर धेरै मान्छेमा लगाउने । कम्तिमा ४० वर्षदेखि माथिका विभिन्न दीर्घरोग भएकालाई खोप लगाउन सक्नुपर्‍यो । विपन्न नागरिकलाई पनि निःशुल्क उपलब्ध गराउन सक्नुपर्‍यो । त्यसपछि थर्ड वेभ आउने सम्भावना पनि कम हुन्छ ।

भारतले यो वर्षको अन्त्यसम्म खोप आपूर्ति नगर्ने बताइसकेको छ । अन्य मुलुकले पनि ठोस निर्णय गरिसकेका छैनन् । खोप अभियान प्रभावित हुँदा यसले महामारी नियन्त्रणमा कतिको चुनौती सिर्जना गर्छ ?

अरु देशमा दुई तरिकाले महामारी नियन्त्रण भएको छ । महामारीबाट अधिकांश जनता जोगाउन त्यहाँका सरकार सफल भएका छन् । सकेसम्म भाइरसलाई प्रयोग गर्नै नदिएर, प्रवेश गरेको छ भने समुदायमा पहिले जान नदिएर जनस्वास्थ्य संयन्त्रको काम बलियोसँग गरेको छ ।

जुन देशमा बेस्सरी फैलिएको थियो, जो पहिलो महामारीमा चुके । उनीहरूले खोपमा एकदमै राम्रो काम गरे । अहिले त्यहाँ महामारी नियन्त्रणमा जान थालेको छ । कि त जनस्वास्थ्य संयन्त्रको काम असाध्यै राम्रोसँग गर्नुप¥यो । त्योचाहिँ हाम्रो सरकारका मान्छेले हामी गर्न सक्दैनौं भनेर हात छाडेको देखिन्छ । त्यसो भए भ्याक्सिनमा गरौं । दुवैमा नगर्ने भएचाहिँ महामारी नियन्त्रण हुँदैन नि ! यदि नियन्त्रण गरिएन भने यहीँ नयाँ भेरियन्ट पनि आउन सक्छ ।

दोस्रो वेभमा महामारी नियन्त्रणमा कहाँनेर कमजोरी भएजस्तो लाग्छ ?

नीतिगत तथा प्रक्रियागत कुरामै कमजोरी छ । अहिले पनि धेरै मान्छेले टेस्ट गर्न पाएका छैनन् । अर्कोचाहिँ टेस्टको कुरा कतिपय ठाउँमा राम्रो छैन । यस्ता कुराले पनि समस्या भएको हो । अर्कोचाहिँ हामीले अस्पतालमा गर्ने काम पनि गरेनौं । अक्सिजनको यस्तो हाहाकार हुन्छ भनेर डेढ वर्ष अगाडिदेखि भनि आएको कुरा हो । यो हामीले पनि भनेका थियौं । मैले पनि डेढ वर्षअगाडि भनेको हुँ । यो अवस्था आउँछ भन्ने थाहा थियो । अस्पतालतिरको तयारी पनि भएन । एकतरिकाले हेर्दा हामी यसमा चुक्यौं । बुढाबुढीलाई दिनुपर्ने भ्याक्सिन पत्रकारहरूले बाँडेर हिँड्नुभयो । स्वास्थ्यकर्मीले आधाले लगाएनन् ।

अर्कोतरिकाले हेर्दा समग्र सिस्टमको कमजोरी छ । सिस्टमको कमजोरी राजनीतिक तहदेखि छ । माथिदेखि जवाफदेहिताको अपेक्षा गर्नुपर्ने, विवादास्पद नहुनेगरी निर्णय गर्नुपर्ने, सबैलाई मिलाएर लैजान सक्नुपर्ने, राष्ट्रिय एकताको अभियानमा सुत्रवद्ध गर्ने खालको लिडरसिप नभएको कारण यस्तो भयो ।

अहिले करिब ७४ जिल्लामा लकडाउन छ । पहिला जारी लकडाउनलाई खुकुलो बनाउँदै लैजानुपर्ला कि निरन्तरता दिनुपर्ला ?

देशको सबै भागमा एउटै नियम लागू हुनुहुँदैन । सबैभन्दा महत्वपूर्ण कुरा आँकडा हो । कति फैलिरहेको छ, नयाँ केस कहाँ कति देखिराको छ ? अर्कोचाहिँ लकडाउन खुल्ने बित्तिकै के हुन्छ त ? फेरि संख्या त बढ्छ । लकडाउन खोल्दा संख्या नबढ्न जनस्वास्थ्यको संयन्त्र, प्रक्रिया सुरु गर्नुपर्छ नि । त्यो गरेको छ कि छैन ? पर्याप्त टेस्ट गर्न थाल्यौं र कन्ट्र्याक्ट ट्रेसिङ गर्ने सिस्टम बनायौं । लकडाउन खुल्दा र हुँदा संक्रमणबारे थाहा पाउने प्रक्रिया हुनुपर्यो । संक्रमण नियन्त्रण गर्नुपर्ने फर्मुला हामीले प्रयोग गर्न जान्नुपर्‍यो । त्यो गर्‍यो भने विस्तारै लकडाउन खोल्दै जाँदा हुन्छ, संख्या घट्दै गएको ठाउँमा ।

तथ्यांक हेर्दा काठमाडौंमा खुकुलो बनाउनुपर्छ जस्तो लाग्छ कि कायम राख्नुपर्छ ?

काठमाडौंमा एकदमै अक्सिजनको हाहाकार छ । अस्पतालमा आउने थुप्रै बिरामीहरू जसको अक्सिजन कम छ, उहाँहरूलाई भर्ना गर्न सकिएको छैन । अक्सिजन थियो भने पनि हामीसँग बेड हुँदैन । अक्सिजन पुग्दा पनि बेड, आइसीयू थिएन । अहिले पनि पुर्‍याउन नसकेकाले कोरोना भाइरसको मृत्युदर एकदम बढेको छ । यो आँकडामा देखिँदैन । कति मान्छे टेस्ट नगरी मरेका छन् ।

यो देख्दा देख्दै अहिले लकडाउन खोल्नु भन्न मिल्दैन । समुदायमा संक्रमण केही हदसम्म नियन्त्रण भएको, अस्पतालमा चाप कम भएको, हामीले धान्नसक्ने, श्वास फेर्नसक्ने वातावरण भयो भने विस्तारै लकडाउन खोल्दै जाने कुरा होला । अहिले त त्यो सुविधा छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर