अराजकता र अस्थिरतावादीको कारण देश मध्यावधिमा जान बाध्य भयो : प्रभु साह – Nepal Press

अराजकता र अस्थिरतावादीको कारण देश मध्यावधिमा जान बाध्य भयो : प्रभु साह

काठमाडौं । निवर्तमान शहरी विकास मन्त्री प्रभु साहले अराजकता र अस्थिरतावादीकै कारण देश मध्यावधि निर्वाचनमा जान बाध्य भएको बताएका छन् ।

शुक्रवार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार नबनेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछी प्रतिक्रिया जनाउदै निवर्तमान मन्त्री साहले अस्थिरता र अराजकता मच्चाउन खोज्नेहरुको अतिवादको कारण देश ताजा जनादेशमा जान बाध्य भएको बताए ।

संसदीय मुल्य मान्यता, विधि विधान र दलिय अनुशासन कुरा गर्नेहरुले नै त्यस विपरीतको गतिविधि देखाएर देशलाई बन्धक बनाएको तथा अराजक र अस्थिरतावादी फैलाउने हर्कतले हद नाघेपछि देश मध्यावधिमा गएको बताए । देशमा स्थिरता चाहने कोही पनि लोकतन्त्रवादीहरुले चुनावको विरोध गर्न नसक्ने बताए ।

तपाईं हेर्न सक्नुहुन्छ, बहुमतको मातहतमा अलपमत रहने दलीय प्रणाली मान्छौ भन्नेहरु जसपाको १२ जनाले २० जनामाथि, नेकपा(एमाले) को २६ जनाले ९५ जनामाथि शासन गर्ने लालसासाथ आफ्नो दलको विरुद्ध अरु दलको नेतालाई प्रधानमन्त्री बनाउन तल्लीन छन ।

आफुलाई संसदको जननी भन्ने कांग्रेसले संसदीय अभ्यास र मर्यादा विपरीत अरु दलको सांसदको हस्ताक्षरको दुरुपयोग गर्ने अप्राकृतिक ढंगले प्रधानमन्त्री बन्न खोज्ने जस्ता हर्कतहरु देखाईरहेका छन् । नेता साहले भने, त्यति मात्र होइन, एकातिर दलीय अनुशासनको नाममा सांसदलाई पैकेटमा लिएर हिडने र बिनाकारण स्वेच्छाचारी ढंगले मन नपर्ने सांसदलाई बर्खास्त गर्ने, अर्कोतिर स्वतन्त्रको नाममा आफ्नो पार्टीको विरुद्ध अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर समेत गर्ने , यी दुबै किसिमको अतिवाद छ । यी र यस्ता हर्कत गर्ने अराजक र अनैतिकवादीहरुको कारण नै आज देश मध्यावधिमा जान बाध्य भएको छ ।

देश लामो समयदेखि अन्यौलता एवं अनिर्णयको भूमरीमा फसेको र दुषित संसदीय खेलबाट जनता निराश भैसकेकोले ताजा जनादेशबाट मात्र निकाश दिन सकिने उनको भनाई छ । अस्पष्ट व्यवस्थाले जन्माएको अराजकताका कारण भईरहेका भद्दा खेल रोक्न लोकतन्त्र र अग्रगमन पक्षधरहरुलाई चुनावको स्वागत गर्दै अगाडि बढ्न अपिल समेत गरेका छन् ।

मुलुक लामो समयदेखि अन्र्तघात, अस्थिरता, अन्यौलता एवं अनिर्णयको भूमरीमा घुमिरहेको सन्दर्भमा अहिलेको दुषित संसदीय खेलबाट आर्जित एवं निराश भैसकेको देश र जनतालाई ठोस एवं सही निकाश दिन अहिलेको मौजूदा व्यवस्थामा मध्यावधि चुनाव अर्थात ताजा जनादेश नै सर्वोत्तम विकल्प छ । नेता साहले भने, त्यसैले सार्वभौम सत्ता सम्पन्न आम नेपाली जनतामाथि विश्वास गर्ने सम्पुर्ण लोकतन्त्र पक्षधरहरुले यस निर्णयको जोड़दार स्वागत गर्न जरूरी छ ।

नेता साहले विभिन्न अराजक हर्कत हुनुमा पनि भद्दा, विकृत एवं दलाल नोकरशाही पुँजीवादी व्यवस्था नै रहेकोले त्यसको परिमार्जन बारे पनि सोच्ने बेला आइसकेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *