देउवाले भने : राष्ट्रपतिले तत्काल मलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्थ्यो – Nepal Press

देउवाले भने : राष्ट्रपतिले तत्काल मलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्थ्यो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रतिनिधिसभामा कायम सदस्य संख्याको स्पष्ट बहुमतसहित प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेको बताएका छन् । त्यसअनुरुप राष्ट्रपतिलाई आफूलाई तत्काल प्रधानमन्त्री नियुक्त गर्नुपर्नेमा त्यसो नगरेको भन्दै उनले आपत्ति जनाएका छन् ।

आज एक प्रेस विज्ञप्ति जारी गरी देउवाले राष्ट्रपतिबाट आह्वान भए बमोजिम आफूले १ सय ४९ जना सांसदका हस्ताक्षर पेश गरेको बताएका हुन् ।

देउवाले भनेका छन्, ‘राष्ट्रपतिले गरेको आह्वानको आधारमा मैले प्रतिनिधि सभामा तत्काल कायम रहेका सदस्य संख्याको स्पष्ट बहुमत सहित १४९ जना माननीय सांसदहरुको हस्ताक्षर सहित प्रधानमन्त्रीका लागि दावी प्रस्तुत गरेँ । नेपालको संविधान बमोजिम राष्ट्रपतिले मलाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्नेमा त्यसलाई इन्कार गर्नुभयो ।

बरु एकपटक प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भई संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्को पटक बहुमत देखाउन नसक्ने स्वयं घोषणा गरी सकेका माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने काम गरिन् ।’

यो सरकार गठनपछि निरन्तर रुपले गैर संवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य, मान्यताको अवमूल्यन तथा संसदीय पद्धतिको खिल्ली उडाउने काम भएको देउवाको आरोप छ ।

उनले भनेका छन्, ‘नेपालको संविधानको अक्षर र भावनाअनुसार माननीय ओलीले प्रधानमन्त्रीका लागि दावी गर्न नसक्ने प्रष्ट अवस्था हुँदाहुँदै त्यस्तो गैर संवैधानिक दावीलाई स्वीकार गरी पुनः उनलाई नै प्रधानमन्त्री तोक्ने कार्य असंवैधानिक मात्र होइन अनैतिक पनि हो ।’

राष्ट्रपति र प्रधानमन्त्रीले संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेको देउवाले बताएका छन् ।

‘प्रधानमन्त्रीले हठात् अर्को सरकार गठनको सिफारिश गर्ने, राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई प्रधानमन्त्री नियुक्तिको आह्वान गर्ने, संविधान बमोजिम नियुक्त गर्नुपर्ने म प्रतिनिधि सभाका सदस्यलाई नियुक्त गर्नु पर्ने र दावी नै गर्न नमिल्ने माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने कार्य घोर असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कार्य हुन्,’ देउवाको विज्ञप्तिमा भनिएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक, अलोकतान्त्रिक कार्यका विरुद्ध राजनैतिक र न्यायिक लडाई लड्ने देउवाले बताएका छन् ।


प्रतिक्रिया

One thought on “देउवाले भने : राष्ट्रपतिले तत्काल मलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्थ्यो

  1. अर्काका छाेराछाेरी श्रीमतीलाइ भकाएर झुक्याएर घरमा ल्याउने बित्तिकै मेराे परिवार ठुलाे भन्नु र एमालेका २६ सांसद जाेडेर मेराे बहुमत भन्नु उही हाे शेरे दाइ । अब चुनावबाट बहुमत पुर्याउ । पालाे तिम्रै हाे बढि गनगन नगरी चुनाव तिर लागे । नत्र चुनावमा पनी केपीले उछिट्याउला नि ढिलाे गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर