आजदेखि काभ्रेका थप पाँच स्थानीय तह ‘सिल’ – Nepal Press

आजदेखि काभ्रेका थप पाँच स्थानीय तह ‘सिल’

काभ्रे । पछिल्ला दिन कोरोनाभाइरस संक्रमणदर बढ्दै गएपछि संक्रमणको उच्च जोखिम रहेको जनाउँदै काभ्रेपलाञ्चोकका थप पाँच स्थानीय तहले शनिवारदेखि आफ्नो क्षेत्र ‘सिल’ गरेका छन् । धुलिखेल नगर, पनौती नगर, पाँचखाल नगरपालिका, रोशी र भुम्लु गाउँपालिकाले आजदेखि स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाहेक सबै पूर्णरूपमा बन्द गरेको जनाएका हुन् ।

जिल्लामा अन्य स्थानीय तहभन्दा कोरोना संक्रमणदर उच्च संख्यामा रहेको जनाउँदै बनेपा नगरले आइतबारदेखि नै एक हप्ताका लागि आफ्नो क्षेत्र शिल गरेको थियो । उसले मर्निङवाकसमेत गर्न दिएको छैन । ‘अन्य स्थानीय तहभन्दा बनेपामा संक्रमण उच्च रहेपछि औषधि पसल र अस्पतालबाहेकका सबै सेवा बन्द गर्नुका साथै मर्निङवाकसमेत प्रतिबन्ध लगाउनुपर्‍यो’, बनेपा नगरप्रमुख लक्ष्मीनरसिंह वादेले भनेका छन् ।

पाँचखाल नगरले बन्दमा मदिराजन्य पसल सञ्चालन गरे ६ महिना अनुमति खारेज गरी ५० हजार रुपैयाँ जरिवानासमेत गर्ने जनाउँदै आजदेखि एक साता नगर शिल गरिएको घोषणा गरेको छ । धुलिखेल र पनौती नगरले अत्यावश्यक सेवा र औषधि पसलबाहेकको सबै सेवा आज राति १२ बजेदेखि चार दिनका लागि बन्द गरेको जनाएका छन् । रोशी गाउँपालिकाले पनि अत्यावश्यक सेवाबाहेक गए राति १२ बजेदेखि आगामी बुधबार राति १२ बजेसम्म पाँच दिन शिल गरेको छ भने भुम्लु गाउँपालिकाले आजदेखि एक साताका लागि शिल गरेको जनाएको छ ।

साथै शिल गरिएका स्थानीय तहले फोहरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युत् सेवाप्रदायक निकायले न्यूनतम कर्मचारीमार्फत स्वास्थ्यका आधारभूत मापदण्ड अपनाएर सेवा प्रवाह गर्न प्रबन्ध मिलाउनेसमेत निर्देशन दिएका छन् । सूचना विभागबाट जारी प्रेस पासवहाक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइने स्थानीय तहद्वारा जारी सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयले गत आइतबारदेखि जिल्लामा एक साता निषेधाज्ञा थप गरेको छ । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । केही गाउँपालिकाले पनि निषेधाज्ञामा थप कडाइ गरेको जनाउँदै आएका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकमा १९७ मा कोरोना संक्रमण पुष्टि भयो । अघिल्लो दिन ५९२ तथा बिहीबार २८२ मा कोरोना संक्रमण पुष्टि भएको जिल्लास्थित कोभिड-१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले जनाएको छ । साथै दैनिक ५० को हाराहारीमा कोरोना संक्रमणमुक्त हुने गरेका छन् भने सरदर चारको मृत्यु हुने गरेको केन्द्रको तथ्याङ्कले देखाएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा हाल दुई हजार ४६९ सक्रिय संक्रमित रहेका छन् । जिल्लामा सबैभन्दा बढी बनेपा नगरमा २८ दशमलव ४७ प्रतिशत अर्थात् ७०३ संक्रमित छन् । कूल संक्रमितमध्ये धुलिखेलमा ५४७, पनौतीमा ४९६, पाँचखालमा १६२, नमोबुद्धमा ११०, मण्डनदेउपुरमा १४२ तथा रोशी गाउँपालिकामा ६३, चौँरी देउरालीमा २९, तेमालमा २८, भुम्लु ६७, खानीखोलामा ३९, बेथानचोकमा ४१ र महाभारत गाउँपालिकामा ४२ सक्रिय संक्रमित रहेको केन्द्रले जनाएको छ । कूल संक्रमितमध्ये ९५ प्रतिशत अर्थात् दुई हजार ३५० संक्रमित होमआइसोलेशनमा उपचाररत छन् । हालसम्म जिल्लाका ९९ कोरोना संक्रमितको मृत्यु भएको छ ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर