कर्ण थापाको चेतावनी- माधव नेपालसँग लाग्नेहरू अब एमालेको सदस्य रहँदैनन् – Nepal Press

कर्ण थापाको चेतावनी- माधव नेपालसँग लाग्नेहरू अब एमालेको सदस्य रहँदैनन्

सुदूरपश्चिम सरकारबाट राजीनामा नदिने एमालेका मन्त्री कारबाहीमा पर्ने

कैलाली । नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता तथा सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले माधव नेपाल समूहका केही नेताहरूले पार्टी भित्र गम्भीर अपराध गरेको आरोप लगाएका छन् ।

पार्टी विरोधी काम गर्ने व्यक्तिहरूलाई विधानको व्यवस्था अनुसार कारबाही गरिने समेत स्पष्ट पारे ।

‘माधव समूहका केही नेताहरूले पार्टीभित्र ठूलो अपराध गर्नु भएको छ,’ थापाले नेपाल प्रेससँग भने, ‘उहाँहरूलाई विधानअनुसार कारबाही हुन्छ ।’

उनले कस्तो प्रकारको कारबाही गर्ने भन्ने विषयमा पार्टी भित्र छलफल भइरहेको बताए । उनले एमाले एकता जोगाउन पार्टी अध्यक्षले हदै सम्मको लचकता देखाएको बताए ।

‘मूल नेतृत्वले पार्टीको एकता बनाउन ठूलो लचकता देखाएको थियो । तर, उनीहरूले पार्टी विरोधी काम रोकेनन् । पार्टीलाई नै समाप्त गर्ने सम्मको काम गरे । त्यो प्रमाणित भइसक्यो,’ थापाले आरोप लगाए ।

पार्टीको तर्फबाट उठाइएको उम्मेदवारको विरुद्धमा भोट हाल्ने, पराजित गर्न भूमिका खेल्ने, आफ्नै पार्टीको विरुद्धमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने भन्दै हस्ताक्षर गर्ने सबैलाई साधारण सदस्य समेत नरहने गरी कारबाही हुने उनले बताए ।

‘पहिला पनि पार्टी विरोधी काम गर्नेहरूलाई कारबाही गर्नुपर्छ भन्ने दबाब थियो । तर, नेतृत्व लचिलो भयो,’ थापाले भने , ‘अहिले पार्टीको विरुद्धमा दुश्मनी पूर्ण व्यवहार गरेका छन् । उनीहरूलाई पार्टीको सदस्यबाट निस्काशन हुन्छ। ’

माधव समूहका केही नेता पार्टी समाप्त गर्ने अभियानका लागेको थापाको आरोप छ । गल्ती महसुस गर्ने नेताहरूलाई अझै पनि स्थान दिइने उनी बताउँछन् ।

‘उनीहरू पार्टी समाप्त गर्न आएका हुन् । उनीहरूलाई निस्काशन हुन्छ,’ थापाले भने, ‘जसले गल्ती गरेको महसुस गर्छ उनीहरूलाई पार्टीले समेट्न खोजेको छ। पार्टीमा बस्न नचाहने र पार्टीको विरुद्धमा दुस्मनीपूर्ण व्यवहार गर्ने सङ्ख्या जति भए पनि सबै माथि कारबाही हुन्छ ।’

प्रदेश सरकारबाट फिर्ता नहुने मन्त्रीलाई पनि कारबाही

सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता नहुने मन्त्रीलाई एमालेले कारबाही गर्ने जनाएको छ ।

गत चैत्र १५ गते सम्पन्न नेकपा एमालेको प्रदेश कमिटी बैठकले प्रदेश सरकारबाट एमाले बाहिरिने निर्णय गरेको थियो । निर्णय भएको २ महिना सम्म पनि प्रदेशमा एमाले र माओवादीले संयुक्त रुपम सरकार चलाइरहेका छन् ।

माओवादी केन्द्रले नेतृत्व गरेको सरकारमा एमालेका ३ जना मन्त्री रहेका छन् ।

एमालेका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्ण सुवेदी र उद्योग वन तथा वातावरण मन्त्रीमा माया भट्ट छिन् । मुख्यमन्त्री त्रिलोचन भट्टले आन्तरिक मामिला तथा कानुनमन्त्री शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी दिएका छन् ।

पहिलो उक्त मन्त्रालय माओवादी केन्द्रबाट निर्वाचित झपट बोहराले सम्हालिरहेका थिए । उनले माओवादीबाट एमालेमा प्रवेश गर्नु अघि नै राजीनामा दिएपछि मन्त्रालय मन्त्रीविहीन भएको थियो ।

४ मन्त्रालयको जिम्मेवारी पाएका तीन मन्त्री तत्काल सरकारबाट नआए कारबाही गर्ने एमाले प्रदेश अध्यक्ष कर्ण थापाले जानकारी दिए ।

‘हामीले सरकारबाट बाहिर आउने र आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेका छौँ,’ उनले भने, ‘माओवादीको सरकारबाट बाहिर नआउने मन्त्रीलाई पनि कारबाही हुन्छ ।’

प्रदेश सरकारमा रहेको तीनै जना मन्त्री माधव समूहका हुन् ।

पार्टी केन्द्रलाई तत्काल फिर्ता बोलाउन सिफारिस गरेको र केन्द्रीय नेतृत्वले नै मन्त्रीलाई फिर्ता बेलाउने पत्र लेख्ने छ । त्यसपछि पनि अटेरी गरे कारबाही हुने उनले बताए ।

‘अहिले नै उहाँहरू फिर्ता हुनुपर्ने हो उहाँहरू हुनुभएको छैन ’थापाले भने ‘यस विषयमा केन्द्रमा सिफारिस गरेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *