नेपाल डिजिटल पेमेन्टले एनसीएचएल प्रविधिको प्रयोग गर्ने – Nepal Press

नेपाल डिजिटल पेमेन्टले एनसीएचएल प्रविधिको प्रयोग गर्ने

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी तथा राष्ट्रिय वाणिज्य बैंकबाट संयुक्त रुपमा स्थापना गरेको नेपाल डिजिटल पेमेन्ट्स कम्पनी र नेपाल क्लियरिङ्ग हाउस बीच डिजिटल भुक्तानी प्रविधिक सहकार्य गर्ने सम्झौता भएको छ । सो सम्झौतामा एनडिपिसिका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारी तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

नेपाल डिजिटल पेमेन्ट कम्पनीले एनसीएचएलको नेशनल पेमेन्ट्स प्रणाली प्रयोग मार्फत विभिन्न प्रकारका भुक्तानीहरु रियल-टाइम तथा नन-रियलटाइममा कारोबार तथा फर्छर्यौट गर्न सक्ने भएको छ ।

एनडिपिसिले आफ्नो वित्तिय सेवाहरु डिजिटल माध्यमबाट ग्रामीण क्षेत्रमा पनि विस्तार गरी बैंकिङ्ग पहुँच बढाउन थप पहल गर्ने छ ।

हाल प्रारम्भिक परिक्षणको चरणमा रहेको एनडिपिसिको मोबाईल वालेट सञ्चालनमा आए पश्चात् अन्लाईन र अफ्लाईन दुबै अवस्थामा तथा फिचर फोन प्रयोगकर्ताहरुले समेत उक्त मोबाईल वालेट प्रयोग गर्न सक्नेछन् । एनडिपिसिले हालै नेपाल राष्ट्र बैंकबाट ‘नमस्तेपे’ सञ्चालनगर्न भुक्तानी प्रणाली सञ्चालकको अनुमति पनि प्राप्त गरिसकेको छ ।

दुई भुक्तानी सेवा प्रदायक बिचको सहकार्यले सरकारको डिजिटल नेपाल फ्रेमवर्क तथा नेपाल राष्ट्र बैंकको डिजिटल भुक्तानीको पहललाई थप टेवा पुर्याउने विश्वास गरिएको छ ।

एनसीएचएलले बैंक तथा वित्तिय संस्था, सरकारी तथा अर्ध-सरकारी संस्थाहरु, पिएसपी/ पिएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्चेन्ट बैंक लगायतका संस्थालाई अप्रत्यक्ष प्राविधिक सदस्यका रुपमा आबद्ध गराई डिजिटल भुक्तानीको क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *