सञ्चारमन्त्री गुरुङले वितरण गरे गृहजिल्लामा होम आइसोलेसन किट – Nepal Press

सञ्चारमन्त्री गुरुङले वितरण गरे गृहजिल्लामा होम आइसोलेसन किट

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गृहजिल्ला दोलखामा ‘होम आइसोलेसन किट’को व्यवस्था गरेका छन् ।

दोलखाका प्रतिनिधिसभाका सांसद समेत रहेका मन्त्री गुरुङले कोभिड संक्रमण भएको शंका लागेमा वा पुष्टि भएमा दोलखाका सर्वसाधरणले घरमै बसेर प्रारम्भिक चरणको उपचार गर्नका लागि ‘होम आइसोलेसन किट’सहितको स्वास्थ्य सुरक्षा सामग्री घरघरमा पुुग्ने गरी पठाएका हुन् ।

‘स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको उपस्थितिमा वितरण गर्ने व्यवस्था मिलाइएको सो सामग्री संक्रमितहरुले प्रारम्भिक चरणको उपचार घरैमा बसेर गर्न मिल्ने व्यवस्थासहित पठाइएको हो’, उनले भने, ‘दोलखा हेल्थ फाउन्डेशनको सहकार्यमा जिल्लाका सबै स्थानीय तहमा आवश्यक्ताको आधारमा वितरण गरिनेछ ।’

शुुक्रबार काठमाडौंबाट पठाइएको औंषधिसहितको सो किटमा चिकित्सकहरुको परामर्शमा संक्रमितहरुका लागि अत्यावश्यक औषधिहरु तथा स्वास्थ्य सुरक्षा सामग्रीहरु रहेका छन ।

मन्त्री गुरुङले कोभिड संक्रमण हुुनेवित्तिकै हतास हुने, निराश हुने अवस्था आएकाले दोलखाला सर्वसाधरणलाईबासी ढुक्क भएर स्वास्थ्यलाभ गर्न सो किटको व्यवस्था गरिएको बताए ।

काठमाडौंका अस्पतालहरुमा संक्रमितहरुको चाप बढन थालेपछि घरमै प्रारम्भिक चरणको उपचारको व्यवस्थाका लागि आवश्यक परामर्श लिन उनले आफ्नै सक्रियतामा दोलखा घर भई काठमाडौंलगायतका देशका विभिन्न भागमा रहेर काम गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु रहेको सो फाउन्डेशनको स्थापना गरेका हो ।

मन्त्री गुरुङले दोलखाका सर्वसाधरणलाई कोभिड संक्रमण हुुन नदिन, भए उपचारका लागि परामर्श लिने, अस्पतालहरुमा आवश्यक्त परे उपचारको राम्रो व्यवस्था गर्न सो फाउन्डेशनले काम गर्ने समेत स्पष्ट पारे। हरि जिरेल संयोजक रहेको फाउन्डेशनमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु रहेका छन् ।

यसैबीच, मन्त्री गुरुङले कोभिड संकट आउन नदिन सर्वसाधरणको घरघरमा पुुगेर सेवा दिने स्थानीय सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय प्रशासन, सामाजिक संघ, संस्था, सञ्चारकर्मीहरुसहित सबैलाई धन्यवाद दिएका छन् ।

उनले जनताको जीवनको सुरक्षा गर्ने दायित्व तीन वटै तहको सरकारले लिएको उल्लेख गर्दै कोभिड विरुद्धको अभियानमा उच्च मनोवलका साथ जुटन पनि सम्बन्धित सबै पक्षलाई आह्वान समेत गरेका छन्

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *