खोप र अक्सिजन सहायतालाई आग्रह, सगरमाथा संवादमा भाग लिन ठूला राष्ट्रलाई अपिल – Nepal Press

खोप र अक्सिजन सहायतालाई आग्रह, सगरमाथा संवादमा भाग लिन ठूला राष्ट्रलाई अपिल

लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहरको रुपमा विकास गरिने

काठमाडौं । कोभिड-१९ महामारीविरुद्ध एकजुट भएर लड्न नेपालले एसियाली मुलुकहरुलाई आग्रह गरेको छ ।

‘एसियाको भविष्य’ विषयक २६ औं अन्तर्राष्ट्रिय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोपको निश्पक्ष वितरण र पेटेन्ट राइट अन्य विकसित मुलुकहरुलाई दिन आग्रह गरे ।

कोभिडले थलिएको विश्वको पुनउत्र्थानमा एसियाली भूमिका विषयमा आयोजना गरिएको सम्मेलनलाई नेपालसहित भारत, मलेसिया, भियतनाम, थाइल्यान्ड लगायतका मुलुकका प्रधानमन्त्री तथा विदेशमन्त्रीले सम्बोधन गरेका थिए ।

सम्बोधनमा क्रममा प्रधानमन्त्रीले नेपालको पछिल्लो कोरोनाभाइरस संक्रमणको अवस्थाबारे जानकारी दिँदै परीक्षण, रोकथाम र उपचारमा जोड दिइएको बताए । साथै, अक्सिजन र खोप आपूर्तिका लागि उनले आग्रह गरे ।

कोभिड-१९ महमारीसँग जुधिरहेका मुलुकको सहायताका लागि विकसित मुलुकहरुले प्राथमिकता निर्धारण गर्नुपर्नेमा समेत उनको जोड थियो ।

सहकार्य, साथ र सह-अस्तित्व एसियाको चरित्र भएको उल्लेख गर्दै प्रधानमन्त्रीले खोप सहायतामा जोड दिए ।

विश्व नै अन्धविश्वास र असहिष्णुताले ग्रसित भएको बेला एसियाले बौद्ध धर्मलाई जन्म दिएको बताउँदै प्रधानमन्त्रीले बुद्ध जन्मथलो लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहरको रुपमा विकास गर्ने कार्यमा सरकार अघि बढेको समेत जानकारी गराए ।

नेपाल अल्पविकसित मुलुकबाट माथि उठ्ने तर्फ अघि बढेको बताउँदै प्रधानमन्त्रीले सन् २०३० भित्र सहस्राब्दी विकास लक्ष्य हासिल गरेर मुलुकलाई मध्यम आय भएका मुलुकमा स्तरोन्नती गर्ने आफूहरुको योजना रहेको समेत उनले बताए ।

प्रधानमन्त्रीले उक्त लक्ष्य हासिल गर्न सहयोगका लागि निकट मित्र, विकास साझेदार, क्षेत्री र बहुक्षेत्रीय संस्थाहरुलाई सहायताका लागि समेत आग्रह गरे । साथै, ओलीले नेपालको आर्थिक विकासमा लगानी गर्न विश्वभरका निजी क्षेत्रलाई समेत आग्रह गरे ।

कोभिड-१९ महामारीका कारण नेपालले पूर्वनिर्धारित सगरमाथा संवाद स्थगित गरेको जानकारी दिँदै प्रधानमन्त्रीले स्थगित सम्मेलनलाई सन् २०२१ को अक्टोबरमा आयोजना गरिने जानकारी गराए । यो सम्मेलनमा सहभागिताका लागि उनले सबै मुलुकलाई आग्रह गरे ।

जापानको प्रतिष्ठित मिडिया हाउस निक्केइ इन्कार्पेरेसनले आयोजना गरेको उक्त छलफल सत्रलाई ओलीसहित पाकिस्तानी प्रधानमन्त्री इमरान खान, मलेसियाली पूर्वप्रधानमन्त्री महाथिर बिन मोहम्मद, थाइल्यान्डका प्रधानमन्त्री प्रत्युत चान चाले समेत सम्बोधन गर्ने जनाइएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकर र सिंगापुरका उपप्रधानमन्त्री हेङ स्वी किटसहित अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलका एसिया मामिला हेर्ने बरिष्ठ निर्देशक इभान मेडेइरोस समेत वक्ता छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर