धुर्मुसले दिए अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी – Nepal Press

धुर्मुसले दिए अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी

काठमाडौं । कलाकारले पनि कोरोनाभाइरस महामारीविरुद्ध सहयोगी हात अघि बढाइरहेका छन् । यही मेसोमा अभिनेता एवं सामाजिक अभियन्ता सीताराम कट्टेल धुर्मुसले पनि अस्पताललाई अक्सिजन सहयोग गरेका छन् ।

धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष रहेका उनले सोमवार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालित १ सय ४० शय्याको कोभिड अस्पताललाई ५० थान अक्सिजन हस्तान्तरण गरेका हुन् ।

अक्सिजन नपाएर कसैले ज्यान गुमाउनु नपरोस् भनेर अस्पताललाई अक्सिजन सहयोग गरेको उनले बताएका छन् । भाइरस संक्रमितको उपचारमा अक्सिजनको अभाव देखिएकाले बर्दिवासमा अक्सिजन प्लान्ट स्थापना गर्ने उनको योजना छ ।

धुर्मुस–सुन्तली फाउन्डेसनले महामारीबाट पीडित भएकाको राहत र उद्धारका लागि आकस्मिक हेल्प कक्ष स्थापना गरेर एम्बुलेन्स, रक्तदान लगायतका सेवा दिँदै आएको छ ।

अहिलेसम्म हेल्प डेस्कबाट ८ सयभन्दा बढी व्यक्तिलाई सेवा दिइसकेको र भरतपुर अस्पताललाई स्वास्थ्य सामाग्रीहरु पनि हस्तान्तरण गरिएको धुर्मुसले फेसबुकमा उल्लेख गरेका छन् ।

महाभूकम्पपछि सामाजिक कार्यलाई निरन्तरता दिँदै आएका धुर्मुस अहिले भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा खटिरहेका छन् । २०७६ सालमा प्रदर्शनमा आएको फिल्म ‘सेन्टी भाइरस’बाट अभिनयमा कमब्याक गरेका उनी रंगशाला निर्माणपछि अभिनयलाई निरन्तरता दिने योजनामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर