हत्या गरेर मकै बारीमा श्रीमतीलाई गाड्ने श्रीमानसँगै ससुरा पनि पक्राउ – Nepal Press

हत्या गरेर मकै बारीमा श्रीमतीलाई गाड्ने श्रीमानसँगै ससुरा पनि पक्राउ

काभ्रेपलाञ्चोक । काभ्रेपालाञ्चोकको चौरी देउराली गाउँपालिका वडा नम्बर ९ हाल गोठपानी कालीमाटीमा बस्दै आएका एक महिलाको श्रीमान र ससुरा मिलेर हत्या गरेको खुलासा भएको छ । जेठ २ राती तनहुँको बन्दीपृर नगरपालिका ४ लोही माईतिर घर भएका काभ्रेपालाञ्चोकको चौरी देउराली गाउँपालिका वडा नम्बर ९ हाल गोठपानी कालीमाटी बस्दै आएकी २२ वर्षकी सुमिना गुरुङको उनकै श्रीमान सोनाम लामाले हत्या गरेर गाडेकाे अवस्थामा भेटिएकाे जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको हो ।

मृतकका श्रीमानले आफैले श्रीमतीको हत्या गरेको अनुसन्धानका क्रममा बताएपछि मृतकका श्रीमान २८ वर्षका लामा र मृतकका ससुरा चन्द्रबज्र लामालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । हत्यामा संलग्न २ जना माथी नै कर्तव्य ज्यान मुद्दा शिर्षकमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मृतक गुरुङ गाउँबाट एकाएक हराएपछि स्थानीयले खोजतालस गर्ने क्रममा उनका श्रीमानले हत्या गरेर आफ्नै मकै बारीमा खाल्डो खनेर गाडेको अवस्थामा शव भेटिएको हो । हत्या गरेको कुरा कोही कसैलाई नभनेर हराएको भनी गाउँमा हल्ला फैलिएपछि माईती पक्षले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले खोजी गरेको थियो ।

खोजी गर्ने क्रममा घट्नास्थलमा अनुसन्धान गर्दा उनका श्रीमान लामाले सोधपुछका क्रममा श्रीमतीको हत्या गरेर शव खाल्डो खनेर गाडेको भनेर आफैले बताएका थिए । उनले बताए अनुसार नै मकै बारीमा स्थानीय र प्रहरी समेतले खोतली उत्खनन गर्दा मृतक गुरुङको शव खाल्डो खनी गाडिएको अवस्थामा भेटिएको हो । मृतक गुरुङ र पक्राउ परेका उनका श्रीमान लामाविच २०७६ सालमा प्रेम विवाह भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर