राष्ट्रियसभा उप-निर्वाचन आज, ९ बजेदेखि मतदान – Nepal Press

राष्ट्रियसभा उप-निर्वाचन आज, ९ बजेदेखि मतदान

काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा आज ९ बजेदेखि मतदान हुँदैछ । बागमती प्रदेशका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गर्नेछन् ।

नेकपा एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादललाई नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यबाट कारबाही गरेपछि रिक्त स्थानमा उप-निर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनमा एमालेले बादललाई नै उम्मेदवार बनाएको छ । स्वतन्त्र उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटा र नेपाल मजदूर किसान पार्टी (नेमकिपा)ले कृष्णगोपाल तामाङलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस र माओवादीले देवकोटालाई मत हाल्नेछन् ।

एमालेका माधवकुमार नेपालको प्रस्तावमा कांग्रेस/माओवादीसमेतको सहमती लिइ देवकोटा उम्मेदवार बने पनि पछिल्लो समयमा नेपाल र पार्टी अध्यक्ष केपी ओलीबीचको सहमति भएपछि एमालेभित्रको माधव पक्षलाई सूर्य चिह्नमा मत हाल्न दवाव छ । सूर्य चिह्न बादलले पाएका छन् ।

माधव नेपालले हिजै एक विज्ञप्ति जारी गर्दै आफूपक्षीय मतदातालाई स्वविवेक प्रयोग गर्न अनुरोध गरेका छन् ।

राष्ट्रियसभा उपनिर्वाचनका लागि बागमती प्रदेशबाट १ सय १० प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उप-प्रमुख २ सय ३८ जना मतदाता छन् । मकवानपुरको हेटौंडा उप-महानगरपालिका ४ स्थित भुटनदेवी माविमा दुई मतदान केन्द्र तोकिएको छ ।

मतदान केन्द्र ‘क’मा १ सय १० जना प्रदेशसभा सखस्य र मतदान केन्द्र ‘ख’मा स्थानीय तहका प्रमुख/उप-प्रमुखले मतदान गर्नेछन् । निर्वाचन आयोगले मतदाताका लागि कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य नपर्ने यसअघि नै बताइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर