मंगल ग्रहबाट चिनियाँ यानले पठायो पहिलो तस्विर – Nepal Press

मंगल ग्रहबाट चिनियाँ यानले पठायो पहिलो तस्विर

बेइजिङ । चीनले मङ्गल ग्रहमा अवतरण गरेको आफ्नो यानले खिचेको पहिलो तस्विर सार्वजनिक गरेको छ । उसको जुरोङ नामक रोभर आइतबार बिहान मंगल सतहमा अवतरण गरेको थियो ।

यान अगाडिको दृश्यमा मङ्गल ग्रहको सतहका साथै रोबोटका केही भाग देखिन्छ भने पछाडिको दृश्यमा यानको सौर्य ऊर्जाका प्यानल देखिन्छ।

अवतरणपछि चीन मङ्गल ग्रहमा अवतरण गरेर लामो समय काम गर्न सक्ने यान राख्ने अमेरिकापछि दोस्रो देश बनेको थियो।

मङ्गल ग्रहको उत्तरी गोलार्धमा अवतरण गरेको उक्त यानले ९० दिन काम गर्ने अपेक्षा चिनियाँ वैज्ञानिकको छ। जुरोङ २४० किलो तौलको छ र सौर्य ऊर्जाबाट चल्छ।

यानको अग्लो भागमा क्यामरा राखिएको छ जसले तस्बिर लिनुका साथै यानलाई यताउता जान पनि सहयोग गर्छ। जुरोङमा क्यामराबाहेक अन्य पाँच उपकरण छन् जसले त्यहाँको चट्टान र मौसमको अध्ययन गर्नेछन्।

अमेरिकी मंगल यान पर्सिभिअरन्समा जस्तै यसमा पनि लेजर प्रविधिले चट्टानको अध्ययन गर्ने उपकरण जडान गरिएको छ ।

अमेरिकाले सन् १९७६ मा भाइकिङ–२ अवतरण गरेकै स्थानवरपर जुरोङ यान अवतरण भएको छ। सो स्थानमा लामो समयअगाडि समुद्र रहेको हुनसक्ने विश्वास छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *