उपत्यकासहित सातै प्रदेशमा एक/एक हजार क्षमताको होल्डिङ सेन्टर बनाइँदै (भिडियो) – Nepal Press

उपत्यकासहित सातै प्रदेशमा एक/एक हजार क्षमताको होल्डिङ सेन्टर बनाइँदै (भिडियो)

काठमाडौं । उपप्रधानमन्त्री तथा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक ईश्वर पोखरेलले देशभरका ८ स्थानमा होल्डिङ सेन्टर स्थापनाको काम अघि बढेको बताएका छन् ।

मारवाडी सेवा समिति नेपालले पशुपति गौशाला धर्मशालामा संचालन गरेको निःशुल्क आइसोलेसन सेवा शुभारम्भ गर्दै उनले ७ प्रदेशमा एक/एक वटा र बाँकी एउटा काठमाडौं उपत्यकामा होल्डिङ सेन्टर स्थापनाको लागि अर्थ मन्त्रालयले बजेट छुट्याइसकेको र नेपाली सेनाले निर्माण कार्य प्रारम्भ गरिसकेको जानकारी दिए ।

उनले भने, ‘होल्डिङ सेन्टरहरू, सेमि पर्मानेन्ट टाइपका ७ वटा प्रदेशमा ७ ठाउँ र काठमाडौं उपत्यकामा एउटा १/१ हजार क्षमताको निर्माण गर्ने कुराको औपचारिक प्रारम्भ भएको छ । त्यसको लागि अर्थ मन्त्रालयले बजेट छुट्याईसकेको छ । नेपाली सेनाले ८ ठाउँमै निर्माण कार्य प्रारम्भ गर्दैछ ।’

अक्सिजन अभाव हटाउन सरकारले गरिरहेको कामको जानकारी गराउँदै उनले पोखरेलले भने, ‘अक्सिजन प्लान्टहरुको अभावले गर्दाखेरी हाहाकार सिर्जना भएको छ । हामी त्यो अभावलाई पनि जति सकिन्छ चाँडो पूरा गर्न चाहन्छौं । जनताको उपचार गर्ने कुरा, संक्रमणबाट जनतालाई बचाउने, जनताको जीवन रक्षा गर्ने कुरा पहिलो प्राथमिकता हो । त्यसको लागि सरकारले जि टू जि वा बि टू बि लेभलबाट होस् । त्यो सबै खरिद गर्ने कुरामा पनि औपचारिक रूपले मन्त्रिपरिषद्ले निर्णय गरिसकेको र आवश्यक पहल र प्रयत्न प्रारम्भ गरेका छौं ।’

मित्रपार्कस्थित नेपाल-भारतमैत्री अस्पतालसँगको सहकार्य र व्यवस्थापनमा मारवाडी सेवा समितिले पाशुपत क्षेत्रमा ५१ बेडको निःशुल्क आइसोलेसन सेवा सञ्चालन गरेको छ । त्यहाँ ल्याब परीक्षण, अक्सिजन, खाना, बस्न तथा चिकित्सक र नर्सहरूको सेवा निःशुल्क उपलब्ध गराइने अध्यक्ष कैलाशचन्द्र गोयलले बताए । आइसोलेसनको सेवा लिन ९८०१०७१२११ र ९८०१९६७७०६ मा सम्पर्क गर्न सकिने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर