निःशुल्क कोभिड-१९ आइसोलेशन केन्द्र सञ्चालन – Nepal Press

निःशुल्क कोभिड-१९ आइसोलेशन केन्द्र सञ्चालन

काठमाडौं । गौशालामा ५१ शय्याको निःशुल्क कोभिड-१९ आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । मारवाडी सेवा समितिले निर्माण गरेको केन्द्रको उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज शुभारम्भ गरेका छन् । केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवाका अध्यक्ष कैलाश गोयलले कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रं (सीसीएमसी)का संयोजक पोखरेललाई जानकारी गराएका छन् ।

सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले कोभिडविरुद्ध सबैले मिलेर लड्नुपर्ने बताए । उनले भने, ‘यो सरकार र राजनीतिक नेतृत्वको मात्र काम भनेर बुझ्नु हुँदैन, सरकारले अभिभावकको भूमिका खेल्छ तर यो लडाइँको मोर्चामा हामी सबै एक ठाउँमा उभिएर लड्नुपर्छ ।’ उनले केन्द्रलाई पूर्ण रुपमा सञ्चालन गर्न सीसीएमसी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनका अनुसार अहिले देशका ८६ ठाउँमा पीसीआर प्रयोगशाला र केन्द्रदेखि स्थानीय तहसम्म कोभिड-१९ को उपचार गर्ने अस्पताल स्थापना भएको छ । सरकारले जनताको उपचार र जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेको बताउँदै उनले अक्सिजन प्लान्टलगायत स्वास्थ्य सामग्री खरीद गर्न मन्त्रिपरिषद्बाट निर्णय गरी प्रारम्भ र पहल थालिएको तथा कोरोनाभाइरस विरुद्धको खोप खरीदका लागि औपचारिक प्रक्रिया प्रारम्भ गरिएको जानकारी दिए ।

सात वटै प्रदेशमा ७ र काठमाडौंमा १ गरी एक हजार क्षमताका आठ होल्डिङ सेन्टर स्थापना गर्न अर्थ मन्त्रालयले बजेट छुट्याइसकेकाले छिट्टै नेपाली सेनाले निर्माण शुरु गरिने उनको भनाइ थियो । सेवाका अध्यक्ष गोयलले नेपाल-भारत मैत्री अस्पतालसँगको सहकार्यमा निर्मित अक्सिजन सेवासहितको आइसोलेसन केन्द्र स्थापना गरिएको जानकारी दिए ।
-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर