भिसा र श्रम स्वीकृति लिएर बसेका हजारौं युवा लकडाउनले रोकिए – Nepal Press

भिसा र श्रम स्वीकृति लिएर बसेका हजारौं युवा लकडाउनले रोकिए

काठमाडौं । वैदेशिक रोजगारमा जान हातमा भिसा र श्रम स्वीकृति लिएर बसेका युवा नियमित उडान रोकिएपछि खाडी मुलुक जानबाट बञ्चित भएका छन् । सँगै त्यहाँ अलपत्र परेकाहरू पनि फर्कन पाएका छैनन् ।

वैदेशिक रोजगार व्यवसायी संघका अनुसार अहिले साउदी अरबका लागि १५ हजार र कतारका लागि १० हजाभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । खाडी मुलुकबाट बिदा र भिसा सकिएर नेपाल आएकाहरूको संख्या पनि १० हजारभन्दा माथि छ ।

संघका महासचिव सुजित श्रेष्ठले सरकारले एकैपटक अन्तर्राष्ट्रिय उडान बन्द गर्दा खाडी मुलुक जाने नेपाली कामदार परेको बताए । दुबई बाहेक साउदी अरब, कतार, बराइन, कुवेत, ओमनले नेपाललाई ‘रेड जोन’मा राखेका छैनन् । यी मुलुकले अहिले पनि नेपाली कामदारलाई अनुमति दिइरहेपनि नेपाल सरकारको उदाशीनताले उनीहरू जान वञ्चित हुनुपरेको श्रेष्ठले बताए । ‘सबै मापदण्ड पूरा गरेर नेपालबाट खाडी मुलुक जान के कुराले रोकेको हो । हामी आफै आश्चर्यमा छौं,’ उनले नेपाल प्रेससँग भने ।

छिमेकी देश भारतमा कोरोना महामारी तीव्र बनिरहँदा पनि सातामा दुई उडानका लागि अनुमति दिइएको तर सबै प्रोटोकल पूरा गरेर खाडी मुलुकमा कामदार लैजान्छौं भन्दा सरकारले नसुने झैं गरेको व्यवसायीले गुनासो गरेका छन् । श्रेष्ठ भन्छन् ‘हप्तामा एक/दुई फ्लाइट मात्रै भए पनि हुन्छ, हामीले निरन्तर उडान भर्न पनि भनेका छैनौं तर, त्यति गर्न पनि सरकार तयार छैन ।’

भारतीय मुलुकका नागरिकलाई १० वटा उडानमार्फत साउदी जान दिएकोमा श्रेष्ठको आक्रोश छ । त्यसको असर नेपाली कामदार र वैदेशिक रोजगार व्यवसायीलाई परेकोले यसलाई रोक्न माग गरिएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्ण दवाडी भने अहिले पनि अनलाइनमार्फत श्रम स्वीकृतिलाई निरन्तरता दिइरहेको बताउँछन् । ‘हामीले श्रम स्वीकृति मात्र दिने हो । कामदारलाई अन्य मुलुक जान दिने/नदिने हाम्रो बुताको कुरा होइन ’, उनले भने ।

यता अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि हवाई कम्पनीले पनि भाडा बढाएका छन् । संघका अनुसार केही समयअघिसम्म नेपालबाट-साउको भाडा २५ देखि ३२ हजार थियो । त्यो अहिले ८५ हजारसम्म पुर्‍याइएको छ । ‘यत्रो महंगो टिकट काटेर कसरी जान सक्छन् । यो त सरासर लुट भएन र ?,’ श्रेष्ठको प्रश्न छ । गत वर्षको लकडाउमा प्रतिव्यक्ति ७२ हजार असुलेर कामदार पठाएपनि अहिले त्यो अवस्था नरहेको उनले बताए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह-प्रवक्ता प्रेम सुवेदीले अन्तर्राष्ट्रिय उडान संचालनबारे जुलाई १ बाट केही न केही उपाय निकाल्ने गरी गृहकार्य भइरहेको जानकारी दिए । उनका अनुसार मन्त्रालयले ‘कोभिड संकट समिति’ बनाएर खाडी मुलुक जान भिसा र श्रम स्वीकृति लिएका कामदारलाई सम्बोधन गरिनेछ ।

‘अहिले विदेशी नागरिकलाई आफ्नो देश फिर्तीको लागि मन्त्रालयले काम गरिरहेकोले त्यो विषयमा कुरा अघि बढाइएको छैन । तर, गुनासो धेरै आएकाले त्यसको चाँडै सम्बोधन गर्ने पक्षमा छौं,’ उनले भने । अहिले नेपाली कामदारलाई चाटर्डमार्फत महंगो भाडा तिराएर पठाउने सरकारको ध्येय पनि नरहेको उनले प्रष्ट्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *