बैशाखसम्म ८१.२ प्रतिशत उद्योग सञ्चालनमा आएको राष्ट्र बैंकको निष्कर्ष – Nepal Press

बैशाखसम्म ८१.२ प्रतिशत उद्योग सञ्चालनमा आएको राष्ट्र बैंकको निष्कर्ष

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड- १९ का कारण अर्थतन्त्रमा पारेको प्रभावसम्वन्धी दोस्रो पुनरावृति सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै चालू आर्थिक वर्षको बैशाखसम्ममा  ८१.२ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा आएको बताएको छ ।

२०७८ असारको तुलनामा समिक्षा अवधिसम्ममा उद्योग व्यवसायको उत्पादन २९ प्रतिशतबाट बढेर ६१.४ प्रतिशत पुगेको छ । त्यस्तै कृषि, वन तथा मत्स्यपालनको ५८.१ प्रतिशतबाट बढेर ७६ प्रतिशत , खानी तथा उत्खनन तर्फ ४० प्रतिशतबाट बढेर ६० प्रतिशत, विद्युत ग्याँस तथा पानीको ४१.२ प्रतिशतबाट बढेर ७१.२ प्रतिशत पुगेको छ ।

यसैगरी निर्माण क्षेत्रको उत्पादन ३९.६ प्रतिशतबाट बढेर ७०.६ प्रतिशत , होटल तथा रेष्टुरेण्डको कारोबार ७.१ प्रतिशतबाट बढेर ४०.८ प्रतिशत पुगेको छ ।

यातायात तथा भण्डारण तर्फ १५.७ प्रतिशतबाट बढेर ६७.५ प्रतिशत , सञ्चार क्षेत्र ३३.२ प्रतिशतबाट बढेर ५८.८ प्रतिशत , रियल स्टेट भाडा तथा व्यवसायिक क्रियाकलाप १२.२ प्रतिशतबाट बढेर ६४.४ प्रतिशत , शिक्षा १८.३ प्रतिशतबाट बढेर ६५.१ प्रतिशत र स्वास्थ्य तथा सामाजिक कार्य ४०.८ प्रतिशतबाट बढेर ७६.७ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस अवधिमा सबैभन्दा कम कारोबार होटल तथा पर्यटन क्षेत्रको रहेको छ ।

बैशाखको ५ देखी १४ गतेसम्म टेलिफोन अन्तरवार्तामार्फत गरिएको सर्वेक्षणमा ६७४ उत्तरदाता माध्ये ८४ प्रतिशत अर्थात ५६२ जना उद्योगी व्यसायीले सहभागिता जनाएको बताइएको छ ।

सर्वेक्षणमा सहभागि मध्ये थोक तथा खुद्रा व्यापारबाट सर्वाधिक २८.१ प्रतिशत , उत्पादनमुलक उद्योगबाट १९ प्रतिशत , होटल तथा रेष्टुरेन्टबाट १७.१ प्रतिशत नमुना प्राप्त भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सबैभन्दा कम विद्युत , ग्यास तथा पानी क्षेत्रबाट ०.५ प्रतिशत र खानी तथा उत्खन्न क्षेत्रबाट १ प्रतिशतको सहभागिता रहेको थियो ।
चालु आर्थिक वर्षको असोज महिना देखि कोभिड -१९ का लागि जारी गरिएका प्रतिवन्धात्मक आदेशहरु हटाइएका कारण उद्योग तथा व्यवसायहरुको गतिविधि बढेको हो । तर, कोभिड- १९ को दोस्रो लहर सुरु भएसँगै बैशाख १६ गतेबाट निषेधाज्ञा जारी  छ ।

निषेधाज्ञाका कारण अतिवाश्यक वस्तु तथा सेवाहरु सञ्चालनमा प्रतिवन्ध लगाइएको छ भने मानिसको आवागमनमा कडाइ गरिएको छ । यसले गर्दा पुन: औद्योगिक तथा व्यवसायिक गतिविधिहरुमा असर पर्ने देखिन्छ ।

आगामी दिनमा उद्योग यवसायमा पर्ने असर कम गर्न कोभिड १९ को संक्रमण रोक्दै यथासम्भव रुपमा आर्थिक गतिविधिहरु पनि चलयामान बनाइरहनु पर्ने निष्कर्ष नेपाल राष्ट्र बैंकले निकालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *