काठमाडौंलगायत विभिन्न ठाउँमा वर्षा, यी ठाउँमा बाढीको चेतावनी – Nepal Press

काठमाडौंलगायत विभिन्न ठाउँमा वर्षा, यी ठाउँमा बाढीको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यका लगायत देशको विभिन्न भूभागमा बुधबार बिहानदेखि हल्का देखि मध्य खालको वर्षा भइरहेको छ ।

अरब सागरमा विकसित भएको ताउ–ते चक्रवात (सामुद्रिक आँधी)को प्रभावले काठमाडौँको मौसममा बदली भई वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले दिएको सूचना अनुसार चक्रवातको कारणले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।

देशभर सामान्य देखि पूर्ण बदली भइरहेको मौसमविद्हरुले बताएका छन् ।कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी तीन दिनसम्म कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक र दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना छ।

यस्तै टाउ ते चक्रवात सामुद्रिक आँधीको प्रभावले नेपालको विशेष गरी पश्चिम भूभागमा हुने वर्षाको कारण सुदूरपश्चिम,कर्णाली,लुम्बिनी,गण्डकी प्रदेशका पहाडी भूभाग भई बहने साना नदीमा वहाव वढ्ने,केहीमा सतर्कता तह पुग्न सक्ने बाढी पूर्वानुमान विभागले जनाएको छ ।

भोलिसम्म नदीतटिय क्षेत्रमा हुने गतिविधिमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

भारी वर्षाको कारणले नदीहरुमा आकस्मिक बाढी आउने भएकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ । अरब सागरमा विकसित भएको चक्रवातले हावाहुरीसहितको असिना पानी पर्ने सम्भावना रहेको पनि मौसम विभागले बताएको छ ।

ताउ–ते चक्रवात (सामुद्रिक आँधी)को प्रभाव बुधबार देखि शुक्रबार सम्म रहने बताइएको छ । चक्रवातको प्रभाव नेपालको पश्चिम क्षेत्रबाट क्रमस पूर्व तर्फ बढ्दै गएर बाहिरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *