बाँकेमा संक्रमितको संख्यामा कमी आए पनि मृत्युदर उस्तै – Nepal Press

बाँकेमा संक्रमितको संख्यामा कमी आए पनि मृत्युदर उस्तै

रूपन्देही । कोरोना संक्रमितको संख्यामा केही कमी आएको बाँकेमा मृत्युदर भने घटेको छैन। पछिल्लो १० घण्टाको समयमा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मंगलबार राती साढे ८ बजेबाट बुधबार बिहान साढे ६ बजेको बीचमा १५ जनाको मृत्यु भएको डीसीसीएमसी बाँकेले जानकारी दिएको छ । ७ जनाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा र ८ जनाको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।

डीसीसीएमसी बाँकेका अनुसार जेठ २ गते कोहलपुर भर्ना भएका सानोभेरी रुकुमा ३६ वर्षीय पुरुष, बैशाख २७ गते भर्ना भएका कोहलपुर–१२ का ४१ वर्षीय पुरुष, बैशाख २५ गते भेरी अस्पताल भर्ना भएका बढैयाताल बर्दियाका ८४ वर्षीय पुरुष, जेठ २ गते भेरीमै भर्ना भएका नेपालगन्ज ६ का ४५ वर्षीय पुरुष, जेठ १ गते मेडिकल कलेज कोहलपुर भर्ना भएका राप्तीसोनारी ३ बाँकेकी ५९ वर्षीया महिला र जेठ ३ गते भेरी अस्पताल भर्ना भएका टिकापुर १६ कैलालीका २८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्यसैगरी मंगलबार मेडिकल कलेज कोहलपुर भर्ना भएकी कोहलपुर ११ की ५८ वर्षीया महिला, सोही अस्पताल भर्ना भएका नेपालगन्ज ३ का ६१ वर्षीय पुरुष, सोही दिन मेडिकल कलेज भर्ना भएकी त्रिवेणी १ रुकुम पश्चिमकी २७ वर्षीया महिला, जेठ १ गते भेरी अस्पताल भर्ना भएका नेपालगन्ज ४ का ६७ वर्षीय पुरुष, बैशाख २७ गते मेडिकल कलेज कोहलपुर भर्ना भएका कोहलपुर ४ का ४२ वर्षीय पुरुष र बैशाख ३१ गते भेरी अस्पताल भर्ना भएका ठाकुरबाबा बर्दियाका ६३ वर्षीय पुरुषको पनि गएराती मृत्यु भएको छ ।

त्यस्तै जेठ ३ गते भेरीमा भर्ना भएकी ठाकुरबाबा बर्दियाकी ३८ वर्षीया महिला, ४ गते नै भेरीमा भर्ना भएका तुलसिपुर दाङका ६५ वर्षीय पुरुष र बैशाख २९ गते भेरी अस्पताल भर्ना भएकी लम्की चुहा कैलालीकी ६८ वर्षीया महिलाको पनि मृत्यु भएको डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए ।

योसँगै बाँकेमा जिल्ला भित्रका मृतकको संख्या २५३ र जिल्ला बाहिरका मृतकको संख्या २०९ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *