प्राकृतिक रुपमा कोरोनाको उपचार गराइरहेछ कर्णाली आयुर्वेद औषधालय – Nepal Press

प्राकृतिक रुपमा कोरोनाको उपचार गराइरहेछ कर्णाली आयुर्वेद औषधालय

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ । कोभिडका कारण हालसम्म कर्णालीमा १ सय ६३ जना भन्दा बढीको मृत्यु भइसकेको छ भने प्रदेशभर ५ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । ती मध्ये अधिकांश होम आइसोलेसनमा छन् ।

गम्भीर अवस्थाका विरामीहरु प्रदेश कोभिड अस्पताललगायत अन्य निजी अस्पतालहरुमा उपचार भइरहेको छ । कोरोना भाइरसबिरुद्धको लडाइँमा एलोपेथिकसँगै आयुर्वेदिक उपचार विधि पनि प्रभावकारी हुने यसअघि नै प्रमाणित भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बेसार पानी, अम्बाको पात, गुर्जो प्रयोग गर्न सुझव दिइरहेका हुन्छन् ।

कर्णाली प्रदेशमा एक मात्र आयुर्वेद औषधालय छ । वीरेन्द्रनगर वडा नं. ४ स्थित प्रदेश अस्पतालको आडैमा रहेको प्रदेश आयुर्वेद औषधालय यतिबेला कोभिड विरामीका लागि प्राकृतिक उपचार गर्ने थलो बनेको छ ।

डा. शंकर रिजालको नेतृत्वमा रहेको यो औषधालयले कोरोना संक्रमितलाई प्राकृतिक चिकित्साको माध्यमबाट उपचार गराइरहेको छ । त्यहाँ विहानै आइसोलेसन कक्षमा जाँदा व्यायाम, प्रणायाम त हुन्छ नै म्युजिक सिष्टमको प्रयोग गरेर कसरत गराउने पनि गरिएको छ ।

‘कर्णालीमा कोरोनाको महामारी फेरि सुरु भएको थियो । यस्तो अवस्थामा नेपालकै जडिबुटीबाट कोरोनाका संक्रमितलाई निको बनाउन सकिन्छ भनेर हामीले हाम्रो कार्यालयको हलमा नै जेठ २४ गतेबाट आइसोलेसन कक्ष सञ्चालनमा ल्याएका थियौं,’ अस्पतालका प्रमुख चिकित्सक रिजालले भने, ‘यहाँ आइसोलेसन कक्ष स्थापना गर्नेपर्ने बाध्यता थिएन तर हामी खाली बस्ने र कोभिडका संक्रमितले उपचार नपाउने अवस्था आउने भएपछि यहाँ पनि आइसोलेसन बनायौं ।’

औषधालयमा अहिले ८ पुरुष र तीन महिला संक्रमित उपचाररत छन् । सातजना उपचारपछि घर फर्केका छन् भने गम्भीर प्रकृतिका २ जनालाई प्रदेश अस्पताल रेफर गरिएको छ । ‘उहीहरुलाई प्रतिमिनेट १० लिटर अक्सिजन चाहिने भयो, हामीसँग नभएका कारण रेफर गरेका हौं,’ डा. रिजालले भने ।

उनले यहाँ भर्ना हुने विरामीको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागबाट जारी कोरोना उपचार सम्वन्धि निर्देशिका अनुसार उपचार भइरहेको बताए । विरामीको शरीरको स्थिति र आवश्यकता हेरेर दैनिक ध्यान, योगा, फोक्सोको कसरतलगायतका विधिबाट मनोवैज्ञानिक उपचार भइरहेको छ । ‘हरेक दिन विहान, दिउँसो र बेलुका जडिवुटीको काँडा दिने गरेका छौं । गुर्जो, एस्टेमधु, असुरोको पात मिक्स गरेर आवश्यकता अनुसार मह वा चिनी, भेली स्वाद अनुसार राखेर दिन्छौं । त्यत्तिकै पनि खान दिएका छौं,’ उनले औषधालयमा आएका विरामीलाई घरकै जस्तो वातावरण दिएर उपचार गराइरहेको बताए ।

‘उपचारमा रहेकाहरुलाई घरकै जस्तो प्रेमिल वातावरण बनाइ उपचार गर्दै आइरहेका छौं । उहाँहरुमा धेरै रिकभर भइरहेको छ । उहाँसँग नजिक हुने, दुःख सुखमा सहभागी हुँदा फरक भावना उहाँहरुले घरमै बसेर उपचार गराइरहेको महशुस गर्नु भएको छ,’ डा. रिजालले थपे, ‘पूर्वाधार र जनशक्तिलाई अधिकतम प्रयोग गर्दै आइरहेका छौं । हामी कोभिडबाट नडराई उहाँँहरुसँगै स्वास्थ्य मापदण्ड पु¥याएर काम गर्दै आइरहेका छौं ।’

औषधालयमा हाल चार जना मात्रै कर्मचारी छन् । सीमित जनशक्तिका बाबजुद औषधालयको हललाई साइसोलेसन बनाइएको छ । डा. रिजालले कोरोनाका कारण जडिबुटीप्रति आम नागरकको भरोसा बढेको अनुभव सुनाए ।

‘जडिबुटीप्रति कर्णालीमा नागरिकको झुकाव धेरै छ । चार हजार किलो गुर्जो मात्रै गतवर्ष हामीले वितरण गरेका थियौं । नयाँ भेरियन्टसहितको कारोना आएसँगै हजारौं फायल औषधिहरु दिएका छौं । घाँटी दुख्ने, ज्वरो आउने सबैलाई औषधि वितरण, निःशुल्क दिने गरेका छौं । सबै औषधिहरु, ल्यावहरुको जाँच पनि निःशुल्क गर्ने गरेका छौं ।’ उनले थपे ।

जनशक्ति अभावका कारण चाहेर पनि थप काम गर्न नसकिएको उनले सुनाए । भने, ‘प्रशासनको दरवन्दी नै छैन । नासु र खड्दार पनि दिनु भएको छैन । प्रदेश सरकार मातहतको कार्यालय हो । कम्तिमा प्रशासन चलाउने कर्मचारी भएको भए पनि हामीलाई राहत हुन्थ्यो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर