खोप लगाएका स्वास्थ्यकर्मीमा पनि संक्रमण, उपचार सेवा प्रभावित हुने डर – Nepal Press

खोप लगाएका स्वास्थ्यकर्मीमा पनि संक्रमण, उपचार सेवा प्रभावित हुने डर

रुपन्देही । कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका र पहिले पनि संक्रमणमा परेका स्वास्थ्यकर्मीहरु दोस्रो चरणको संक्रमणमा पर्न थालेपछि रुपन्देहीकाे लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पतालमा जनशक्तिको समस्या देखिन थालेको छ ।

दैनिक कोरोना संक्रमितको सेवामा खटिने स्वास्थ्कर्मीहरु पुनः संक्रमित हुन थालेपछि रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालको सेवा पनि प्रभावित हुन थालेको छ ।

यसै पनि अहिले यो अस्पतालमा अस्पतालको क्षमताभन्दा निकै धेरै संख्यामा उपचार गर्नुपर्ने बाध्यता छ, त्यसमाथि केही स्वास्थ्यकर्मी संक्रमणमा परेका कारण नियमित सेवा प्रभावित हुन थालेको अस्पताल प्रशासनको भनाइ छ ।

संक्रमित कतिपय स्वास्थ्यकर्मी घरमा नगएर अस्पतालकै क्वाटरलाई आइसोलेसन बनाएर बसेका छन् भने कतिपय अस्पतालमै भर्ना भएर उपचार गराइरहेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालमा मात्र ६४ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित बनेका छन् । अस्पतालमा कार्यरत मेडिकल अफिसरदेखि नर्सिङ स्टाफ तथा अन्य कर्मचारीहरु संक्रमित भएपछि अस्पतालको सेवामा सामान्य असर देखिएको अस्पतालले जनाएको छ ।

रातदिन संक्रमितकै उपचारका खटिने क्रममा उनीहरुलाई संक्रमितहरुबाटै संक्रमण सरेको हो । अस्पतालमा काम गर्ने क्रममा संक्रमण पुष्टि भएपछि घरपरिवारमा संक्रमण रोक्न घर जान नचाहेका स्वस्थ्यकर्मीलाई समस्या भएको अस्पतालले जनाएको छ ।

कोरोनाको पहिलो लहरमा होटल आइसोलेशन बनाएर बसेका संक्रमित स्वास्थ्कर्मीहरुको शोधभर्ना मन्त्रालयले नगरिदिएपछि यसपटक स्वास्थ्यकर्मीहरुले यस्तोखालको आइसोलेशन बनाउन नसकेको अस्पताल प्रशासनले जनाएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ६४ बढी स्वास्थ्यकर्मीलाई अहिलेसम्ममा कोरोना संक्रमिण पुष्टि भइसकेको छ । यसमध्ये केही दोस्रो पटक संक्रमणमा परेका हुन् । अहिले संक्रमणमा पर्ने अधिकांशले कोरोनाविरुद्धको खोप लगाएका थिए ।

अस्पतालका सूचना अधिकारी डा.बिष्णु गौतमले ५ जना मेडिकल अफिसर, ८ जना पारामेडिक, २३ जना नर्सिङ स्टाफ, १५ जना सपोर्टिङ स्टाफ, एनेस्थेसिया २ जना, गाइनोक्लोजिष्ट २ जना, प्रशासन तर्फबाट १ जना र फर्मासिस्ट तर्फका ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

लक्षणसहितका १७ जनाको अस्पतालमै उपचार चलिरहेको छ भने लक्षण नदेखिएका संक्रमितहरु निवासमै आइसोलेट भएका छन् ।

अस्पतालले कोरोनासंग सरोकार नरहेका बाहेक सबै कन्सल्टेण्ट, मेडिकल अफिसर र कोरोना करारका चिकित्सकहरुलाई कोरोना संक्रमणको उपचारमा परिचालन गरेको प्रवक्ता डा. गौतमले जानकारी दिए । एकैपटक ६४ जना स्वास्थ्यकर्मीहरु संक्रमित हुन पुग्दा सेवामामा सामान्य असर पुग्नु स्वाभाविक भएको उनले बताए ।

यो अस्पतालमा कुल ६ सय कर्मचारी कार्यरत छन् । डा. गौतमका अनुसार अस्पतालमा मेडिकल अफिसर लेबलका १८ जना, विकास समितिबाट १५ जना, कोरोना करारमा नियुक्त भएका ८ जना तथा कन्सल्टेण्ट चिकित्सकहरु करिव ३५ जना कार्यरत छन् । कोरोना संक्रमणको उपचारका लागि मात्र १०० बढी स्टाफ नर्सहरु करारमा भर्ना गरिएको छ ।

जनशक्तिमा कमी नहोस् भनेर वार्डहरु मर्ज गरेर कोरोना संक्रमतिको उपचारको व्यवस्था मिलाइएका कारण अहिलेसम्म समस्या नदेखिएको हो ।

जनशक्तिको अभाव हुन नदिन अन्य वार्डहरुबाट दक्ष जनशक्ति सिफ्ट गरेर भए पनि उपचारमा कमी आउन नदिने गरी तयारी भइरहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र खनालले बताए । उनले सकेसम्म अहिलेकै जनशक्तिबाट अधिकतम बिरामीलाई सेवा दिने प्रयास गरेको बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना विशेष अस्पतालसहित इमर्जेन्सी र फिभर क्लिनिकमा गरी करिब साढे ३ सय संक्रमितको उपचार भइरहेको छ ।

१६ जना संक्रमित गर्भवतीको शल्यक्रिया

गतवर्षको कोरोना महामारीको शुरुमा गर्भवतीलाई शल्यक्रिया गर्न नसकेर आलोचना खेपेको प्रादेशिक अस्पतालले तत्काल सेवा शुरु गरेको थियो । २०७७ भदौं १५ गते अस्पतालमा पहिलो पटक संक्रमित गर्भवतीको शल्यक्रिया सुरु भएको थियो ।

महामारीको दोस्रो लहर सुरु भएपछि १६ जना संक्रमित महिलाले शल्यक्रियाबाट बच्चा जन्माएको अस्पतालको तथ्यांकमा उल्लेख छ । अस्पतालमा कुल २४ संक्रमित महिला सुत्केरी भएका छन् । जसमध्ये ८ जना मात्र नर्मल डेलीभरी भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । त्यसबाहेक गर्भाअवस्थासँग सम्बन्धित अन्य समस्या (गर्भपतन, रक्तश्राप लगायत) भएर आएका चार जना रहेका छन् ।

रुपन्देहीमा अहिले प्रादेशिक अस्पतालमा मात्र संक्रमित गर्भवतीको शल्यक्रिया गरिन्छ । संक्रमित महिलाको प्रसुती सेवाको लागि अस्पतालले छुट्टै व्यवस्था गरेको छ ।

तर महामारीमा गरिएको बन्दाबनदीका कारण भएको सवारी साधनको समस्या र प्रादेशिक अस्पतालमा कोरोना संक्रमणका धेरै बिरामीको उपचार गर्न थालिएपछि अस्पतालमा सुत्केरी हुने संख्यामा पनि निकै कमी आएको छ ।

सामान्य समयमा दिनमा ५० देखि सय जनासम्म प्रादेशिक अस्पतालमा सुत्केरी हुने गरे पनि निषेधाज्ञा सुरु भएयता १५ देखि २० जनाले मात्र अस्पतालमा बच्चा जन्माउने गरेको सूचना अधिकारी डा. गौतमले बताए ।

अहिले धेरैजसो पालिकास्तरमै खुलेका बर्थिङ सेन्टरमा धेरैले डेलिभरी गराउन थालेका छन् । १६ वटा स्थानीय तह रहेको रुपन्देहीमा २५ वटा बर्थिङ सेन्टर छन् । संक्रमणको त्रासका कारण पनि यो अस्पतालमा सेवाग्राहीको संख्या घट्दै गएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर