कार्यदलले मिलाउला एमाले ? बादलको चुनावले हुन सक्छ निर्णायक विभाजन – Nepal Press

कार्यदलले मिलाउला एमाले ? बादलको चुनावले हुन सक्छ निर्णायक विभाजन

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको दुई दिनको वार्तापछि बनेको कार्यदलको पहिलो बैठक आज बस्यो । आइतबार गठन भए पनि दुई दिनपछि बसेका बैठकले तीन वटा निर्णय गरेको जानकारी सिंहदरबारबाट निस्कदै गर्दा एमालेका दुवै पक्षका नेताले जानकारी मिडियालाई गराए ।

नेपाल पक्षबाट कार्यदल संयोजक भीम रावल र ओली पक्षका कार्यदल सदस्य एवम एमाले प्रवक्ता प्रदीप ज्ञवालीले एउटै भावभङ्गीमा निर्णय सम्प्रेषण गरे ।

पहिलो बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी लागू गर्ने, पार्टीमा देखिएका समस्याहरूलाई यथोचित रुपमा समाधान गर्दै एकताबद्ध एमालेका आग्रह गर्ने र एक आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट अलग रहन आव्हान गर्ने निर्णय गर्‍यो ।

यी निर्णय सुन्दै गर्दा लाग्थ्यो अब कार्यदल एमाले एकजुट पार्न अघि बढीसक्यो । तर, एमाले भित्रको जारी अन्तरसंघर्ष र किचलो अनुमान गरिएजस्तो मात्रै छैन् । ती अन्तरविरोध र किचालेकोबाट अझैं पनि निस्कने सार हो- एमाले विभाजन अवश्यम्भावी छ र त्यसको ‘क्याटालिस्ट’ रामबहादुर थापा ‘बादल’को जिताउने/हराउने विषय हुन सक्छ ।

ओली-नेपालबीचका पछिल्ला तीन दिनका वार्ता कार्यलदको गठन आफैं पनि आशंकाको गर्भवमा छ । नेपाल पक्षले वार्ता र कार्यदल ‘टाइम किल’ गर्ने ओलीको रणनीति मात्रै भएको आशंका गरेको छ । राष्ट्रियसभा निर्वाचनमा बादल जिताउन र संविधानको धारा ७४ (४) बमोजि विश्वासको मत लिने प्रयोजना लागि मात्रै यी सब भएको निष्कर्ष नेपाल पक्षमा छ ।

यी तमाम आशंकाबीच बसेको कार्यदल बैठकमा ओली पक्षका प्रभावशाली नेता विष्णु पौडेल र शंकर पोखरेल उपस्थित भएनन् । हुन त काम विशेषले अनुपस्थित भएको भनियो । उनीहरु बिनाको कार्यदलको पहिलो बैठकले कुनै ‘बोल्ड’ निर्णय लिन सकेन जुन स्वभाविक थियो ।

कार्यलदपछि अब कुरा गरौं वागमती प्रदेशका लागि ६ जेठमा हुन गइरहेको राष्ट्रिय सभाको उपनिर्वाचनको । मतका हिसाबले सग्लो एमाले आफैंमा सुविधाजन अवस्थामा छ । त्यसैले एमाले उम्मेदवार विजयी हुने कुरा शुनिश्चित जस्तै हो । तर, त्यो एमालेमा कुनै अन्तरविरोध नभएको अवस्थामा मात्रै हो ।

माधव नेपाल पक्षले नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र-बाबुराम पक्षसँग मिलेर खिमलाल देवकोटालाई उम्मेदवार खडा गरेको छ । एमालेको संस्थापन पक्षका उम्मेदवार हुन् माओवादी परित्याग गरि एमाले गएका बादल।

नेकपा विभाजनताका माओवादी छोडेर एमाले लागेकाहरुलाई ओली ‘संकटका बेला उम्रिएका पालुवा’ भन्छन् । र, ती पालुवाको संरक्षण हरहालतमा गरिने सार्वजनिक अभिव्यक्ति ओलीले दिइरहका छन् ।

त्यस्तै अनुसार बादललाई जिताउन एमाले सक्रिय भएको छ । सामेबार एमले महासचिव ईश्वर पोखरेलले बादलको पक्षमा भोट हाल्न वागमती प्रदेशसभा सदस्य र प्रदेश अन्तर्गतका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई ह्वीप जारी गरे ।

आज बादल आफै भोट माग्न नेता नेपालको दैलोमा पुगे । आजै दिउँसो सिंहदरबारमा एमालेको ‘राष्ट्रियसभा निर्वाचन परिचालन कमिटी’को बैठक बस्यो । बैठकले ‘बादल’लाई निर्वाचनमा जिताउने, निर्वाचनमा जिताउनको लागि प्रयाप्त मात्रामा मत भएको र निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय तहमा निर्वाचितहरुले एकतावद्ध भएर भोट हाल्ने निष्कर्ष निकालेको वागमती प्रदेश कमिटी अधयक्ष आनान्द पोखरेलले जानकारी दिए । उनले अरु पार्टीको पनि सहयोग लिने, सहयोगका लागि राप्रपाले आधिकारिक रुपमा पत्र नै पठाइसकेको छ र नेपाल मजदुर किसान पार्टी पनि सकरात्मक भएको बताए ।

 

नेपाल पक्षले पनि रामबहादुर थापालाई मत दिन्छ त भन्ने नेपाल प्रेसको प्रश्नमा पोखरेलले भने- ‘पहिलो कुरो अहिले पार्टीमा पक्ष नै छैन्, नेकपा (एमाले) मात्रै छ । एमालेको सूर्य चिन्हबाट चुनाव जितेका प्रदेश र स्थानीय तहकाका प्रतिनिधि हुनुहुन्छ । उहाँहरु सबैले पार्टीको निर्णय अनुसार सूर्य चिन्हको उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई भोट हालेर जिताउनुहुन्छ ।’

तर, उनले त्यसो भनेको केही समयमै नेपालको निजी सचिवालको विज्ञप्ति आयो जसबाट मतदानमा एमाले एकतावद्ध भएर बादलको पक्षमा उभिन्छ भन्ने कुराको खण्डन गर्छ । नेपाल-बादलबीचको भेटमा भएको भनिएको समझादारीबारे प्रष्ट्याउन जारी गरिएको विज्ञप्तिमा आफूहरुले मत नदिने तर मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न दिने बताइएको छ।

‘आज कमरेड रामबहादुर थापा कोटेश्वर निवासमा आई पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्व प्रधानमन्त्री एवम् वरिष्ठ नेता माधव कुमार नेपालले उम्मेदवारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार वनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो,’ नेपालको सचिवालयको तर्फबाट स्वकीय सचिव मोहन गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘त्यसपछि कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गर्नुभएको हो । मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन । भ्रममा नपर्न सबैलाई अनुरोध छ ।’
‘देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएकोले अहिले अन्यथा गर्न नसक्ने’ भन्ने यो भनाइले नेपाल पक्षले बादललाई मत दिँदैन भन्ने भनाइ प्रष्ट छ। यसअघि नै आइतबार नेपाल निवास कोटेश्वरमा एमाले नेता राजेन्द्र पाण्डे, माओवादी केन्द्रका वागमती प्रदेश कमिटी संसदीय दलका नेता शालिकराम जमरकट्टेल र नेपाली कांग्रेसका इन्द्र बानियाले छलफल गरेका थिए । उनीहरुबीच देवकोटालाई नै जिताउन मतदान गर्ने समझदारी भएको थियो ।

अब एमालेको ताजा अंकगणित र सम्भावित परिणामतिर नजर लगाऔं । सग्लो एमालेका प्रदेशसभामा ५७ र स्थानीय तहमा १३३ मतदाता छन् । यसको कुल मतभार ५ हजार १ सय ३० हुन्छ । तर, विभाजित एमालेमा संस्थापन पक्षमा प्रदेशसभाका ३५ र स्थानीय तहका ८७ मतदाता छन् । यसको कुल मतभार ३ हजार २ सय १० हुन्छ ।

नेपाल पक्षमा प्रदेशसभाका २२ र स्थानीय तहका ३८ मतदाता छन् । यसको कुल मतभार १७ सय ४० हुन्छ । विजयी हुन ४६ सय मतभार आवश्यक हुन्छ । मतदानमा एमाले विभाजित हुँदा बादल जित्न सक्दैनन् भने यसबाट प्रष्ट हुन्छ ।

तर, नेपाल पक्ष बादललाई भोट नदिने र देवकोटालाई दिने पक्षमा एकजुट छैन् । नेपाल पक्षका धेरै पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउनुपर्ने पक्षमा छन् । जस्तो नेपाल पक्षका प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले खुलेरै बादललाई जिताउने प्रतिक्रिया दिइरहेका छन् । नेपाल पक्षकै कतिपयले नेता माधव नेपाले कहाँ-कहाँ सम्झौता गर्छन् हामी त्यो बोकर हिँड्न सक्दैनौं भन्ने भाव व्यक्त गरिरहेका छन्।

नेपाल पक्षमा एक मत नभएको बुझेको संस्थापन पक्षले बुझेको छ र यही आधारमा बादलले नै जित्ने ‘कन्फिडेन्स’ व्यक्त गरिरहेको छ । ओलीले पनि अहिले आक्रामक नहुन, नेपाल पक्षका ठूला नेताको पछि नलागेर स्थानीय मतदातमा ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन्।

यसका बाजुत पनि चुनावमा नेपाल पक्षले देवकोटालाई मतदान गर्ने र बादल हार्ने अवस्था आयो भने एमाले विभाजनमा यो निर्णायक सावित हुने छ । उसै पनि विभाजित भइसकेको एमालेलाई यसले औपचारिक रुपमै विभाजनको बाटोमा लैजाने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर