अक्सिजन अभाव हुन नदिन प्रदेश मन्त्री यादवको संयोजकत्वमा बन्यो समिति – Nepal Press

अक्सिजन अभाव हुन नदिन प्रदेश मन्त्री यादवको संयोजकत्वमा बन्यो समिति

जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमित विरामीको उपचारमा अक्सिजन अभाव हुन नदिन आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा अक्सिजन अनुगमन व्यवस्थापन समिति गठन भएको छ ।

प्रादेशिक कोभिड संकट व्यवस्थापन समितिको बैठकले मन्त्री यादवको अध्यक्षतामा अनुगमन व्यवस्थापन समिति बनाएको हो । समितिमा सुरक्षा निकायका प्रमुखहरुलाई राखिने छन् । पछिल्लो समयमा प्रदेशभित्र रहेका प्लान्टहरुले अक्सिजन बाहिर पठाउने गरेको गुनासो आएपछि अनुगमन व्यवस्थापन समिति बनाइएको एक पदाधिकारीले बताए ।

उनका अनुसार मन्त्री यादव नेतृत्वको समितिले प्रदेशभित्रका प्लान्टबाट दैनिक उत्पादन हुने अक्सिजन र वितरण प्रणालीको निरन्तर अनुगमन हुनेछ । लापरबाही गर्ने अक्सिजन उद्योग तथा प्लान्टलाई कारबाहीको दायरमा समेत ल्याउने काम समितिले गर्नेछ ।

यस्तै बैठकले कोरोना संक्रमितहरुको उपचार भइरहेको प्रदेशभित्रका सरकारी तथा नीजि अस्पतालहरुको अनुगमनका लागी पनि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको अध्यक्षतामा विज्ञ समूह गठन समेत गरेको छ । उक्त समितिले प्रदेश भित्रका अस्पतालहरुको अनुगमन निरीक्षण गर्नुका साथै अस्पतालहरुलाई दिनु पर्ने सुविधाका सम्बन्धमा प्रदेश सरकारले सुझाव दिनेछ ।

आवश्यकता अनुसार निजी अस्पतालहरुमा कोरोना संक्रमितहरुको उपचारको व्यवस्था मिलाउनका लागी आइएमओ गर्न प्रदेश सरकारमा सिफारिस गर्ने क्षेत्राधिकार उक्त समितिलाई दिइएको छ ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न बैठकमा मन्त्रीहरु, प्रमुख सचिव गोकर्ण मणि दुवाडी, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल शाह, नेपाली सेनाका सहायक रथी शिशिर चन्द्र केसी, नेपाल प्रहरीका डिआइजी धिरज प्रताप सिंह, शसस्त्र प्रहरीका डिआजी चन्द्र प्रकाश गौतम, अनुसन्धान निर्देशक हरिहर पौडेलसहितको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर