महन्थ-उपेन्द्र टकरावमा राजेन्द्रको इन्ट्री, जसपा विवाद अब त्रिपक्षीय – Nepal Press

महन्थ-उपेन्द्र टकरावमा राजेन्द्रको इन्ट्री, जसपा विवाद अब त्रिपक्षीय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र विवाद समाधानका लागि गरिएको प्रयत्न केही घण्टा नबित्दै असफल भएको छ । विवाद समाधानको संकेत गर्दै अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले गरेको संयुक्त वक्तव्यविरुद्ध वरिष्ठ नेता राजेन्द्र महतो पक्षले आजै कदम चालेको छ ।

महतोकै निर्देशनमा संसद सचिवालयमा पुरानो मितिमा तयार भएको पत्र दर्ता गराइएको छ । अध्यक्ष ठाकुरद्वारा हस्ताक्षरित सो पत्रमा वैशाख ३० गतेको संसदीय दलको बैठकले महतोलाई संसदीय दलको नेतामा निर्वाचित गरेको व्यहोरा उल्लेख छ । जसपाका नेताहरूले पार्टीभित्र जारी दुई लाइन संघर्षमा ‘तेस्रो धार’ को इन्ट्री भएको बताएका छन् ।

पढ्नुहोस्: संसद सचिवालयमा महन्थको पत्र- जसपा संसदीय दलको नेता महतो

अध्यक्ष यादवनिकट सांसद रामबाबु यादवले पार्टीलाई एकतावद्ध बनाउने प्रयासविरुद्ध संसद सचिवालयमा फर्जी चिठी पठाइएको दावी गरे । ‘महन्थ ठाकुर र उपेन्द्र महतोले विवाद समाधान गर्ने भए भनेर राजेन्द्रजीले गुटबन्दी गर्नुभएको हो । उहाँको दाउ परास्त हुन्छ’,यादवले नेपाल प्रेससँग भने । संसदीय दलको नेता चयनको निर्णय कुनै हालतमा स्वीकार नहुने उनको भनाइ छ ।

अध्यक्ष ठाकुरनिकट केन्द्रीय सदस्य डा.सुरेन्द्र झाले भने पार्टीभित्र असहज परिस्थितिमा भएका असहज निर्णयहरूबारे संवादबाटै समाधान हुने बताए । ‘संयुक्त वक्तव्यबाट विवाद मिलाउने प्रयासमात्रै भएको हो । सबै विवाद मिलिसकेको छैन । विवाद मिल्नै बाँकी छ भने केही विवादहरु आउनु ठूलो कुरा होइन’, झाले नेपाल प्रेससँग भने । संसदीय दलको नेता चयनको निर्णय संसदीय दलकै बहुमतबाट भएको भन्दै झाले त्यो निर्णय नमान्ने भए विगतदेखिका निर्णयहरु समेत प्रभावित हुने बताए ।

आज दुई अध्यक्षको संयुक्त वक्तव्यमार्फत जसपाले सरकारमा नजाने, आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आए अग्रसरता लिने र कार्यकारिणी समितिको बैठक बोलाउने निर्णय गरेको थियो । त्यसको केहीबेरमै महतोनिकट नेताहरूले संसद सचिवालय पुगेर ठाकुरको हस्ताक्षरमा यसअघि नै तयार भएको पत्रमा मिति सच्याएर दर्ता गराएका थिए । त्यसलगत्तै अध्यक्ष यादवले पनि आजै संसदीय दलको नेता चयन नभएको जानकारी दिँदै संसद सचिवालयमा पत्र बुझाएका छन् । यी घटनाक्रमबाट जसपाको आन्तरिक राजनीतिक अझ जटिल बनेको छ ।

जसपा नेता डम्बर खतिवडा पार्टीभित्र फुटपरस्त शक्ति हावी हुन खोजेको बताउँछन् । सहमतिका लागि प्रयास भइरहँदा संसद सचिवालयमा पत्र पठाइनु गलत भएको उनले बताए । ‘हामी लचिलो भएर संवाद गरिरहेका छौं तर पार्टीभित्र एक पक्षले विभाजनलाई मद्दत पुग्नेगरी काम गर्न खोजेको छ । कार्यकारिणी बैठकले विभाजन चाहनेहरुको विरुद्धमा निर्णय लिनेछ’, खतिवडाले भने ।

जसपामा पार्टी एकताकै समयमा महतोलाई संसदीय दलको नेता बनाउने सहमति भएको सो पक्षको दावी छ । वैकल्पिक सरकार गठनका विषयमा साझा मत नबनेको बेला ठाकुर पक्षको समर्थनमा महतो संसदीय दलको नेता चयन भएका थिए । ‘यो पार्टीमा सबैको हिस्सेदारी छ । पार्टी एकतादेखि नै महतोजीको भूमिका मिनिमाइज गर्न खोजियो । अब हामीलाई त्यो मान्ने छैन । उहाँ नै संसदीय दलको नेता हो’, महतोनिकट एक नेताले भने ।

मंगलबारको घटनाक्रमले जसपाभित्र एकताको सम्भावना थप जटिल बनेको गएको नेताहरु स्वीकार्छन् । जेठ ८ र ९ गतेलाई बोलाइएको कार्यकारिणी समितिको बैठकले नै एकता वा विभाजनबारे निर्णय दिनसक्ने बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर